सर्दु खोलाले बगाएका रामबहादुर बस्नेतको शव फेला, १४ वर्षीय बालक बेपत्ता

- भरतराज शर्मा (गोपाल) सुनसरी
धरान । सर्दु खोलाले बगाएर बेपत्ता भएका ६५ वर्षिया रामबहादुर बस्नेतको शव फेला परेकाे छ । धरान-११ बाहुन डाँडास्थित खाेलामा बग्दै गरेको अवस्थामा फेला परेकाे शसस्त्र प्रहरी बल धरानका डिएसपी सुमन पोखरेलले जानकारी दिए ।
आइतबार स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाएपछि शसस्त्र प्रहरीको टोली पुुगेर शव निकालेकाे हाे । अहिले थप प्रक्रियाका लागि इलाका प्रहरी कार्यालय धरानलाई बुझाइसकेकाे छ । पोस्टमार्टमका लागि शव विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मर्चरीमा राखिएको छ ।
मृतक बस्नेत धरान-१३ मा अरुको घरमा काम सघाएर गुजारा चलाउँदै आएका थिए । उनलाई शनिबार अपरान्ह ४ जे सर्दु खोला तर्ने क्रममा बाढीले बगाएको थियो । प्रहरीले मृतक बस्नेतका आफन्तको खोजी गरिरहेकाे छ ।
तीन दिनदेखिको निरन्तरको बर्षाले धरानको खोला छेउका विभिन्न स्थानमा क्षति पुर्याउन थालेको छ । सर्दु खोलामा आएको बाढीले धरान १६ स्थित निर्माणाधिन तारा सुब्बा स्मृति पार्कको वाल भत्काएको छ । शनिबार राती सर्दुमा आएको बाढीले धरान १६ को नौलो बस्तीमा निर्माणाधिन पार्कको जग्गा संरक्षण गर्न निर्माण गरिएको वालको ४ वटा सेट भत्काएको हो ।
धरान उपमहानगरपालिका वडा नं १६ का अध्यक्ष दिलकुमार गिरीका अनुसार ३ वटा वालको सेट भत्किसकेको छ भने अर्काे एउटा पनि भत्काउन लागेको छ । उनका अनुसार पार्कको जग्गा जोगाउन ३ वर्षअघि वाल निर्माण गरिएको थियो । वाल ९ फिट गहिरो खनेर उठाइएको भएपनि खोला वर्षेनी गहिरिँदै गएपछि वाल ढलेकाे अध्यक्ष गिरीले बताए ।
उता सप्तकोशी नदीमा दाउरा खोज्न गएका सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं ७ का १४ वर्षीय एक बालक बेपत्ता भएका छन् । चक्रघट्टी प्रहरी कार्यालयका इन्चार्ज प्रहरी निरिक्षक पाण्डव राजवंशीका अनुसार बालक अनिल बस्नेत नदीमा बाढीले बगाएर ल्याउने दाउरा निकाल्न गाउलेसँगै गएका थिए ।
बिहानै नदीमा गएका उनि अहिलेसम्म भेटिएका छैनन् । प्रहरी र स्थानीयले खोजी कार्य तीव्र पारेको राजवंशीले जानकारी दिएका छन् । प्रहरीले नदीको भेल-बाढीमा दाउरा टिप्न राेक लगाएपनि दाउराकाे अभावका कारण गाउँलेहरु जोखिम मोलेरै जाने गरेका छन् ।








