‘जब मान्छे अप्ठ्यारोमा पर्छ त्यहाँ भगवानको रुपमा पाउने भनेको प्रहरी नै हो’ [भिडियोसहित]

मोरङ । समाजमा शान्ति सुरक्षा कायम गर्ने सवालमा नेपाल प्रहरीको भूमिका कमजोर भएको, शंकास्पद भएको जनगुनासो बढ्दो छ । ‘प्रहरी मेरो साथी, समुदाय प्रहरी साझेदारी, मुस्कान सहितको सेवा’ प्रहरी र जनताबीचको दूरी घटाउन र समाजमा व्याप्त अपराध निर्मलीकरण गर्न ल्याइएको आकर्षक नारा भएपनि व्यवहारतः लागू नभएको होकि ? कि प्रहरी संगठनको व्यवस्थापन कमजोर भएर समाजमा शान्ति सुरक्षा कायम गर्ने सवालमा समस्या भएको त हैन ? योसँगै प्रहरीका कतिपय काम कारबाही नै निष्पक्ष र न्यायको सिद्धान्तअनुसार नभएर पनि जनतासँग प्रहरीको दूरी बढेको हो ? यस्तै विषयमा मकालु खबरका लागि विराटनगर संवाददाता सुजाता लिम्बुले मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्कासँग गरेको कुराकानीको संक्षेपः

कोभिड–१९को संक्रमणसँगै लामो समयदेखि लकडाउनको अवस्था छ, समाजमा अपराध गर्नेहरुको संख्या बढेको होकि, घटेको हो ?
निश्चयः नैै कोभिड– १९ ले संसार आक्रान्त छ । यसबाट कसरी बच्ने, कसरी जोगिनेलगायतका विषयमा आम नागरिकहरुको चासो र सचेतना बढेको छ । यति हुँदा पनि अपराधजन्य घटनाहरु नभएको भन्ने चाहिँ होइन । घटना त घटिनै रहेकाछन् तर केही कमी भने आएको छ ।

लकडाउनमा कस्ता प्रकृतिका अपराधहरु भइरहेका छन् ?
आवेगमा आएर उत्प्रेरित भएर हुने घटनाहरु छन् । अहिले घरेलु हिंसाका घटनाको धेरै उजुरीहरु आइरहेका छन् ।

सामाजिक आपराधिक क्रियाकलाप नियन्त्रणमा नेपाल प्रहरीले समुदाय साझेदारी प्रहरी कार्यक्रम ल्याएपनि प्रभावकारी हुन नसक्नुको कारण के हो ? अपराधीले अपराध गरेको एक घन्टापछि मात्र जानुहुन्छ ?
नेपाल प्रहरी जनताको प्रहरी हो । हामी जनताको जिउधनको सुरक्षाका लागि अहोरात्र खटिरहेका छौं । यसै अन्तर्गत जनताले अझै प्रभावकारी सेवा सुविधा पाउन सक्नुहोस् भन्ने उद्देश्यले सामुदाय प्रहरी साझेदारी कार्यक्रम ल्याइएको हो । यो कार्यक्रममा हामीलाई जनताको धेरै समर्थन भएको छ । शान्ति सुरक्षाप्रतिका चेतनाका कुराहरु, अपराध गर्दा रिपोटिङ्ग गर्ने तरिकाहरुदेखि लिएर समाजमा शान्ति सुरक्षा कसरी व्यवस्थापन गर्न सकिन्छ नागरिक आफैँले भन्ने विषयका कुराहरु छन् । त्यसमा लागूऔषध पर्छ । जघन्य घटनाका कुराहरु भए, मानव बेचबिखनका कुराहरु छन् । बलात्कारका घटनाहरुबाट जोगिने कुराहरु छन् । धेरै कुरा त्यसको प्याकेजमा परेको छ ।

यो कार्यक्रम जाँदा जाँदै कारोनाका कारण केही समय विश्राम लिएको जस्तो देखिएको मात्रै हो । स्थिति सामान्य हुनासाथ जनस्तरमा लिएर जान्छौं । यहाँको अर्को चासो थियो प्रहरी अपराध गरेको स्थानमा किन ढिला पुग्छ भन्ने । हामी क्रमैसँग प्रहरीको रेस्पोन्स र घटनास्थलमा प्रहरी पुग्ने कुराहरुलाई सुधार गर्दै लगिरहेका छौं । हाम्रो डाटाहरुले त्यहीँ नै बताउँछ । केही त्यस्ता प्रतिनिधि घटनाहरु पर्छन् त्यसलाई नकार्दिनँ तर पनि हामी जनताकै लागि खटिने भएको हुँदा, सूचना प्राप्त भए अनुसार यथासम्भव चाँडै पुग्ने प्रयासहरु गरिरहेका छौं । त्यसमा हाम्रो सवारी साधनका कुराहरु, जनशक्तिलाई ट्रेन गर्ने लगायतका कुराहरुमा म आइकन जिल्लामा धेरै कामहरु भइरहेका छन् ।

नेपाल प्रहरीले भन्ने बेलामा प्रहरी मेरो साथी, समुदाय प्रहरी साझेदारी भन्ने तर, व्यवहारमा चाहिँ किन लागू गर्न नसकेको ? भन्नुको तात्पर्य आम जनताले नेपाल प्रहरीप्रति अझै विश्वास गर्न नसक्नुको कारण के हो ?
नेपाल प्रहरी जनताको प्रहरी हो । हामी जनताकै लागि खटिरहेका छौं अहोरात्र, हामीलाई काम गर्दा हामीले पालना गर्नुपर्ने विभिन्न ऐनहरु छन् । त्यो ऐनको अधिनमा रहेर हामी जनसेवामा खटेका हुन्छौं । काम गर्ने सन्दर्भमा कानून कार्यान्यवन गर्ने सन्दर्भमा जसले कानूनलाई मिच्छन् त्यस्ता अपराधीहरुलाई कानूनी दायरामा ल्याउनपर्ने हुन्छ । त्यहीँ भएर त्यो मान्छेसँग जोडिएका मान्छेहरुको केही विमती रहन्छ अन्यथा जसले कानूनी उपचार पाइरहनु भएको छ । जसले न्याय पाउनुहुन्छ उहाँहरु खुशी नै हुनुहुन्छ ।
जनताले हामीलाई अझै विश्वास गर्न नसक्नुमा त्यति ठुलो कुरा छैन जब मान्छे अप्ठयारोमा पर्छ त्यहाँ भगवान्को रुपमा पाउने अर्को रुप भनेको प्रहरी नै हो । हामीले हाम्रो सेवा अझै गुणस्तरीय र प्रभावकारी हिसाबले लानुपर्ने अझै चुनौतीहरु चाहिँ छन् । र, यसमा सुधार गर्न दृढ पनि छौं ।

मोरङ राजनीतिक, आर्थिक हिसाबले मुलुकको महत्वपूर्ण आधार क्षेत्र हो, यहाँ राजनीतिक र आर्थिक कारणले के कस्ता अपराध हुन्छन् र ती अपराध कर्ममा संलग्न हुनेहरुको पृष्ठभूमी कस्तो पाउनुहुन्छ ?
अपराध भनेको राजनीति, उद्योगधन्दासँग यसको कुनै पनि सरोकार हुन्छ भन्ने कुरामा म सहमत छैन । हामीले जबसम्म अपराधलाई कुनै घरानियाँ परिवारसँग अथवा राजनीतिसँग जोड्छौं भने गलत हुन्छ । जब हामी अपराधलाई विशुद्ध अपराधको हिसाबले हेर्छौं तब, शान्त्ति सुरक्षा मजबूद हुन्छ र देशमा कानूनी राज्य रहन्छ ।
अपराधको कुनै जात, धर्म हुँदैन मान्छेले गर्ने अपराधलाई दण्डनीय गर्न, अपराध निरुत्साहित गर्नका लागि, पीडितले न्याय पाओस् भन्नका लागि विभिन्न कानूनहरु व्यवस्था भएका छन् । त्यो कानूनमार्फत् हामीले काम गर्ने हो र त्यसलाई हामी एकदमै प्रतिवद्ध भएर कसैको पक्षमा नलागिकन कार्यान्वयन गर्छौं ।

अपराधी पक्राउ गरेपछि त्यसलाई छुटाउन राजनीतिक, सामाजिक दवाव कत्तिको फेस गर्नुपर्छ ?
यस्तो प्रश्न आउने गर्दछ, यहाँलाई अघि पनि जानकारी गराएँ म यहाँ आइकन कुनै पनि राजनीतिक दवाव, प्रभावमा पार्ने कामहरु भएको जस्तो मलाई लाग्दैन । कहिलेकाहीँ हामीलाई आधा मात्रै सूचना प्राप्त भएकाले गलत गर्न सक्ने अवस्था हुन्छ, त्यस्तो अवस्थामा उहाँहरुबाट प्राप्त सूचनालाई दवावको हिसाबमा हैन कि, अनुसन्धानलाई पूर्ण गर्न हामीलाई पृष्ठपोषण गरीदिनुभएको मलाई महसुस भएको छ ।

मोरङ प्रहरीलाई आरोप छ नि, ठूला राजनीतिक दल र व्यापारीको दवावमा संगठित अपराध गर्ने, औद्योगिक अपराध गर्नेलाई संरक्षण गर्नुहुन्छ रे ? भन्नुको अर्थ, कालो बजारी गर्नेसँग मोरङ प्रहरीको राम्रै साँठगाँठ छ रे ?
तपाईँहरुले यस्तो चासो जिज्ञासा राख्नु नराम्रो मलाई लाग्दैन । सँगसँगै प्रहरीको कार्यसीमा, दिएको अधिकारको कुराहरु कतिको उपयोग गरिरहेको छ भन्ने कुराहरु महत्वपूर्ण हुन्छ । कालोबजारी नियन्त्रणमा हामी कुनै पनि किसिमको सम्झौता गर्नेवाला छैनौं । कतिपय अवस्थामा कालोबजारी नियन्त्रणका लागि छुटटै समिति छ । जब जनगुनासोहरु बढ्छ, उहाँहरुसँग मिलेर सहकार्य गरेर अनुगमनलाई प्रभावकारी बनाएको अवस्था छ ।

केही समयअगाडि ठूल्ठूला कारबाही पनि भएको छ विराटनगरमा । म चाहान्छु कसैले कालोबजारी गरिरहेको छ अथवा जानकारीमा छ भने कृपया हामी सूचनाको पनि अपेक्षा गर्छौं । र, कालो बजारी गर्नेलाई मोरङ प्रहरीले छुट कदापि दिने छैन ।

सीमावर्ती क्षेत्रमा हुने आपराधिक घटना नियन्त्रणमा नेपाल प्रहरीको भूमिका नै देखिन्न नी ?
यो प्रश्नमा तपाईसँग सहमत छैन । किन भन्नुहुन्छ भने हामीलाई सबै ठूलो आरोप आउने र लान्छना लगाउने एउटा विषय सिमानामा सामानको अवैध ओसारपसार गर्ने सम्बन्ध हो । विडम्बना भन्नुपर्छ खुल्ला सिमानाका कारण र कतिपयको जग्गा जमिन नै सीमापारि भएकाले उहाँहरुको आवतजावतलाई रोक्न सकिएन तर, कुनै पनि स्वरुपको तस्करीलाई हामीले प्रश्रय दिएका छैनौं, हामीलाई स्वीकार्य छैन । तस्करी रोक्न लागिरहेका छौं ।
हामीले विशेष कार्ययोजना तयार गर्दैछौं सीमा क्षेत्रको अपराधलाई नियन्त्रण गर्नका लागि । त्यस क्षेत्रमा जनशक्ति थप गरेर परिचालन गरिरहेका छौं । र अब तपाईँहरुले महसुस गर्नुहुनेछ । तस्करीमा संलग्न सामान मात्रै बुझाउने नभएर मान्छे, सवारी साधन र बरामद भएको समानसहित नै भन्सार बुझाउने अभियान शुरु गरेका छौं । ताकी तस्करीमा कसैलाई संलग्न हुनका लागि प्रेरणा नमिलोस् । गलत काम गरे सजाय पनि हुन्छ भन्ने कुरा स्थापित गर्न हामी खटिरहेका छौं ।

संघीयता कार्यान्वयनपछि मुलुकभित्र देखिएका सुरक्षा चुनौतीहरु के कस्ता छन् ? तिनको नियन्त्रणका लागि नेपाल प्रहरीको भूमिका कस्तो छ ?
संघीयता कार्यान्वयन गर्ने सन्दर्भमा विभिन्न कानूनहरु निर्माण भइरहेका छन् । कति निर्माण भएर कार्यान्वयनमा पनि आइसकेका छन् । कानून कार्यान्वयन गर्ने कतिपय कुराहरुमा कानून प्रयोग गर्दै गएपछि त्यसलाई परिस्कृत गर्दैपनि लग्न सकिन्छ । संघीयताको कारणले शान्ति सुरक्षामा असर गर्छ अथवा कानून कार्यान्वयन गर्ने कुरामा असर राख्छ भन्ने होइन । समाजलाई सुरक्षित बनाउनका लागि नयाँ गाइडलाईन्स र नयाँ तरिकाले काम गर्ने अवसरहरु जुटाइदिएको छ । समाजमा कस्तो खालको नतिजा दिन्छ भन्ने विषयमा एकपटक एक खालको सर्भेगर्ने अथवा प्रभावकारीताको विषयमा जाँच्ने हाम्रो काम त होइन तर, यसको प्रभावकारीताको बारेमा अध्ययन भइरहेको हुनुपर्छ ।

समाजमा अमनचयन कायम गर्नका लागि प्रहरी एक्लैले सक्ने कुरापनि भएन, अन्य सुरक्षाका निकाय र स्थानीय, प्रदेश तथा केन्द्र सरकारसँग कसरी समन्वय भइरहेको छ ?
कानून कार्यान्वयन र शान्तिसुरक्षाको लागि नेपाल प्रहरी राज्यको एउटा प्रतिनिधि संस्था हो । हाम्रो जस्तै कामको प्रकृति भएका अन्य निकाय हुनुहुन्छ । नेपाली सेना, शसस्त्र प्रहरी, सरकारी वकिल कार्यालय, सम्मानित अदालत सबैनै खटिरहनु भएको छ । उहाँहरुसँगको सहकार्य एकदमै राम्रो छ । हामीलाई कुनैपनि कुरा अनुसन्धानबाट आएपछि अरु संस्थाहरुको, अरु निकायहरुको सहयोग लिने कुरा र त्यसलाई अनुसन्धान पश्चात अदालतबाट अन्तिम निर्णय दिनेसम्मको कामका लागि एकापसमा जोडिनु पर्ने हुन्छ । सौहार्दपूर्ण हिसाबले काम गरिरहेका छौं ।

प्रदेश सरकारसँग नेपाल प्रहरीले किन समन्वय गर्न सकेन, प्रादेशिक संरचनामा नेपाल प्रहरीको भूमिका के कारणले कमजोर भयो ?
संघीयता कार्यान्वयन गर्ने तहमा जाँदाखेरी प्रादेशिक सरकारको मातहतमा छुट्टै प्रहरी हुने भन्ने ऐन माथिबाट आइसकेको छ । यो चाँडै कार्यान्वयन हुने तहमा पनि छ । अलिकति योबीचको समय भएको हुनाले सायद त्यस्तो लागेको हुनसक्छ । प्रदेशको आफ्नै प्रहरी हुने हुँदा प्रदेशले आफ्नो प्रहरीलाई राम्रो बनाउने काममा उसको पनि ध्यान जाने नै छ र प्रहरीले पनि म यो प्रदेशमा काम गर्ने प्रहरी यहाँको जनतालाई मैले सेवा दिनुपर्छ र अरु प्रदेशको भन्दा हामीले उत्कृष्ट प्रहरी भएर देखाउनुपर्छ भन्ने अवसर पनि छ ।

कुनै बेला नेपाल प्रहरी अनुसन्धान र अपराध नियन्त्रण गर्ने सवालमा विश्वकै उत्कृष्ट प्रहरीमा गनिन्थ्यो । तर, पछिल्लो समय खस्कँदै जानुको कारण के हो ?
हामी अहिले पनि उत्कृष्ट नै छौँ । कतिपय घटनाहरु प्रविधिको कारणले गर्दा हुनसक्छ । अथवा अपराध गर्ने तरिकाहरुको विषयमा हुनसक्छ, वा बहुउद्देश्यीय अपराधीहरु संलग्न भएर गरिने अपराधहरुका कुराहरु छन् । यसमा हाम्रो अनुसन्धानको पाटोमा तालिमरत दक्ष जनशक्तिहरु हुनुहुन्छ । धेरै नेटवर्कहरु केलाउनुपर्ने, देश देशहरुको आपराधीहरुको सांगठनिक अवस्था, तिनीहरुको सञ्जाल कसरी काम गरीरहेको छ ? भन्ने कुराहरु बाहिर ल्याउनुपर्ने भएको हुनाले अलिक समय लाग्न सक्छ केही घटनाहरुमा । तर, अन्य घटनाहरुमा हामीले सफल अनुसन्धान गरिरहेका छौं ।

नेपाल प्रहरीलाई जनताको प्रहरी बनाउन कस्तो रणनीति र कार्यक्रम चाहिन्छ ? कस्तो स्रोत साधन भए तपाईँहरु घटना घटेको स्थानमा क्विक रेस्पोन्स गर्न पुग्नुहुन्छ ?
राम्रो प्रश्न यहाँको । हामी तालिम प्राप्त छौं । दक्ष जनशक्ति हौँ । हामीलाई अपराध अनुसन्धान र शान्ति सुरक्षाका लागि संगठनले, राज्यले दक्ष बनाएर पठाएको छ । तथापी, हामी सानो देशको प्रहरी हौं । हामीसँग केही सीमितता पनि छन् । विशेष गरेर अनुसन्धानका लागि उपयुक्त साधनहरु जस्तैः सिसि क्यामेरा, सवारी साधन अन्य अनुसन्धानका लागि हामीले प्रयोग गर्ने ल्याबका अभावका कुराहरु छन् ।
समय सापेक्ष सुधार पनि गर्दै लगिरहेका छौं । यसको नतिजा पनि हामीले उपभोग गरिरहेका छौं । यसमा अझै प्रभावकारी हिसाबले ल्याउन सकियो भनेदेखि हामीले सडकमा पनि प्रहरी राख्नुपर्दैन । सिसि क्यामेराले सम्पूर्ण गतिविधि मनिटर गरिरहेको हुन्छ । विभिन्न पकेटहरुमा हाम्रो प्रहरी हुन्छ । कुनै पनि घटना घट्ना साथ फोन आउनु पर्दैन प्रहरीले नै मनिटर गरिरहेको हुन्छ । त्यो अवस्था हामी कहाँ आउनलाई केही समय लाग्छ । यहाँ सडकका कुराहरु छन्, साधन श्रोतका कुराहरु छन् । हामी आशावादी छौं सुधार भइरहेको छ ।

खासगरी साधन स्रोतका सन्दर्भमा, प्रहरीका सवारी साधनमा व्यापारीहरुले प्रेटोल हालिदिन्छन् रे ? कसैबाट प्रभावित भएपछि प्रहरीले त्यहाँ निष्पक्ष अनुसन्धान गर्छ भनेर कसरी विश्वास गर्न सकिन्छ ? 
म तपाईँको कुरालाई स्वीकार्दिनँ । हामीसँग अभाव छ तर त्यो भन्दैमा कसैसँग मागेर गुजारा चलाउनुपर्छ भन्ने पक्षमा मेरो विमति छ । कतिपय अवस्थामा हामीले सहयोग लिएको छौं । जस्तो संस्थागत हिसाबले महानगरपालिकाले आफ्नो क्षेत्रको जनतालाई सुरक्षा दिने सन्दर्भमा यहाँको प्रहरीलाई सवल बनाउनु नराम्रो कुरा होइन । तर व्यक्तिगत हिसाबले कुनै पनि सुविधाहरु चाहिँ ग्राहय छैन र म त्यो हुन दिन्न । शान्ति सुरक्षा कायम गर्ने सवालमा प्रहरी संगठनभित्रका विषयलाई चुनौतीभन्दा पनि अवसर भन्न चाहन्छु । खासै चुनौतीहरु छैन हामीलाई दीक्षित गरिएको छ, हामीलाई दक्ष बनाइएको छ, चुनौतीलाई सामना गर्न गर्नका लागि भनेर तयार भएका जनशक्तिहरु हौं ।
समाजमा हुने अपराध नियन्त्रणका लागि होस् अथवा विभिन्न समयमा आउने दैवि प्रकोपका घटनाहरुमा होस् हामी खटिन पाउँदा हाम्रो लागि त्यो गौरवको कुरा हो । हामी जनताका लागि काम गर्ने भएकाले यसमा एउटा अवसर पाएका हौं, मौका पाएका हौं । एउटा पीडितले न्याय पाउँछ अथवा कुनै विपद्मा परेको व्यक्तिले उद्धार र सहयोग पाउँदा त्यतिबेला उसको मुखमा देखिने एउटा मुस्कान हाम्रो लागि मुल्यवान् हुन्छ र त्यहीँ आशाका साथ काम गरिरहेका हुन्छौं ।

प्रमुख खड्कासँगको कुराकानी हेर्नुस्-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *