‘अब सेल्फ लकडाउनमा बसौं’ डा. रवीन्द्र पाण्डे

काेराेना संक्रमणले अब काठमाडाैं हटस्पट बन्ने तरखरमा रहेकाले काेराेना संक्रमणबाट बच्न सेल्फ लकडाउनमा बस्नु पर्नेजनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले बताएका छन् । काठमाडौं उपत्यकामा ४० लाख जनसंख्या रहेकाे र जनघनत्व बढी भएका सहर कोरोना संक्रमणको हटस्पट बन्ने जोखिममा भएकाे भन्दै डा. पाण्डेले जनताले नै अब सेल्फ लकडाउनमा बस्नु पर्ने बताएका हुन् ।

उनले सरकारी तथ्यांकमा देखिएको संक्रमितको संख्यालाई स्याम्प्लिङ्गको रुपमा बुझ्नु जरुरी रहेकाे बताउँदै ट्राभल्स हिस्ट्री नै नभएकालाई समेत काेराेना संक्रमण देखिनु भनेकाे खतरापूर्ण अवस्था रहेकाे बताएका छन् । डा. पाण्डेले काठमाडौं उपत्यकाको समुदायमा पिसिआर परीक्षण गर्न सरकार तत्पर नदेखिएकाे जिकिर गर्दै अब जनता स्वयंले आफ्नाे स्वास्थ्य सुरक्षा प्रति सचेत हुनु पर्ने बताएका छन् ।

डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

डा. पाण्डेकै शब्दमा

उपत्यकाका अधिकांश अस्पतालमा अन्य उपचार गर्न गएका व्यक्तिहरुमा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीमा पनि संक्रमण बढ्दो क्रममा छ । उपत्यकाका प्रत्येक ठाउँमा संक्रमित फाट्टफुट्ट देखिएका छन् । बालबालिकादेखि बृद्धबृद्धा, जसको ट्राभल हिस्ट्री छैन, संक्रमितसँग सम्पर्क भएको हिस्ट्री छैन, उनीहरूमा पनि संक्रमण देखिएको छ । पावर तथा पैसाको बलमा भित्रि नाकाबाट उपत्यका प्रवेश गर्नेको कमी छैन ।

उपत्यका प्रवेश गर्ने व्यक्तिलाई होल्डिङ्ग गर्ने, परीक्षण गर्ने अनि मात्र संक्रमण नभएका व्यक्तिलाई आफ्नो निवास पठाउने काम भएको छैन । ४० लाख जनसंख्या भएको ठाउँमा क्वारेन्टाइन निकै कम छन् । कन्ट्याक्ट ट्रेसिङ्ग, परीक्षण र परीक्षणको रिपोर्ट आउने समय यति लामो छ कि जसबाट संक्रमित तथा संक्रमितको सम्पर्कमा आएका व्यक्तिले धेरै जनालाई संक्रमण विस्तार गर्न सक्छन ।

काठमाडौं उपत्यकाको समुदायमा पिसिआर परीक्षण गर्न सरकार तत्पर देखिएको छैन । बिज्ञहरुको आवाज सुनिएको छैन । सिमित खानपिनप्रेमि कर्मचारी, भ्रष्ट्राचार तथा कमिसन खानुलाई जीवनको लक्ष्य मान्ने अनैतिक व्यक्तिहरु तथा पकेटका मान्छेलाई सर्वज्ञाता बनाएर जनस्वास्थ्यमाथि खेलवाड गरिएको छ ।

हामी नागरिकले पनि असल नागरिक हुनुको दायित्व पुरा गरेका छैनौं । अत्यावश्यक काम बाहेक घरमै बस्ने, बाहिर निस्कँदा सहि तरिकाले मास्क लगाउने, व्यक्तिगत दुरी कायम गर्ने, भीडभाडमा नजाने, हरेक व्यक्तिलाई संक्रमितको नजरले हेरेर सतर्क हुने, कार्यस्थललाई संक्रमणरहित बनाउने, नियमित हात धुने/स्यानिटाइज्ड गर्ने, घरमा आउँदा बाहिर लगाएका कपडा तथा सामग्री बाहिर राख्ने अनि नुहाएर घरभित्र पस्ने तथा घरभित्र पनि जोखिम बर्गका मान्य व्यक्तिसँग दुरी कायम गर्ने लगायतका उपायलाई जीवनशैलीको रुपमा अबलम्बन गर्नु जरुरी छ ।

कोरोना संक्रमण हावाबाट पनि सर्छ भनेर ३२ देशका २३९ जना बैज्ञानिकले WHO लाई आफ्नो धारणा बनाउन दवाव दिइरहेका छन् । बन्द कोठा तथा हल, जहाँ कन्सर्ट गरिन्छ, चिच्याएर गाउने तथा हुटिङ्ग गर्ने गरिन्छ, त्यस्तो ठाउँमा धेरैजना संक्रमितले मुख तथा नाकबाट भाइरस उत्सर्जन गर्दछन् । गह्रौं छिटा सतहमा खस्छन भने साना र हल्का छिटा त्यहाँ रहेको हावामा तैरिन्छन् । हावामा झुण्डिएका ती कणहरु सास लिँदा हाम्रो शरीरमा प्रवेश गर्दछन । यसरी संक्रमण फैलिन्छ भन्ने अवधारणा हामीले पनि ख्याल गर्नु जरुरी छ ।

हाम्रो देशमा संक्रमित तथा मृतकको उमेर अन्य देशको तथ्यांकसँग मेल खाँदैन । तसर्थ हरेक उमेर र बर्गका व्यक्तिहरु यो अदृश्य सत्रुसँग लड्नको लागि सरकारको बाटो मात्र हेर्नु हुँदैन । अबका २ महिना हामी नागरिक सेल्फ लकडाउनमा बस्न सक्यौं भने कोरोना संक्रमणको मुख्य छालबाट बच्न सक्छौं । यो ६ महिना हामी बच्न सफल भयौं भने अबका २ महिना आफुलाई सुरक्षित राख्नु सबैभन्दा ठूलो प्राप्ति हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *