डा. खेम कार्कीलाई लेखा समितिले सोध्यो, ‘ओम्नीसँगको खरिद प्रक्रियामा संलग्न हुने अधिकार कहाँबाट प्राप्त भयो ?’

काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालका विज्ञ सल्लाहकार डा. खेम कार्कीलाई स्वास्थ्य सामग्री खरिदबारेको आफ्नो भूमिकाका बारेमा सोधेको छ ।

डा. कार्कीलाई लेखा समितिको सिंहदरबारमा मंगलबार (आज) बैठकमा वार्ता समितिमा संयोजकको भूमिकामा बस्ने अधिकार कसले कहाँबाट प्राप्त भयो भनेर सोधेको हो ।

लेखा समितिका सभापति भरत शाहका अनुसार विज्ञ सल्लाहकारको हैसियतले खरिद प्रक्रियामा निर्णायक नेतृत्व कार्कीले गरेको देखिएको छ ।

लेखा समितिले डा. कार्कीलाई अनाधिकृत रुपमा वार्ता समितिको संयोजक भई किन मूल्य निर्धारण गर्ने काम गरेका हो ? किन अख्तियार दुरुपयोग गरिएको हो ? खरिद प्रक्रियामा संलग्न हुने अधिकार कहाँबाट प्राप्त भयो ?’लगायतका प्रश्नहरु सोधेको थियो ।

मेडिकल सामग्री खरिदमा आर्थिक प्रस्ताव पेस गर्ने दुईवटै कम्पनीको रकममा खासै मूल्य फरक नपरेको अवस्थामा आधिकारिक प्रमाणसमेत नभएको सादा पेपरमा आएको आर्थिक प्रस्तावलाई समेत कसरी स्वीकार गरेको लेखा समितिले प्रश्न गरेको छ ।

लेखा समितिले ओम्नीसँगको मेडिकल सामग्री खरिदको विषयमा आज पूर्वस्वास्थ्य सचिव यादव कोइराला, विभागका पूर्वमहानिर्देशक महेन्द्रबहादुर श्रेष्ठ र मन्त्री ढकाललाई बोलाएर छलफल गरिरहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *