यस्ताे छ नेपाली सेनाको सुरक्षामा रहेको होल्डिङ क्षेत्रको व्यवस्थापन र सुरक्षा

- सुजाता लिम्बू
विराटनगर । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ को असहज परिस्थितिमा तेश्रो मुलुकबाट आएका नेपाली नागरिकहरुको व्यवस्थापनका लागि नेपाली सेनाले अग्रभागमा रहेर भूमिका निभाइरहेकाे छ ।
गत जेष्ठ २३ गतेबाट सुनसरी जिल्लाको चतरास्थित रामानन्दाचार्य सेवापीठमा श्री पूर्वी पृतना हेडक्वाटरद्वारा तयार गरिएको प्रदेश स्तरीय होल्डिङ सेन्टरमा विदेशमा अलपत्र परेका नेपाली नागरिकहरुकाे उद्धार गरी उनीहरुलाई सुरक्षित तवरले सम्बन्धित जिल्लामा पुर्याउने काम पनि नेपाली सेनाले गर्दै आएकाे छ ।
तेश्रो मूलुकबाट आएका नेपाली नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएसँगै सूर्यविनायकमा तयार गरिएकाे होल्डिङ सेन्टरको व्यवस्थापनमा नेपाली सेनाले सहयोगी भूमिका निर्वाह गरेका छन् ।

तेश्रो मूलुकबाट आएका नेपाली नागरिक सूर्यविनायकस्थित होल्डिङ क्षेत्रमा आएपछि उनीहरुको ठेगानासहितको व्यक्तिगत विवरण नेपाली सेनाले तयार गरी प्रदेशस्तरिय नेपाली सेनाको स्कटिङमा होल्डिङ क्षेत्रमा सुरक्षाका साथ ल्याईने गरेको पूर्वी पृतना हेडक्वाटर ईटहरीले जनाएको छ ।
पूर्वी पृतना हेडक्वाटरका अनुसार तेश्रो मुलुकबाट आएका नेपाली नागरिकलाई एक नम्बर प्रदेशको पूर्वी पृतना, २ नम्बर प्रदेशको मध्य पूर्वी पृतना र ३ नम्बर प्रदेशको मध्य पृतनाले सुरक्षा दिँदै आईरहेको छ । उनीहरुलाई सम्बन्धित ठाउँकाे क्वारेन्टिनमा पुर्याउनका निमित्त १ नम्बर प्रदेशले विभिन्न ३ वटा रुट तयार गरेकाे पूर्वी पृतना सूचना तथा जनसम्पर्क शाखाले जानकारी दिएको छ । जसमा सोलुखुम्बु, खोटाङ र ओखलढुङ्गा पहिलो रुट, झापा, ईलाम, पाँचथर र ताप्लेजुङ दोश्रो रुट र यी मध्ये बाँकी रहेका सम्पूर्ण जिल्ला तेश्रो रुट रहेका छन् ।

प्राथमिक स्वास्थ्य परीक्षण होल्डिङ सेन्टरमा
१ नम्बर प्रदेशले संचालनमा ल्याएको सुनसरी जिल्लाको चतरास्थित होल्डिङ सेन्टर नेपाली सेना पूर्वी पृतना हेटक्वाटर ईटहरी अन्तर्गत कालीशक्ति गण (ईन्जिनियर) ले कमाण्ड गर्दै आईरहेको छ ।
हालसम्म १ नम्बर प्रदेश अन्तर्गत विभिन्न जिल्लाका तेश्रो मुलुकबाट आएका तीन हजार ४ सय ७४ जना नेपाली नागरिकलाई नेपाली सेनाले व्यक्तिगत विवरण संकलन गरी होल्डिङ क्षेत्रमा नै प्राथमिक स्वास्थ्य परिक्षण गराई सम्बन्धित जिल्लाहरुसँग समन्वय गरी पठाईएको पूर्वी पृतना हेडक्वाटर ईटहरीले जानकारी दिएको छ ।
हेडक्वाटरका अनुसार चतरास्थित होल्डिङ क्षेत्रबाट सात सय ७८ महिला र २ हजार ६ सय ९८ पुरुषलाई सम्बन्धित जिल्लामा समन्वय गरी स्थानिय तहले व्यवस्थापन गरेकाे क्वारेन्टाईनमा पठाईएको छ ।








