रत्ननगरमा किसानलाई प्रोत्साहन, दुहुनो गाईमा अनुदान

चितवन । चितवन रत्ननगर नगरपालिका ३ का किसानलाई दुहुनो गाई वितरण गरिएको छ । पशुपालनतर्फ आकर्षण बढाउन वडा नं. ३ को वडा कार्यालयले अनुदानमा गाई वितरण गरेको हो ।

वडा भित्रका ११ जना किसानलाई गाई वितरण गरिएको वडाध्यक्ष गुप्तनाथ भट्टराईले जानकारी दिए । गाई खरिदका लागि वडा कार्यालयले प्रति किसान ४० हजार रुपैयाँ अनुदान दिएको थियो ।

बाँकी रकम भने किसान आफैँले व्यहोरेका हुन् । स्थानीय देवकी अधिकारी, रमेश पुडासैनी, वीरबहादुर भुजेल, चित्रसेन अधिकारी, अस्मितासिंह ठकुरी, चिरञ्जिवी भट्टराई, रामप्रसाद तिमल्सीना, सुनमाया लामा, प्रेम गिरी, गोमा न्यौपाने र रमाकान्त भुवाजीलाई शनिबार एक कार्यक्रमबीच गाई हस्तान्तरण गरिएको हो ।

किसानले ८० हजारसम्म हालेर गाई खरिद गरेका थिए । गाई खरिद गरेपछि मात्र वडा कार्यालयले रकम भुक्तानी गरेको हो । दुहुनो गाई वितरणका लागि वडा कार्यालयले चालू आर्थिक वर्षमा ४ लाख ४० हजार रुपैयाँ विनियोजन गरेको थियो ।

रत्ननगर नगरपालिका मेयर नारायण वन, उपमेयर विमला दुवाडी, वडाध्यक्ष गुप्तनाथ भट्टराईले किसानलाई गाई हस्तान्तरण गरेका थिए ।

सो अवसरमा मेयर वनले कृषि र पशुपालनमा नगरलाई अब्बल बनाउने नीति लिइएको भन्दै बाँझो जमिन प्रयोगमा ल्याई खेती समेत शुरु गरिने बताए ।

यहाँकै युवाहरु र विदेशबाट फर्किएकाहरुलाई स्वरोजगार बनाउन नगरपालिकाले सहयोग गर्नेसमेत मेयर वनले बताए । गाई प्राप्त गरेका स्थानीय चित्रसेन चौधरीले वडाले अनुदानमा दुहुनो गाईनै दिएकोमा खुसी व्यक्त गर्दै गाईको संख्या वृद्धि गर्दै लैजाने पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 2 =