वैदेशिक रोजगार बोर्डकाे सदस्यमा २ व्यवसायी नियुक्त

काठमाडौं । वैदेशिक रोजगार बोर्डको सदस्यमा दुई व्यवसायी नियुक्त भएका छन् ।
वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष तथा एसओएस म्यानपावर सर्भिसका सञ्चालक हेमराज गुरुङ र नेपाली स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष कैलाश खड्का वैदेशिक रोजगार बोर्डको सदस्यमा नियुक्त भएका हुन् ।
श्रम, रोजगार तथा समाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले आइतबार व्यवसायी गुरुङ र खड्कालाई विज्ञका रूपमा बोर्डमा २ वर्षका लागि मनोनित गरेका हुन् । नियुक्ति पाएका खड्का पटक-पटक विवादमा मुछिएका छन् । केही समयअघि मलेसिया जाने कामदारमाथि आर्थिक भार पारी ठगी गरेको आरोप समेत लागेको थियो ।
व्यवसायी खड्कालाई दुई वर्ष पहिले तत्कालीन श्रममन्त्री गोकर्ण विष्टले भ्रष्टचार मुद्दा लगाएका थिए । आरोप लगाएका मध्ये अन्य व्यक्तिहरु पक्राउ परे पनि खड्का फरार सूचीमा थिए । आरोप पुष्टि हुन नसकेपछि अन्य आरोपितहरुले अदालतबाट सफाइ पाइसकेका छन्।








