‘कोरोना भाइरसको सुक्ष्मतासँग डराउनुपर्छ’

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आधिकारिक तथ्यांकअनुसार हाल नेपालमा (आजको बाहेक) नोवेल कोरोना भाइरस (कोभिड १९) संक्रमितको कूल संख्या १६,७३४ छ । यस्तै स्वास्थ्य लाभ लिनेको संख्या ८,४८२ छ भने ३८ जनाले प्राण गुमाएका छन् ।

‘कोरोना ग्राफ’ हेर्ने हो भने संक्रमणको अनुपात घटेको छ, यद्यपि काठमाडौं उपत्यकाभित्र भने संक्रमितको संख्या बढेको बढ्यै छ । विज्ञ तथा जानकारहरुले ‘कोरोनासँगै बाँच्न सिक्नुपर्छ’ भनिरहँदा अग्र भागमा काम गर्ने अग्रणी योद्धाहरुले ‘समुदायस्तरमा पनि कोरोना भाइरसले प्रवेश पाइसक्यो’ भनेर भनिरहेका छन् ।

सर्वसाधारण उपत्यकाको पूरै सडक जाम गर्ने गरी निस्फिक्री हिँडिरहेका बेला निर्धक्क रहने अवस्था छ कि छैन ? के अब कोरोना संक्रमणको दर घट्दै जान्छ ? अब कोरोनासँग बाँच्न सम्भव छ ? लगायतका यावत् प्रश्न हामीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमलाई सोधेका छौं ।

प्रस्तुत छ, यो जानकारीमूलक कुराकानी :

मकालु खबर : नेपालको पछिल्लो कोरोनाको स्थितिबारे बताइदिनुस् ।
प्रवक्ता गौतम : नेपालको पछिल्लो कोरोना स्टाटसलाई हेर्ने हो भने केही घटेको छ । यसको कारण भनेको बन्दाबन्दी (लकडाउन्) नै हो । पछिल्लो समय सर्वसाधारणहरुले बेवास्ता गरेका हुन् कि भन्ने हाम्रो आकलन छ । हामीले त्यसैलाई मध्यनगर गर्दै ‘प्रिकसन’ गराइरहेका छौं ।

मकालु खबर : पूरा नेपालको ‘कोरोना ग्राफ’ ओरालो लागे पनि काठमाडौं उपत्यकाभित्र चाहिँ संक्रमितहरु बढेका बढ्यै छन्, यसको कारण के हो ?
प्रवक्ता गौतम : हामीले तथ्यांकगत हेर्नुपर्छ । जस्तो काठमाडौंको जनसंख्या र काठमाडौंबाहिरका जनसंख्यालाई दाँजेर त्यसको प्रतिशत निकाल्दा अझ कम पनि हुन सक्छ । यहाँ हामीले झ्वाट्ट यस्तो देखियो । तर यसो नहुन पनि सक्छ । यद्यपि ग्राफमा भने त्यस्तै देखिन्छ । हाम्रो त ‘प्रिकसन’ गर्ने काम हो, गराइरहेका छौं ।

मकालु खबर : काठमाडौंका सडकहरुमा मानिसहरु विनाहिच्किचाहट हिँडिरहेका देख्छौं, के काठमाडौंमा ढुक्कै हिँड्न सक्ने अवस्था छ ?
प्रवक्ता गौतम : त्यो अवस्था छ त भनेर भन्न त मिल्दै मिल्दैन । किनकी, अदृश्य भाइरस हो, त्यसलाई बेवास्ता गरियो भने अस्थित्व नै पनि गुम्न सक्छ । आज विश्वका शवगृह भरिएको छ । शवबाहनको अभाव भएको छ । त्यो भएर हामीले यसको सुक्ष्मतालाई बेवास्ता गर्नुहुँदैन । यसको सुक्ष्मता नै घातक हो । हामीले त सावधानी अपनाऔं भनिरहेका छौं र सधैंभरि भन्ने नै छौं ।

मकालु खबर : नेपालभरि संक्रमण दर त घटेकै हो । यसको प्रमुख कारण चाहिँ के हो ?
प्रवक्ता गौतम : अहिल्यै घट्यो भनेर भन्न मिल्दैन । यद्यपि ग्राफमा त्यो देखिन्छ । हामीले देखेको र अन्य प्रदेशहरुबाट आएका कुराहरुकै आधारमा तथ्यांक तयार हुने हो । तर पनि तथ्यांकगत कुरा पनि कतिपय ठाउँमा गलत हुसक्छन् । यसर्थ, निस्फिक्री बस्नुहुँदैन । हामीले यसबारेको सावधानी भने अपनाउनैपर्छ ।

मकालु खबर : कोरोनालाई आम-नागरिकले वास्तविकताभन्दा अलिक बढी हाउगुजीकै रुपमा अर्थ्याइरहेका छन्, यसलाई पछिल्लो समय काठमाडौंमा देखिएको भीडभाडले पनि पुष्टि गर्छ, यसलाई कसरी बुझ्ने ?
प्रवक्ता गौतम : के को हाउगुजी ? तपाईँ हेर्नुहुन्छ भने आज विश्वमा शवगृह भरिएका छन् । अन्त्येष्टि गर्ने ठाउँको अभाव छ । मान्छेले त जसरी पनि अर्थ्याउँछन् । तर बाँच्नुपर्यो नी, हामीले त भनिरहेका छौं । सावधानी अपनाउनुस् भनेर । यो हाउगुजी होइन, वास्तविकता हो । मैले अघि नै भनिनँ, यसको सुक्ष्मतासँग डराउनुपर्छ ।

मकालु खबर : अब कोरोनासँगै बाँच्न सिक्नुपर्छ भनेर भन्दै गर्दा अबका दिनमा हामीले कस्तो क्रियाकलापहरु गर्ने र कस्ता त्याग्ने ?
प्रवक्ता गौतम : हामीले भन्दै आएको र विश्व स्वास्थ्य संगठनले पनि भनेको कुरा, सामाजिक दूरी, मास्क र स्याजीटाईजरको साथ नछोडेर आफ्नो नियमित कामकारबाहीमा जुट्नु भनिएको हो । अथवा यसो भनौं, सावधानीसँगै आयआर्जनका काममा जुट्ने । किनकी, जीवन त चल्नुपर्यो नी ।

मकालु खबर : अब कोरोना संक्रमण यही अनुपातमा घट्छ कि पुनः बढ्छ, नेपालमा ?
प्रवक्ता गौतम : हाललाई तथ्यांकगत रुपमा हेर्दा घटेको देखिन्छ । यद्यपि घट्यो भनेर विनाहिच्किचाहट जहाँ पायो त्यहीँ जाने, धेरै डुल्ने, अरुसँग धेरै भेट्ने कुराहरुलाई त्याग्नुपर्छ भने पूर्ण सावधानीलाई अँगाल्नुपर्छ । अब पनि सावधानी अपनाउन सकिएन भने पुनः पहिलेकै रफ्तारमा संक्रमण दर बढ्छ । घटाउने कि बढाउने भन्ने चाहिँ हामी आफैँमा भर पर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *