देशभर बाढी/पहिराेः आइतबारसम्म ५४ जनाले गुमाए ज्यान, ५९ घाइते, ९३ जना बेपत्ता

काठमाडौं । असार २४ गते मध्येराति देखि परेकाे अविरल वर्षाका कारण आएको बाढी पहिरोमा परी हालसम्म ५४ जनाले ज्यान गुमाएका छन् भने ५९ जना घाइते भएका छन् । ९३ जना बेपत्ता रहेकाे गृह मन्त्रालयले जनाएकाे छ ।
मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार असार २५ गते मात्रै २ जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका र भोटेकोशी गाउँपालिकामा आएको बाढीले त्यहाँको १६ घरहरुमा पूर्ण रुपले क्षति पुर्याएको थियो भने २१ जना बेपत्ता थिए । घाइते ४ जनालाई उद्धार गरी उपचारका लागि काठमाडौं ल्याइएको थियो ।
जिल्लास्थिति नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल लगायतका सुरक्षाकर्मीहरु घटनास्थलमा पुगेर खोज, उद्दार तथा राहतका कार्य सुरु गरेका थिए । सभामुख अग्नि सापकोटा पनि क्षतिको निरीक्षण गर्न त्यहाँ पुगेका थिए ।
त्यस्तै असार २६ गते गृह मन्त्रालयले जारी गरेको बेलुकी ५ बजेसम्मको तथ्यांक अनुसार सो दिन बाढी पहिरोबाट ८ जिल्लाका गरी २३ जनाको मृत्यु भएको थियो भने २६ जना घाइते भएका थिए । लमजुङ, कास्की, म्याग्दी, रुकुमपश्चिम, तनहुँ, जाजरकोट, दोलखा र गुल्मीमा गएको बाढी पहिरोमा परी ३६ जना बेपत्ता भएका थिए । साेहि दिन जाजरकाेटमा थप २ जनाकाे मृत्यु भएकाे छ ।
त्यसैगरी असार २७ गते ५ जिल्लामा आएको बाढी–पहिरोमा परी १९ जनाले ज्यान गुमाएका छन् भने १० घाइते भएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार म्याग्दी, जाजरकोट, लमजुङ, सिन्धुपाल्चोक र रौतहट जिल्लाका विभिन्न स्थानमा बाढी–पहिरो जाँदा १८ जना बेपत्ता भएका थिए ।
सोही दिन लमजुङको दोर्दी गाउँपालिका–६ ढोडेनीगाउँ र पोखरा काल्चेकुनाका ४९ परिवारलाई सुरक्षित स्थानमा सारिएको थियो । त्यसैगरी रौतहटको ईशानाथ नगरपालिका १ मा बाढी आएपछि त्यहाँका ३ सय घर-परिवारलाई सुरक्षित स्थानमा लगिएको गृह मन्त्रालयले जनाएको छ ।
असार २८ गते भने कमैले ज्यान गुमाएको मन्त्रालयले सार्वजनिक गरेकाे तथ्यांकमा देख्न सकिन्छ । सो दिन साँझ ७ बजेसम्मको विवरण अनुसार विभिन्न ८ जिल्लामा गरी १० जनाको मृत्यु भएको छ भने १९ जना घाइते र ३९ जना बेपत्ता भएका छन् । संखुवासभामा मात्रै १९ जना बेपत्ता भएका छन् । उनीहरुको खोजी कार्य जारी रहेको गृह मन्त्रालयले जनाएको छ ।
पानी पर्ने क्रम अझै रोकिएको छैन । विभिन्न जिल्लामा अझै पनि बाढी–पहिरो गइरहेको छ । घाइते भएका अधिकांश उपचारपछि निको भएर घर फर्किसकेका छन् भने कतिको उपचार जारी छ । धेरै जनाको उद्दार पनि भइसकेको छ । यद्यपी उद्दार संख्या भने गृह मन्त्रालयले खुलाएको छैन ।








