मह उत्पादक किसानलाई पहिलो पटक प्रोत्साहन अनुदान

चितवन । मह उत्पादन गर्ने चितवनका किसानहरुलाई पहिलो पटक प्रतिफलमा आधारित प्रोत्साहन अनुदान दिइएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना परियोजना कार्यान्वयन इकाई चितवनले किसानहरुलाई अनुदान रकम वितरण गरेको हो ।
‘मौरी जोन’ लागू भएको कालिका नगरपालिकाका १५ जना किसानहरुलाई ४ लाख ३३ हजार १४३ रुपैयाँ अनुदानस्वरुप प्रदान गरिएको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना चितवनका प्रमुख वरिष्ठ कृषि अधिकृत मेघनाथ तिमल्सीनाले जानकारी दिए ।
एक घारमा प्रति वर्ष ४२.३ किलो मह उत्पादन हुन्छ । कालिकामा १ सय ४५ घार मौरी पाल्ने किसान ठट्टाबहादुर बुढाथोकीले सबैभन्दा धेरै ३३ हजार २ सय रुपैयाँ अनुदान पाएका छन् ।
कालिका नगरपालिका प्रमुख खुमनारायण श्रेष्ठ गोपीको प्रमुख आतिथ्यतामा प्रतिफलमा आधारित प्रोत्साहन अनुदान रकम वितरण गरिएको थियो ।
सो अवसरमा प्रमुख श्रेष्ठले मौरीको व्यवसायीकरणसँगै चरण क्षेत्रको व्यवस्थापन गर्नुपर्ने बताए । नगरको सिद्धी मौरी चरणका लागि उपयुक्त क्षेत्र भएकाले यहाँका डाँडाहरुमा बाटो निर्माणको काम भइरहेको प्रमुख श्रेष्ठको भनाइ थियो ।
मौरीपालन व्यवसायलाई लक्षित गर्दै नगरपालिकाले यस वर्ष ३ हजार ३ सय बोट चिउरीको विरुवा रोपिएको उनले बताए । प्रमुख श्रेष्ठले किसानलाई व्यवसायिक नै नगरको विकास नहुने धारणा पनि राखे ।
परियोजनाका वरिष्ठ कृषि अधिकृत तिमल्सीनाले यहाँका किसानहरु उत्पादनमा अघि बढे पनि वृद्धि भने हुन नसकेको औंल्याए । त्यसैले पनि बढी उत्पादन गर्नेलाई यस पटक अनुदान रकम वितरण गरिएको उनको भनाइ थियो ।
अनुदान रकमसँगै ति किसानहरुलाई मह राख्ने फुडग्रेटको बाल्टिन १ सय ९९ थान वितरण गरिएको परियोजनाका कृषि अधिकृत इन्द्र ढुंगानाले जानकारी दिए ।
मौरी जोन संचालक समिति अध्यक्ष धर्मराज लामाको अध्यक्षतामा भएको कार्यक्रममा कालिका नगरपालिका वडा नं. ६ का वडाध्यक्ष विनोद रेग्मी, परियोजनाका कृषि अधिकृत माधव पौडेलले मन्तव्य राखेका थिए ।








