ग्लोकल स्कुलद्वारा अनलाईन सिकाई सम्मेलनको प्रतिवेदन हस्तान्तरण

काठमाडौं । ग्लोकल आफ्टर स्कुलले ‘अनलाईन सिकाईका लागी भर्चुअल सम्मेलन’ को प्रतिवेदन सरकारलाई बुझाएको छ । असार १४ र १५ गते गरिएको उक्त सम्मेलनको प्रतिवेदन स्कुलले शिक्षामन्त्री गिरीराजमणि पोखरेललाई बुझाएको हो ।
सिकाई सम्मेलनमा शैक्षिक क्षेत्रका अग्रणी विद्वान, शिक्षाविद् र अनुसन्धानकर्ताहरूलाई एकसाथ ल्याएर अनलाईन शिक्षण, शिक्षाको भविष्य र शिक्षाको सिद्धान्तमा विकास गर्न के गर्न सकिन्छ भन्ने बारेमा गहिरो छलफल पनि भएको थियो ।
ग्लोकलले सोही कार्यक्रमका सिकाई एवम् अनुसन्धानपछी अनलाईन सिकाइमा नेपालले के कस्ता कार्यहरु अवलम्बन गर्न सक्छ र के के कुरा सरकारी नितीमा समावेश गर्न सकिन्छ भनेर एउटा विस्तृत प्रतिवेदन तयार गरेको थियो । सोही प्रतिवेदन लोकल प्राशिका कार्यकारी निर्देशक आशीष ठाकुरले शिक्षामन्त्रीलाई हस्तान्तरण गरेका हुन् ।
सम्मेलनमा नेपालमा अनलाईन सिकाइलाई कसरी प्रभाबकारी बनाउने, नेपाल बाहिर यस लर्निङलाई कसरी बिकास गरिदै छ, लगायत अनलाईन शिक्षण प्रणालीमा पहुँच एवम् सम्भावनाका बिषयमा ३ प्यानेल छलफल गरिएको थियो । सम्मेलनमा अदामस युनिभर्सिटी, खान एकेडेमी, १० मिनट स्कुल, फ्युज क्लासरूम, ग्लोकल आफ्टर स्कुल, टिच फोर नेपाल, काठमाडौं विश्वबिद्यालय, किङ्स कलेज, कारखाना एवम् सिटिइभिटी जस्ता शिक्षण मञ्चहरूका प्रतिनिधि मार्फत मन्तवय तथा विश्लेषणहरू गरिएको थियो ।








