इच्छाकामनाका चेपाङलाई आत्मनिर्भर बनाइँदै

चितवन । चितवनको इच्छाकामना गाउँपालिका १ का स्थानीयको आय-आर्जनका लागि फलफुल र घाँसको बीउ वितरण गरिएको छ । सौराहास्थित सपना भिलेज सोसियल इम्प्याक्टले इच्छाकामना गाउँपालिका र फेमी फाउण्डेसनको सहयोगमा विभिन्न प्रजातिका फलफुलका विरुवा र घाँसको बीउ वितरण गरेको हो ।

यहाँका स्थानीयको आय-आर्जनका लागि फलफुलको उत्पादनबाट आम्दानीको श्रोत बनाउने योजना रहेको छ । इच्छाकामना १ मा चेपाङ समुदायको बाहुल्यता छ, जुन समुदायलाई सिमान्तकृत समुदायको रुपमा समेत लिइन्छ । भौगोलिक विकटताका कारण शिक्षा, स्वास्थ्य लगायत क्षेत्रमा यो समुदायको पहुँच कमै मात्रामा हुने गरेको छ ।

उनीहरुको जिविकोपार्जनका लागि सपना भिलेज सोसियल इम्प्याक्टले परियोजना नै संचालन गरेर काम गरिरहेको इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीले बताए । ‘सबै क्षेत्रमा यहाँका समुदायको पौंच प्राय कम छ । शिक्षा, स्वास्थ्यसँगै जिविकोपार्जनमा परियोजनाले मद्दत पुर्याउँछ’, इम्प्याक्टका अध्यक्ष गिरीले भने ।

परियोजना अन्तर्गत नै यहाँका किसानलाई व्यवसायिक खेतीतर्फ उन्मुख गराउन सुन्तला र कागती तथा घाँसको बीउ वितरण गरिएको परियोजना संयोजक अनिल अर्यालले बताए । वडा नम्वर १ को हात्तिवाङमा अर्याल र चौकी डाँडामा सपना भिलेज सोसियल इम्प्याक्टका कार्यक्रम निर्देशक सुजन बस्नेतको नेतृत्वमा फलफुल र घाँसको बीउ वितरण गरिएको थियो ।

दुई ठाउँबाट ३ हजार बाेट सुन्तला, ३ हजार ५ सय बोट कागती र ३ हजार बोट घाँसको बीउ वितरण गरिएको परियोजना संयोजक अर्यालले बताए । फलफुलका विरुवा प्राप्त गर्नेहरुले पहिलो पटक व्यवसायिक रुपमा खेती गर्न लागेका हुन् । ६५ जनालाई फलफुल र एक सय जनालाई घाँसको बीउ वितरण गरिएको थियो ।

हात्तीवाङलाई एक कार्यक्रमका बीच वडा सदस्य अन्जु चेपाङको प्रमुख आतिथ्यतामा फलफुलका बीउ वितरण गरिएको हो । सो अवसरमा इच्छाकामना गाउँपालिकाका कृषि शाखा प्रमुख आनन्दराज घिमिरेले फलफुल र घाँसको बीउ रोप्ने तरिका, रोगबाट बचाउने उपायका बारे जानकारी गराएका थिए ।

सपना भिलेज सोसियल इम्प्याक्टले गत माघ महिनामा इच्छाकामना गाउँपालिका १ मा ‘सबै यात्राको सुरुवात एक सपनाबाट हुन्छ’ नामक परियोजना सुरु गरेको हो । यो परियोजना मार्फत शिक्षा, स्वास्थ्य, सरसफाई, वातावरण संरक्षण, आय-आर्जनमा प्रतिस्पर्धात्मक मोडल मार्फत उत्कृष्ट हुनेहरुलाई पुरस्कृत गरि उनीहरुको जीवनमा परिवर्तन ल्याउने उद्देश्य रहेको इम्प्याक्टका कार्यक्रम निर्देशक बस्नेतले बताए ।

सोसियल इम्प्याक्टले यस्तो खालको परियोजना कालिका नगरपालिका १० र ११ मा सम्पन्न गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 15 =