पहिरोले डोटीमा ८ परिवार विस्थापित, धनगढी डुब्यो !

काठमाडौं । ३ दिनदेखिको लगातारको वर्षाका कारण पहिरो आउँदा डोटीको पश्चिमी क्षेत्रमा पर्ने सायल गाउँपालिका-२ सिर्मा गाउँका ८ परिवार विस्थापित भएका छन् ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाका अनुसार आइतबारदेखि आएको भारी वर्षाका कारण उक्त गाउँको बस्ती माथिबाट पहिरो आएपछि ८ परिवारका ४० सदस्य घरबार छोडेर विस्थापित भएका हुन् । पहिरोका कारण विस्थापित परिवारका सदस्य पाल टाँगेर बस्न बाध्य छन् । गाउँ माथिबाट पहिरो आएपछि पहिरोमा च्यापिने डरले उनीहरू घरबार नै छाडेर विस्थापित भएको स्थानीयवासी तेज डुम्रेलले जानकारी दिए ।

‘गाउँ माथिबाट पहिरो आएपछि ८ परिवारका ४० जना विस्थापित भएका छन्, उनीहरूलाई सुरक्षित बासस्थानका लागि समस्या भएको छ,’ उनले भने । बाढी पहिरोबाट विस्थापित परिवारलाई स्थानीय सरकारले समयमै व्यवस्थापन गर्नुपर्ने पहिरो पीडितमध्येका एक नरबहादुर ओलीले बताए । उनले भने, ‘अविरल वर्षासँगैको पहिरोले घरनै पुर्ने डरले हामीहरु चौपाया, खाद्यान्न सरसामान छाडेर आफन्तको घरमा सरेका छौँ, अब हाम्रो व्यवस्थापन गर्न ढिलो गर्नु भएन ।’

गाउँमाथिको पूरै जमिन फाटेका कारण सिर्मा गाउँका अन्य ६० भन्दा बढी घरपरिवार पहिरोको उच्च जोखिममा रहेको उनले जानकारी दिए । बर्सेनि बाढी पहिरोका कारण सायल गाउँपालिकामा स्थानीयले अकालमै ज्यान गुमाउने गरेका छन् ।धनगढी उप-महानगर क्षेत्रमा डुबान
यता लगातारको वर्षापछि कैलालीको धनगढी उपमहानगर क्षेत्र जलमग्न भएको छ । प्रदेशको अस्थायी राजधानी धनगढी बजार क्षेत्रका अधिकासं क्षेत्र जलमग्न भएका हुन् भने केही क्षेत्रमा डुवान समेत भएको छ ।

वडा नम्वर ३ का विभिन्न क्षेत्रमा डुवान भएको स्थानीयले बताएका छन् । पानीको उचित निकासका लागि ढलको व्यवस्था नहुँदा बजार क्षेत्रमा समेत पानी जमेको छ । धनगढीमा पानी पर्ने बित्तिकै वर्षेनी डुबान हुने समस्या रहेको छ । जिल्ला विपद व्यवस्थापन समितिले पनि विभिन्न खोलाको जलस्तर सामान्य वृद्धि भए पनि खतरामुक्त रहेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *