‘संगठनको श्रीवृद्धिमा केही पद चिन्ह छोडेर जाने मेरो उत्कृष्ट चाहना थियो, तर…’

काठमाडौं । पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुर प्रसाद ज्ञवालीले आफ्ना योजनाहरु अधुरै छोड्नु परेकोमा थकथकी लागिरहने बताएका छन् । संगठनकाे श्रीवृद्धिमा केही पद चिन्ह छोडेर जाने मेरो उत्कृष्ट चाहना हुँदाहुँदै पनि काेभिड- १९ महामारीका कारण आफूले आफ्नो जिम्मेवारी राम्रोसँग पुरा गर्न नपाएकोमा थकथकी लागिरहने बताएका हुन् ।
प्रहरीमा सेवाको अन्तिम दिन बुधबार उनले जारी गरेकाे धन्यवाद सन्देश भनिएकाे छ- ‘संगठनकाे श्रीवृद्धिमा केही पद चिन्ह छोडेर जाने मेरो उत्कृष्ट चाहना थियाे । जसलाई साकार पार्न सम्बद्ध सबैकाे सहयाेग, समन्वय र सल्लाहकाे जरूरत उत्तिकै थियाे । यस्ताे परिवेशमा मैले संगठनकाे हितमा पाइला चाल्न पाउँदा नपाउँदै काेभिड १९ महामारीले समेत मुलुकलाई गाँजेका कारण सबै याेजना थाँती राख्नु परेकाले मनमा थकथकी लागिरहन्छ ।’
साथै उनले संवेदनशील यो घडीमा आपसी एकता, धैर्यता र स्व–अनुशासनका साथ नागरिक सेवामा खटिन समेत उनले आग्रह गरेका छन् । अरुले हैन मैले मेरो ठाउँबाट लागि पर्नुपर्छ भन्ने भावनाले नेपाल प्रहरी पक्कै सुन्दर संगठन बन्ने उनकाे भनाइ छ ।









