गुम्बा विकास समितिको अध्यक्षमा ‘फ्रि तिब्बत’ अभियन्तालाई नियुक्त गरेकाे दावि

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा पर्यटनमन्त्री योगेशकुमार भट्टराईले ‘बौद्ध दर्शन प्रबर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा दलाई लामाको ‘स्वतन्त्र तिब्बत’ अभियानका कार्यकर्ता फूपु छेम्बे शेर्पालाई नियुक्त गरेकाे दावि गरिएकाे छ ।
सामाजिक अभियान्ता भरत दाहालले उनी ‘स्वतन्त्र तिब्बत’ अभियानको केन्द्रका रुपमा परिचित काठमाडौंको कपन गुम्बासँग सम्बन्धित रहेकाे बताएका छन् । कपनकाे यो गुम्बा सिआइएले हतियार भण्डारण गरेर राखेको गुम्बाका रुपमा चर्चित छ।
फूपु छेम्बे शेर्पा र कपन गुम्बा दलाई लामा प्रमूख रहेको ‘गेलुक्पा’ सम्प्रदायका व्यक्ति भएकाे दाहालकाे दावि छ । ‘यो सम्प्रदाय तिब्बतबाट दलाई लामाको पलायन भन्दा पहिले नेपालमा अस्तित्वमा थिएन। तिब्बतमा १० प्रतिसत मात्र जनसंख्याको प्रतिनिधित्व गर्ने यो सम्प्रदाय नेपालमा पनि नगण्य छ।’ दाहालले भनेका छन् । नेपालमा प्राचिन कालदेखि अस्तित्वमा रहेका बौद्ध सम्प्रदायहरुमा पहिलो र दोश्रो ठूला सम्प्रदायहरु ‘न्यिङमा’ र ‘कग्युपा’ हुन्।
भुटान र तिब्बतमा सबैभन्दा ठूलो संख्यामा ‘कग्युपा’ सम्प्रदाय छ भने दोश्रो प्रभावशाली सम्प्रदायमा ‘न्यिङमा’पर्दछ। नेपालमा चाहिं ‘न्यिङमा’ पछि ‘कग्युपा’ दोश्रो ठूलो सम्प्रदायका रुपमा छ। दाहालले नेपालका मौलिक सम्प्रदायका रुपमा प्राचिन कालदेखि प्रभाव रहेका ‘न्यिङमा’ र ‘कग्युपा’ सम्प्रदायको उपहास गरेर तिब्बती शरणार्थीहरु आएपछि भित्रिएको सम्प्रदायबाट गुम्बा विकास समितिको अध्यक्ष चयन गर्नु निन्दनिय रहेकाे बताएका छन् ।
‘यसबाट ओली सरकारका २ वटा बद्नियतहरु स्पष्ट हुन्छन्। पहिलो बद्नियत नेपालका मौलिक संस्कृतिहरुको हत्या गरेर बौद्ध सम्प्रदायलाई दलाई लामाकरण गर्नु हो। दोश्रो बद्नियत नेपालको बौद्ध सम्प्रदायमा ‘स्वतन्त्र तिब्बत’ अभियानको प्रभावलाई विस्तार गर्नु हो।’ भरत दाहालकाे दावि छ । उनले फूपु छेम्बे शेर्पा योगेश भट्टराईको गृह जिल्ला ताप्लेजुङका रहेकाे समेत जिकिर गरेका छन्।
शेर्पालाई गएकाे असार २ गते मन्त्री परिषदको निर्णयले आगामी पाँच बर्षका लागि अध्यक्षमा नियूक्त गरिएकाे हाे । बौद्ध दर्शन प्रबर्द्धन तथा गुम्बा विकास समिति गठन आदेश २०६६ को दफा ३ को उपदफा २ (क) अनुसार शेर्पालाई अध्यक्षमा नियूक्त गरिएको बताइएकाे थियाे ।

आजै मन्त्री भट्टराईले बौद्ध दर्शन, प्रवद्र्धन तथा गुम्मा विकास समितिको पुल्चोकस्थित कार्यालयको निरीक्षण गर्दै पवित्र र ऐतिहासिक स्थलका रुपमा रहेका गुम्बाहरुलाई भगवान गौतम बुद्धले अघि सारेका मानवतावादी विचार र अहिंसा, शान्ति र सद्भावको प्रचार प्रसार गर्न प्रेरित गरिनुपर्ने उल्लेख गरेका थिए ।
उनले देशभरका गुम्बामा के कस्ता गतिविधि भइरहेका छन् तिनको प्रभावकारी अनुगमन गर्न तथा गुम्बाभित्र कुनै पनि अवान्छित गतिविधि हुन नदिन निर्देशन समेत दिएका छन् । मन्त्रालय मातहत निकायका काम कार्बाहीलाई शत प्रतिशत सम्पन्न हुनेगरी काम गर्न आग्रह गर्दै पर्यटनमन्त्री भट्टराईले प्रत्येक महिना मन्त्रालयमा प्रगति पेश गर्न पनि निर्देशन दिए ।
समितिले चालु आबमा ५७ प्रतिशत मात्रै काम सकिएको प्रतिवेदन पेश गरेको छ । समितिमा हाल देशभर दुई हजार ८२२ गुम्बा आवद्ध छन् ।








