के प्रशस्त ताताेपानी पिउँदैमा नष्ट हुन्छ कोरोना ? यस्तो भन्छ विज्ञान

काेराेना भाइरस (काेभिड १९) विश्वभर फैलिसकेकाे छ । पछिल्लो डाटा हेर्ने हो भने आजसम्म कोरोना भाइरस संक्रमणबाट विश्वभर ५ लाख ३६ हजार ७७६ जनाले ज्यान गुमाएका छन् भने संक्रमितको संख्या १ करोड १५ लाख ५६ हजार ६८१ छ ।

संक्रमितकाे संख्या दिनहुँ बढिरहँदा अहिलेसम्म यसको कुनै उपचार विधि पत्ता लाग्न सकेको छैन । यस्तो अवस्थामा मानिसहरुले विभिन्न प्रकारको स्वास्थ्य सम्बन्धि जानकारी दिने गरेका छन् ती मध्ये कुनै बेकारका छन्, कति हानी रहित छन् त कति त खतरनाक समेत छन् । बीबीसीले अनलाइनमा सार्वजनिक भएका त्यस्ता थुप्रै दाबीमाथि अनुसन्धान गरेर विज्ञानले के भन्छ, त्यसको खोजी गरेको छ ।

लसुन

फेसबुकमा धेरै मानिसहरुले लसुन खाए संक्रमणबाट बच्न सकिन्छ भनेर दाबीसहितको पोष्ट सेयर गरिरहेको देख्न सकिन्छ ।विश्व स्वास्थ्य संगठनका अनुसार लसुन स्वस्थकर हो र यसमा एन्टिब्याक्टेरियल तत्व त हुन्छ तर लसुन खाँदा नयाँ कोरोना भाइरसबाट बच्न सकिन्छ भनेर कुनै तथ्य फेला परेको छैन । यद्यपि, यस्ता स्वास्थ्य सल्लाहले थुपै्र अवस्थामा हानी त गर्दैन तर कतिपय अवस्थामा यसले स्वास्थ्यमा नकारात्मक असर पुर्याउँछ ।

साउथ चाइना मर्निङ पोष्टले बताए अनुसार एक महिलाले साढे एक किलो काँचो लसुन खाँदा अत्यधिक घाँटी सुन्निएको थियो जसका कारण उनलाई अस्पताल नै पुर्याउनु परेको थियो । हामी सबैलाई थाहा छ, फलफूल र सागसब्जी खानु, पर्याप्त मात्रामा पानी पिउनु स्वस्थ रहने एउटा उपाय हो । तर कुनै निश्चित खानाले यो भाइरससँग लड्न सहयोग गर्छ भन्ने कुरा गलत हो ।

घरमा बनाइएका ह्यान्ड स्यानिटाइजर

कोरोना भाइरसको संक्रमण रोक्न सकेसम्म धेरैभन्दा धेरै हात धुन र हात धुन नसक्ने अवस्थामा ह्यान्ड स्यानिटाइजरको प्रयोग गर्न सुझाएपछि एकाएक ह्यान्ड स्यानिटाइजरको हाहाकार हुन थाल्यो । नेपालमा मात्रै नभई विश्वव्यापी रुपमा ।

तसर्थ, सोसल मिडियामा थुप्रैले ह्यान्ड स्यानिटाइजर घरमै बनाउन विभिन्न विधि सिकाए । तर सोसल मिडियामा सिकाइएका यस्ता विधि हाम्रो छालाका लागि उपयुक्त नभई सतहको सरसफाई गर्दा चाहिँ प्रयोग गर्दा राम्रो हुने बताइएको छ ।

६०–७० प्रतिशत ‘अल्कोहल’ मिसाइएका ह्यान्ड स्यानिटाइजरमा इमोलियन्ट्स भन्ने तत्व हुन्छ जसले छालालाई नरम बनाउने गर्छ । लण्डन स्कूल अफ हाइजिन एण्ड ट्रपिकल मिडिसिनकी प्राध्यापक स्याली ब्लूमफिल्डले घरमा नै प्रभावकारी ह्यान्ड स्यानिटाइजर बनाउन सकिने कुरामा संदेह व्यक्त गर्छिन् किनभने भोड्कामा पनि ४० प्रतिशत मात्रै ‘अल्कोहल’ हुन्छ ।

प्रत्येक १५ मिनेटको फरकमा पानी पिइराख्ने

जापानी डाक्टरलाई उद्धृत गर्दै लेखिएको एउटा वाक्य निकै सेयर गरिएको छ जसमा भनिएको छ, ‘मुखभित्र पसेका कुनै पनि भाइरसलाई बाहिर निकाल्नका लागि प्रत्येक १५ मिनेटको फरकमा पानी पिउनुपर्छ ।’ यसको अरेबिक भर्सनलाई करिब २ लाख ५० हजार पटक सेयर गरिएको छ ।

युनिभर्सिटी अफ अक्सफोर्डका प्राध्यापक ट्रुडी लाङ्गले मुखभित्र भएको भाइरसलाई पेटसम्म पुर्याएर मार्न सक्ने त्यस्तो कुनै जैविक संयन्त्र नभएको बताएका छन् । कोरोना भाइरसको संक्रमण तपाईंले सास फेर्दा श्वासप्रणालीमार्फत् शरीरभित्र प्रवेश गर्छ । केही तपाईंको मुखभित्र पनि जान सक्छन् तर तारन्तार पानी पिउँदा भाइरसको संक्रमणबाट भने जोगिन सकिन्नँ ।

यद्यपि, लगातार पानी पिउनु राम्रो स्वास्थ्यका लागि अत्यावश्यक छ ।

तातो भएर बस्नु र आइक्रिस नखानु

तातोले भाइरस मार्छ भनेर धेरैले भन्ने गरेका छन् । कतिले यसका लागि तातो पानी पिउन, तातो पानीले नुहाउन र हेयर ड्रायरको प्रयोग गर्न भनिरहेका छन् । युनिसेफको नाम प्रयोग गरेर एउटा पोष्ट लेखिएको छ जसमा तातो पानी र घामको सम्पर्कमा आउँदा भाइरस मर्ने दाबी गरिएको छ । यसमा आइक्रिस खानबाट बच्नुपर्ने सल्लाह पनि दिइएको छ ।

युनिसेफमा कार्यरत चार्लोट गोर्नित्ज्काले कोरोना भाइरसबारेको भ्रममा प्रतिक्रिया दिँदै भनिन्, ‘युनिसेफको नाम राखेर एउटा गल्तीपूर्ण अनलाइन मेसेज जसमा आइसक्रिम र अन्य चिसो खानेकुरा नखाँदा कोरोना भाइरसबाट जोगिन सकिन्छ भनिएको छ, यो पूर्ण रुपमा असत्य हो ।’

हामीलाई थाहा छ कि फ्लूको भाइरस गर्मीयाममा शरीर बाहिर राम्रोसँग बाँच्न सक्दैन तर तातोले नयाँ कोरोना भाइरसलाई कसरी प्रभाव पार्छ भनेर हामीलाई अझैसम्म थाहा हुन सकेको छैन । जब भाइरस तपाईंको शरीर भित्र प्रवेश गर्छ तब न त तातो पानी, न घामले यसलाई नष्ट गर्न सक्ने प्राध्यापक ब्लूमफिल्डले जानकारी दिए ।

शरीर बाहिर भएका भाइरसलाई मार्नका लागि ६० डिग्री सेल्सियस तापक्रमको आवश्यकता पर्ने प्राध्यापक ब्लूमफिल्डले बताए । ६० डिग्री सेल्सियसमा त कोही पनि नुहाउन सक्दैन । तर तन्ना र तौलियालाई ६० डिग्री सेन्टिग्रेट तापक्रममा धुनु राम्रो सल्लाह हो किनभने यसले कपडामा भएको भाइरसलाई भने नष्ट गर्छ । तर यो तापक्रममा छाला सफा गर्नु भनेको असम्भव हो।

तातो पानीमा नुहाउनु र तातो सुपहरु खाँदा यसले तपाईंको शरीरको वास्तविक तापक्रम परिवर्तन गर्दैन । एजेन्सी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *