उपत्यकामा संक्रमण समुदायमा प्रवेश, ढलमा समेत देखियो कोरोना

काठमाडौं । केहीदिन अघि काठमाडौँकी एक गर्भवती महिला शल्यक्रिया गर्न अस्पतालमा गइन् । घरबाट कहीँकतै नगएकी उनीमा कोरोना सङ्क्रमण देखियो । परिवार बाहेक कसैको सम्पर्कमा नगएका व्यक्तिमा कोरोना पोजेटिभ देखिनुले उपत्यकाको समुदायमा पनि सङ्क्रमण पुगेको पुष्टी हुन्छ । उपत्यकामा यसरी स्थानीयमा देखिन थालेको करिब एक हप्ता मात्रै भएको जनाइएको छ ।

कसरी आफूमा देखियो भनेर सङ्क्रमित व्यक्तिले पनि अनुमान लगाउन सकेका छैनन् । परिवारमा नदेखिँदा उनीमा कसरी भयो भन्ने खोज्न अहिले स्वास्थ मन्त्रालयको एक समूह लागेको छ । परिवारमा पनि सङ्क्रमण नभएको, विदेश पनि नगएको, विदेश गएका व्यक्तिको सम्पर्कमा पनि नपुगेको व्यक्तिमा सङ्क्रमण देखिनुले अब उपत्यका थप जोखिममा छ भनेर सहजै अनुमान लगाउन सकिन्छ ।

‘पछिल्लो एक हप्तामा उपत्यकामा त्यस्ता केसहरु देखिन थाले, कहीँ पनि नगएको व्यक्तिमा कोरोना सङ्क्रमण देखियो, हामी कन्ट्रयाक ट्रेसिङ गरिरहेका छौँ’, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले भने, ‘यस्तो कसरी भयो भन्ने यकिन गर्दैछौँ ।’ ‘त्यस्ता व्यक्तिमा कि कुनै अस्पतालमा जँचाउन जाँदा स-यो कि तरकारी वा केही चिज किन्न जाँदा हुनसक्छ या त भीडभाडमा पुग्दा सङ्क्रमण भएको हो’, डा.गौतमले अनुमान गर्दै भने ।

भारतीय सीमा जोडिएको जिल्ला र भारतबाट आएका नेपाली बसोबास गरेको क्षेत्रमा बढी कोरोना सङ्क्रमित फेला पर्दै आएकोमा त्यो क्रम विस्तारै उपत्यकामा सरेको तथ्याङ्कले देखाएको छ । विगतमा उपत्यकाका तीन जिल्लामा विदेशबाट आएका नेपालीमा मात्रै सङ्क्रमण देखिँदै आएकोमा अहिले स्थानीय समुदायमा समेत देखिन थालेको हो । थप सतर्कता नअपनाए उपत्यकामा सङ्क्रमण जोखिम बढ्ने चिकित्सकको भनाइ छ ।

सरकारले उपत्यका प्रवेशमा कडाइ गरे पनि लुकीलुकी भित्रिने क्रम रोकिएको छैन । त्यहाँबाट पनि सङ्क्रमित व्यक्ति प्रवेश गर्ने सम्भावना छ । नाकामा अझै कडाइ आवश्यक रहेको र भौतिक दूरी कायम गरी स्वास्थ्य मापदण्ड अप्नाएर काम गर्न जरुरी रहेको नेपाल चिकत्सक सङ्घका उपाध्यक्ष डा.अनिल कार्कीले बताए ।

काठमाडौंका तीनकुने, शंखमुल, कपन, टोखा, ललितपुरका खुसिबु, नख्खु र भक्तपुरका केही स्थानमा समुदायमै गएर अनुसन्धान गर्नुपर्ने अवस्था देखिएको छ । काठमाडौंमा १ सय ९, भक्तपुरमा २८ र ललितपुरमा १७ जना संक्रमित छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार उपत्यकामा देखिएकामध्ये ८० प्रतिशत बाहिरबाट आएका र २० प्रतिशत स्थानीय तथा कोठा भाडा बसेकाहरु छन् । मुलुकमा पहिलो सङ्क्रमण काठमाडौँ मै गरिएको परीक्षणका क्रममा चीनको उहानबाट आएका नेपालीमा देखिएको थियो । दोस्रो र तेस्रो सङ्क्रमण पनि बाहिरबाट आएका नेपालीमा देखिएको थियो ।

विगतमा काठमाडौँमा देखिएका सङ्क्रमित सबै विदेशबाट आएका नेपाली मात्रै थिए । तर अहले काठमाडौँ कै रैथाने र कोठा भाडामा लिएर बसेकामा पनि देखिन थालेकाले थप सतर्कता आवश्यक देखिएको छ । मन्त्रालयका प्रवक्ता डा गौतमले उपत्यकामा नसोचेको व्यक्तिमा सङ्क्रमण देखिएकाले कन्ट्रयाक ट्रेसिङको काम थालिएको बताए । ‘हरेक मान्छे पोजेटिभ छ भनेर हामीले सोच्नुपर्छ, तब नियन्त्रण गर्न सकिन्छ, सतर्कता अपनाउन आग्रह गर्दै भने- ‘हामी होसियार भएनौ भने उपत्यका जोखिममा छ ।’

एक अध्ययन प्रतिवेदनअनुसार उपत्यकामा अहिले ७० प्रतिशतले मात्रै मास्क प्रयोग गर्ने गरेका छन् । तीस प्रतिशतले अझै लापरवाही गरिरहेका छन् । पहिलो त अनिवार्य मास्क लगाउने, त्यसपछि राम्ररी हात धुने, सेनिटाइजर प्रयोग गर्ने, जोरजुलुस नगर्ने र गरेका ठाउँमा नजाने, दुई मिटरको भौतिक दूरी कायम गर्ने, भीडभाडमा नजाने गर्दा सङ्क्रमण हुनबाट बच्न सकिन्छ ।

इटाली र स्पेनमा भएको लापरबाहीबाट हामीले पाठ सिक्नुपर्ने चिकित्सकको सुझाव छ । एक अध्ययनले अमेरिकामा राम्ररी मास्क लगाएको भए ३० हजार मानिसको ज्यान जोगाउन सकिने थियो । त्यसैले शत प्रतिशत मानिसले मास्क लगाउनैपर्छ डा.गौतमले भने । उनका अनुसार अब क्वारेन्टिनमा रहेका व्यक्तिहरुको सङ्ख्या घट्दै गएकाले त्यो सकिएपछि एक चरणमा सङ्क्रमण दर न्यून देखिने र त्यसपछि समुदायस्तरमा देखिन सक्छ । अहिलेदेखि नै सावधानी अपनाउन सके समुदायमा हुने नियन्त्रण गर्न कठिन हुँदैन । लापरबाही गर्दा भयावह हुनसक्छ ।

सरकारले सङ्क्रमण पहिचान गरेर बेलैमा सङ्क्रमण रोक्न परीक्षणको दायरा बढाउँदै लगेको पनि छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा.रुना झाका अनुसार क्वारेन्टिनमा चाप बढी हुँदा हाल प्रयोगशालाको क्षमताभन्दा धेरै नमूना सङ्कलन हुन थालेकाले निजी क्षेत्रलाई पनि परीक्षण गर्न दिएर दायरा बढाउन थालिएको हो ।

मुलुकमा औसत दैनिक चारदेखि ६ हजारको हाराहारीमा परीक्षण हुँदै आएको छ । उपत्यकामा मात्रै दुई हजारदेखि दुई हजार ५०० सम्मको परीक्षण हुन्छ । चैत ११ गतेदेखि मुलुकमा बन्दाबन्दीको आदेश जारी गरिएकोमा अहिले त्यसको स्वरुप परिवर्तन गरी केही खुकुलो गरिएको छ । खुकुलो हुँदा लापरवाही गर्न नहुने जनस्वास्थ्य विज्ञको भनाइ छ ।

काठमाडौंको ढलमा देखियो कोरोना भाइरस
सेन्टर फर मोलिक्युलर डायनामिन नेपालले राजधानीको ४ वटा ढलको नमुना लिएर परीक्षण गर्दा दुईवटा नमुनामा कोरोना भाइरस देखिएको जनाएको छ । यो अनुसन्धानले संक्रमित व्यक्तिको दिसामा कोरोनाको भाइरस देखिन्छ ।

यो परीक्षणको अनुसन्धानकर्ता डा.दिवेश कर्माचार्यका अनुसार घना मानवबस्ती भएको ठाउँको ढलबाट नमुना संकलन गरिएको थियो । नमुना संकलन गरिएको हरेक ढलमा १०० देखि ५०० घरको ढल मिसिने गरेको थियो । नमुना संकलन गरिएको ढलबीच खास दूरीसमेत कायम गरिएको थियो ।

‘हामीले ४ मध्ये दुईवटा ढलको नमुनामा ‘कोभिड-१९’ संक्रमण उत्पन्न गर्ने भाइरस पायौं,’ डा.कर्माचार्यले भने, ‘उक्त दुवै नमुनामा चीनको वुहानमा पाइएको प्रजातिकै भाइरस पाइयो ।’ अनुसन्धानकर्ताहरूले यसको सूचना स्वास्थ्य मन्त्रालय र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लाई समेत दिएका छन् । –राससको सहयोगमा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − fifteen =