‘यो वर्ष कम्प्रमाईज गरौं, व्यवसाय बलियो भयो भने बैंक पनि बलियो हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले यो वर्षको मौद्रिक नीति बजेटजत्तिकै महत्वपूर्ण भएकोले सबैको यसमा चासो रहेकोले सबै क्षेत्रलाई राहत मिल्नेगरि मौद्रिक नीति आउनुपर्नेमा जोड दिएका छन् ।

आज रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा बोल्दै गोल्छाले मुलुकको अर्थतन्त्र उकास्न र नीजि क्षेत्रलाई समेत माथि उकास्नका लागि मौद्रिक नीति व्यवहारिक आउनेमा आफू आशावादी रहेको बताए ।

उनले कोभिड–१९ का कारण स्वदेशमा झण्डै पाँच लाख युवाहरु विस्थापित भएको र सोभन्दा ठूलो संख्यामा विस्थापित भई बाहिरबाट युवाहरु आउने सुनाउँदै उनीहरुलाई व्यवस्थापन गर्न चूनौति रहेको बताए । ‘यो चूनौतिलाई पनि सम्बोधन गर्नेगरि मौद्रिक नीति आउनुपर्छ’–उनले भने–‘अबको तरलताको व्यवस्थापनका लागि मूख्य आशा नै मौद्रिक नीति हो ।’ गोल्छाले मौद्रिक नीतिमा मूख्यतः पुनर्कर्जा, ब्याजदर र पुनसंरचनालाई जोड दिँदै भने–‘पुनकर्जाको पहिलाको स्वरुप फेर्नुपर्छ ।’

गोल्छाले आगामी मौद्रिक नीतिमा तरलता व्यवस्थापन र श्रमिक व्यवस्थापनका लागि विशेष ध्यान दिइनुपर्ने सुझाव दिए । व्याजलाई पुँजीकृत गर्नुपर्ने उनको तर्क छ । उनले भने,‘त्यही धितोमा २० प्रतिशत एक्स्ट्रा क्रेडिट दिनुपर्छ ।’

यो वर्ष पैसा कमाउने वर्ष नभएको भन्दै सबैले सर्भाईभ हुनेगरि नीति आउनुपर्नेमा गोल्छाले जोड दिए । उनले भने,‘हामी उठ्न सक्छौं । राष्ट्र बैंकले अलिकति सहयोग गर्नुपर्छ । अहिले सबैले आफ्नो प्रोफिट छोडेर अर्थतन्त्रलाई जोगाउने काम गरौं । यसो गरियो भने समस्याको निदान हुन्छ ।’

यसअघि पूनर्कर्जा ठूला व्यवसायीलाई मात्रै दिईने गरिएको सुनाउँदै यो वर्ष ‘स्टिमुलेशन प्याकेज’ आउनुपर्ने र यसबाट साना, मझौला र ठूला सबैले लाभ लिनुपर्ने उनको भनाई छ । गोल्छाले नेपालको बैंकिङ क्षेत्र दक्षिण एशियामै राम्रो रहेको बताउँदै बैंक बलियो हुनुपर्नेमा जोड दिए । उनले भने,‘बैंक बलियो हुनुपर्छ । तर, यो वर्ष कम्प्रमाईज गरौं । बैंकिङ चार्जहरु कम गरौं । व्यवसाय बलियो भयो भने बैंक पनि बलियो हुन्छ ।’ अहिलेको संकटबाट मुलुकलाई पार लगाउनको लागि मौद्रिक नीति महत्वपूर्ण हुने बताउँदै आगामी ६ महिनासम्म ईकोनोमी ड्राईभ हुने र एक वर्षपछि ईकोनोमिक ग्रोथ हुने उनले विश्वास दिलाए ।

यस्तै कार्यक्रममा बोल्दै नेपाल बैंकर्स एशोसिएनका पूर्व अध्यक्ष तथा नेपाल बंगलादेश बैंकका सिईओ ज्ञानेन्द्र ढुंगानाले यो वर्षको बजेटमा आम जनताले अधिकतम राहतको आशा राखेको भएपनि केही राहत आएको तर जनताका अपेक्षा पूरा नभएको स्पष्ट पारे । अहिले सम्पूर्ण क्षेत्रको ध्यान नेपाल राष्ट्र बैंकतर्फ रहेको उनले सुनाए । ‘म यो मौद्रिक नीतिमा धेरै अपेक्षा राख्दिन । यसले कोभिड–१९ र बाढी, पहिरोले पारेको समस्यालाई पक्कै सम्बोधन गर्नेछ ।’

बैंकको ब्याजदर कम गर्नलाई आफूहरु प्रयासरत रहेको पनि उनको भनाई छ । ‘१५/१६ प्रतिशतको ब्याजदरलाई १२ प्रतिशतमा ल्याऔं । हामी यसलाई सिंगल डिजिटमा ल्याउने कोशिष गर्दैछौं ।’ उनले भने । अहिले बाँच्ने र बचाउने बेला भएको तर्क गर्दै मौद्रिक नीति क्षणिक अवस्थालाई भन्दापनि दीर्घकालिन अवस्था हेरेर आउनुपर्नेमा ढुंगानाले जोड दिए । उनले राज्यले अति प्रभावित क्षेत्रलाई सुविधा दिनुपर्नेमा बताए ।

उद्योगी, व्यवसायी, व्यापारी, बैंकर्सलगायत सबै क्षेत्रका सरोकारवालाहरुले मौद्रिक नीतिमा केही अपेक्षा गर्नु स्वभाविक भएपनि मौद्रिक नीतिका केही आफ्नै सीमाहरु हुने तर्क गरे । कोभिडबाट सबैभन्दा बढी, मध्यम र कम प्रभावित गरी ३ भागमा वर्गिकरण गरेर ऋणको किस्ता तिर्ने विषयमा केही न केही समय थप हुने उनले विश्वास दिलाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *