अकुत सम्पत्ति जति सबै श्रीमतीको नाममा, पर्यो ३ करोडको भ्रष्टाचार मुद्दा

काठमाडौं । खानेपानी तथा ढल ब्यवस्थापन विभाग अन्तर्गत क्षेत्रीय आयोजना ब्यवस्थापन कार्यालय, नेपालगंजमा कार्यरत सिनियर डिभिजन इन्जिनियरमाथि भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३ करोड १० लाख २७ हजार १५३ रुपैयाँ बिगोसहित मंगलबार विशेष अदालत काठमाडौंमा डिभिजन इन्जिनियर पूर्ण प्रसाद उपाध्याविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

उपाध्यायले इन्जिनियर उपाध्यायले गैरकानूनी सम्पत्ति आर्जन गरी हैसियत भन्दा वढी अस्वाभाविक उच्चजीवन यापन गरिरहेको भन्ने आयोगमा दर्ता हुन आएको उजुरीमाथि अनुसन्धान गर्दा भ्रष्टाचार पुष्टि भएको हो ।

उनी सामुदायिक खानेपानी तथा सरसफाई इकाई कार्यालय डडेल्धुरामा रा.प.तृतिय श्रेणी इन्जिनियरको पदमा वि.सं २०६३/०९/०५ मा स्थायी नियुक्ति प्राप्त गरी २०६९/१२/१५ मा सिनियर डिभिजन इन्जिनियर पदमा बढुवा भएका थिए । बढुवा पश्चात विभिन्न कार्यालयहरु हुँदै हाल संघीय खानेपानी तथा ढल व्यवस्थापन दरबन्दी भई क्षेत्रीय आयोजना ब्यवस्थापन कार्यालय, नेपालगञ्ज पुगेका हुन् ।

६३ सालदेखि २०७७ जेष्ठ मसान्तसम्मको अवधिमा उपाध्यायले सार्वजनिक सेवामा रही आर्जित भत्तालगायत पारिश्रमिक आय, श्रीमती दुर्गा खनाल रिमालको पारीश्रमिक आय, जग्गा भाडा, कर्मचारी संचयकोष कर्जा, ब्यक्तिगत सापटी, शेयर नगद लाभांश, पैतृक जग्गा बिक्रीबाट प्राप्त आय, र निजको आयले खामेका बैंक मुद्दती खातामा रहेको निक्षेप परिपक्व पश्चात फिर्ता प्राप्त रकमसमेत गरी अनुसन्धानमा लिएको जाँचअवधिमा उनको आय–आयर्जन जम्मा एक करोड ९१ लाख १६ हजार २९८ रहेको अनुसन्धानमा खुलेको छ ।

‘सोही जाँच अवधिमा निजले जग्गा खरिद, घर निर्माण, विद्युतिय उपकरण खरिद, जीवन बीमा प्रिमियम शुल्क, सापटी रकम, शेयर तथा डिभेञ्चरहरु खरिद, विभिन्न बैंकहरुमा विभिन्न मितिहरुमा मुद्दती निक्षेप जम्मा, शैक्षिक खर्च, सुनचाँदी खरिद, साथमा रहेको नगद र निज तथा निजको श्रीमती दुर्गा खनाल रिमालको नाममा विभिन्न बैंक खाताहरुमा अन्तिम मौज्दातसमेत गरी अनुसन्धानमा लिइएको जाँचअवधिमा सम्पत्ति सिर्जना तथा लगानी गर्नमा निज पूर्ण प्रसाद उपाध्यायले ५ करोड १ लाख ४३ हजार ४५१ रुपैयाँ खर्च तथा लगानी गरेको पाइएकोले निजको वैध आयको अनुपातमा आयभन्दा बढी गरेको खर्च ३ करोड १० लाख २७ हजार १५३ बराबरको भागको सम्पत्तिको स्रोत खुल्न नआएको पाइएको छ’, अख्तियारको आरोप पत्रमा उल्लेख छ ।

अनुसन्धानबाट उनले भ्रष्टाचार गरेको पुष्टि भएपछि भ्रष्टाचार निवारण ऐन बमोजिम बिगो ३ करोड १० लाख २७ हजार १५३ कायम गरी उनको श्रीमती दुर्गा खनाल प्रतिवादी कायम गरी मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =