सार्वजनिक यातायात खुला गर्ने सरकारको निर्णयः के–कति पुरा गर्नुपर्छ मापदण्ड ? कति तिर्नुपर्छ यात्रुले भाडा ?

काठमाडौं । सरकारले कोभिड १९ जोखिम न्युनिकरणका लागि बन्द गरेको सार्वजनिक यातायात खोल्न दिने निर्णय गरेको छ । मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता युवराज खतिवडाले यसबारे जानकारी दिएका हुन् ।
मापदण्ड पुरा गरी भोलिदेखि नै सञ्चालन गर्न पाइने उनको भनाइ छ । ट्याक्सी पनि सञ्चालन गर्न पाइने उनले जानकारी दिए ।
के–कति पुरा गर्नुपर्छ मापदण्ड ?
सवारी, चालक र सह चालकले मास्क र सेनिटाइजर अनिवार्य प्रयोग गर्नुपर्नेछ । गाडीमै सेनिटाइजरको व्यवस्था गर्नुपर्ने चालक र सहचालकले मास्क सँगै भाइजर र पञ्जा लगाउनुपर्ने र दैनिक निसंक्रमित गरेर मात्रै सवारी गुडाउनुपर्ने छ । त्यस्तै सवारी साधनमा स्यानिटाइजर अनिवार्य र हरेक दिन सवारीसाधनलाई डिसइन्फेम्सन गर्नुपर्ने व्यवस्था गरिएको छ।
त्यस्तै यसअघि चालकबाहेक २ जना मात्रै बस्न पाइने गरी नियम बनाएकोमा अब २ जनाबाहेक एकै परिवारका ५ वर्ष मुनिका अरु सदस्यहरु समेत ट्याक्सीमा सवार हुन पाउने छन् । भाडादर भने पुरानै कायम छ ।
ट्याक्सीहरू तत्कालै सञ्चालन भए पनि अन्य सार्वजनिक सवारीको हकमा सुरक्षा प्रवन्ध मिलाएर सञ्चालन गर्न केही समय लाग्न सक्ने मन्त्री खतिवडाको भनाइ छ ।
कति यात्रु बोक्न पाइन्छ ?
कुल क्षमताको ५० प्रतिशत यात्रु राखेर छोटो दूरीका सवारी सञ्चालन हुन पाउनेछन् । उपत्यकाको हकमा काठमाडौं, ललितपुर र भक्तपुर भरीमा सञ्चालन गर्न पाइनेछ । अन्य जिल्लाको हकमा भने जिल्लाभित्र मात्रै सञ्चालन हुनेछ । एक पंक्तिको एक सिटमा एक जना हुनेगरी कुल क्षमताको ५० प्रतिशत मात्रै यात्रु राख्न पाइने छ।
यात्रुले कति तिर्नुपर्छ भाडा ?
सार्वजनिक यातायातले मापदण्ड लागु हुँदासम्म प्रचलित भाडा दरमा ५० प्रतिशत बढी भाडा लिन पाउने छन् । मन्त्री खतिवडाले पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् ।








