सरकारी रकम हिनामिना गरेको आरोपमा सचिव खनालसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । कपिलवस्तुको साविक तितिर्खी गाउँ विकास समितिका सचिव मुहानन्द खनालसहित ४ जनाविरुद्ध ३ लाख ९१ हजार २२७ विगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी रकम हिनामिना गरेको आरोपमा खनालसहित ४ जनाविरुद्ध आज (सोमबार) विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको हो ।

उनीहरुले साविक तितिर्खी गाउँ विकास समितिस्थित जमुवार नदीमा पुल निर्माण गर्दा तितिर्खी गाउँ विकास समिति तथा जिल्ला विकास समिति कपिलवस्तुबाट दोहोरो भुक्तानी लिएको अख्तियारको आरोप छ ।

‘अनुसन्धान हुँदा गाउँ विकास समिति सचिव, जिल्ला विकास समिति कपिलवस्तुका सह–लेखापाल, उपभोक्ता समितिका अध्यक्ष समेतको मिलेमतोमा तितिर्खी गाउँ विकास समितिबाट कुनै ठोस कार्य सम्पन्न नै नगरी जिल्ला विकास समितिको बजेटबाट सम्पन्न गरिएको कामलाई नै देखाई गाउँ विकास समितिको ३ लाख ९१ हजार २२७ रुपैयाँ ३७ पैसा उपभोक्ता समितिलाई दोहोरो भुक्तानी दिई गैरकानूनी हानी पुर्‍याउने बदनियतले देहायका व्यक्तिहरुले भ्रष्टाचार कसुर गरेको प्रमाणित हुन आएकोले देहायबमोजिम सजाय हुन मागदाबी लिइएको छ’, अख्तियारको आरोपपत्रमा उल्लेख छ ।

साविक तितिर्खी गाउँ विकास समितिका सचिव खनालसँगै साविक जिल्ला विकास समिति कपिलवस्तुका सह–लेखापल गोले अलि धुनियाविरुद्ध पनि मुद्दा परेको छ । उनीहरुले बिना आधार, प्रमाण हचुवाको भरमा कुनै निर्माण कार्य नै नगरी जिल्ला विकास समितिबाट गरिएको निर्माण कार्यलाई गाउँ विकास समितिबाट गरेको झुटो दाबी गरेको अख्तियारको आरोप छ ।

उपभोक्ता समितिका अध्यक्ष अजिजुर्रहमान मुसलमान तथा सचिव पुनवासी कुर्मीले पुल निर्माण कार्यको साविक जिल्ला विकास समिति कपिलवस्तुसँग छुट्टै सम्झौता गरी सोही अनसार पेश्की लिई कार्य गरिरहेकोमा सोही कार्यलाई देखाई गाउँ विकास समितिबाट समेत दोहोरो भुक्तानी लिई साविक तितिर्खी गाउँ विकास समितिको रकम हिनामिना गरेको अख्तियारको अनुसन्धानमा खुलेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 18 =