शिक्षक/कर्मचारीहरुलाई बेतलबी बिदा दिने निजी विद्यालय सञ्चालकको निर्णय, अनलाइन कक्षा पनि बन्द

काठमाडौं । निजी विद्यालय सञ्चालकहरुले साउन १ गतेदेखि सबै वैकल्पिक शिक्षण सिकाईका क्रियाकलापहरु स्थगन गरि आफ्ना शिक्षक तथा कर्मचारीहरुलाई बेतलबी घर बिदा दिने निर्णय गरेका छन् ।

नेसनल प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटा र प्याब्सनका अध्यक्ष टिकाराम पुरीले संयुक्त विज्ञप्ति जारी गर्दै साे निर्णयबारे जानकारी गराएका हुन् । काेभिड १९ का कारण शिक्षण संस्थाहरू लगातार पूर्ण रूपमा बन्द रहेकाे अवस्थामा वैकल्पिक रूपमा अनलाइन कक्षाहरू सञ्चालनमा ल्याएकाेमा सरकारले शुल्क नउठाउन भनेपछि विद्यालय बन्द गर्न बाध्य हुनु परेकाे सञ्चालकहरूकाे भनाइ छ ।

नेपाल सरकार शिक्षा मन्त्रालयले २०७७ साल आषार १ गतेदेखि लागू हुने गरी “वैकल्पिक प्रणालीबाट सिकाई सहजीकरण निर्देशिका” जारी गरेकाे थियाे । उक्त निर्देशिकाको अधीनमा रहने गरि संस्थागत विद्यालयहरुले समेत शैक्षिक–सत्र २०७७ का लागि विद्यार्थीहरुको अभिलेखिकरण गर्ने तथा नियमित वैकल्पिक कक्षाहरु (अनलाईन/अफलाइन मार्फत्) थप व्यवस्थित गर्ने तयारी सुरू गरेकाे थियाे । इन्टरनेटमा पहुँच नहुने विद्यार्थीहरुका लागि टेलिभिजन, रेडियो/एफ.एम. मार्फत् समेत दूरशिक्षा कार्यक्रम सञ्चालन समेत गरिएकाे थियाे ।

सरकारले लकडाउन अवधिकाे शुल्क नउठाउन भनेपछि प्याब्सन तथा नेसनल प्याब्सानले संयुक्त रुपमा आषार ७ गते अपिल जारी गर्दै यस शैक्षिक सत्रमा ११ महिनाको मात्र मासिक शुल्क क्रमशः भुक्तानी गर्दै जाने, सेवा उपलब्ध नगराएको शिर्षकमा लकडाउन अवधिभर शुल्क तिर्नु नपर्ने, विद्यालयहरुले नियमित अनलाईन कक्षा सञ्चालन गर्ने भनि नेपाल सरकारका सबै सरोकारवाला मन्त्रालय तथा निकायहरु लगायत आम अभिभावकहरुलाई सम्बोधन गरि सार्वजनिक रुपमा आव्हान गरेको थियाे ।

उक्त आव्हान तथा विनम्रताकाे सरकारले बेवास्ता गरेपछि शून्य आम्दानीका कारणले संस्थागत विद्यालयमा कार्यरत करीब २ लाख ५० हजार शिक्षक–कर्मचारीलाई बैशाख महिनादेखि तलब पाएका थिएनन् । अर्कातिर विद्यालयको स्थायी प्रकृतिका खर्चहरु – घरभाडा, बैंकको किस्ता तथा ब्याज, बिमा, टेलिफोन, बिजुली, इंटरनेट ईत्यादि खर्च धान्न नसक्ने गरि विद्यालयहरुको आर्थिक अवस्था जर्जर रहेको छ ।

‘आर्थिक तथा व्यवसायिक संकट आइपरेकोले अनिश्चिताबीच विद्यालयका प्रशासनिक कार्यालयहरु खोलि गतिविधि सञ्चालन गर्नु भन्दा कार्यालय बन्द गरि बस्नु नै उचित विकल्प हो भन्ने हामीलाई महशुस भएको छ । तसर्थ २०७७ श्रावण १ गतेदेखि सबै वैकल्पिक शिक्षण सिकाईका क्रियाकलापहरु स्थगन गरि आफ्ना शिक्षक–कर्मचारीहरुलाई बेतलवी घर विदा दिने अप्रिय निर्णय गर्न बाध्य भएका छौँ’, जारी विज्ञप्तिमा भनिएकाे छ ।

नेपाल सरकार शिक्षा मन्त्रालयले भौतिक रुपमा विद्यालय सञ्चालनको अनुमति दिए पश्चात मात्र विद्यालयका प्रशासन खुल्ला हुने र  विद्यालय सूचारु भई आम्दानी सुनिश्चित भए पश्चातः अनुपातिक हिसाबले २०७७ वैशाख देखि असारसम्मको शिक्षक कर्मचारीहरुको तलब लगायत अन्य सबै प्रकारका दायित्वहरु क्रमश भुक्तानी गरिने पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − eighteen =