टिकटकबाटै ८० हजार बढिको कमाई, मानव सेवा आश्रमलाई सहयोग

काठमाडौँ । सामाजिक सञ्जालहरू फेसबुक, ट्विटर, टिकटक, युट्युव आदिका प्रयोगकर्ताको सङ्ख्या दिनप्रतिदिन बढ्दो छ । जसरी सामाजिक सञ्जाल प्रयोगकर्ता बढिरहेका छन् । त्यसरी नै सामाजिक वा पारिवारिक विकृति पनि बढिरहेका छन् । यसकै माध्यमबाट ठूलाठूला अपराध पनि भइरहेका छन् । तर के सामाजिक सञ्जाल खराब प्रयोजन वा गलत काम गर्नका लागि मात्रै हो त ? के यसको माध्यमबाट राम्रा काम हुँदैनन् र भएका छैनन् ? यी प्रश्न पनि मनन गर्न आवश्यक छ ।

सामाजिक सञ्जालहरूलाई कतिपयले मनोरञ्जनका लागि प्रयोग गर्ने गरेको पाइन्छ । कतिपयले व्यापार, व्यवसाय विस्तार गर्ने माध्यम, साथीभाइ भेटघाट गर्ने माध्यम, सिक्ने वा सिकाउने माध्यम, जीवनशैली परिवर्तन गर्ने माध्यम, करियर विकास गर्ने माध्यम वा समाज सेवाको माध्यम पनि बनाएको पाइन्छ । कसैले च्यारिटीको रूपमा सामाजिक सञ्जाललाई प्रयोग गरेर हजारौँ मानिसको दुःखमा मल्हम लगाउने काम पनि गरेका छन् । यो भनेको आ–आफ्नो रुची र क्षमताको कुरा पनि हो ।

पछिल्लो समय सामाजिक सञ्जाल टिकटक निक्कै चर्चित बनिरहेको छ । टिकटककै माध्यमबाट धेरै प्रयोगकर्ताहरू अभिनय क्षेत्रमा प्रवेश गरिसकेका छन् भने धेरै जना सेलिब्रेटी पनि बनेका छन् । त्यसै गरी कतिपयले लाखौँ रुपैयाँसम्म टिकटकबाटै कमाएका उदाहरण पनि छन् । यिनै मध्येका एक टिकटक प्रयोगकर्ता हुन् ‘श्रीराम पौडेल’ ।

श्रीराम पौडेल पेसाले शैक्षिक व्यवसायी हुन् । उनी पनि टिकटकलाई मनोरञ्जनको साधन मान्थे । लकडाउन सुरु हुनु अघिसम्म पनि उनको त्यहीँ धारणा थियो । लकडाउनमा फुर्सदिलो भएर घरमा बस्दा उनले मनोरञ्जनकै लागि टिकटक खाताखोले । त्यहाँ अरूले जसोजसो गर्छन् उनले पनि त्यसै त्यसै गर्दै छोटा र रमाइला भिडियो राख्न थाले । उनको टिकटक चलाउनुको एक मात्रै उद्देश्य मनोरञ्जन लिनु र दिनु मात्रै थियो ।

तर जब चलाउँदै गए उनले त्यसैमा अनेकौँ सम्भावना देखे । टिकटक मनोरञ्जनको लागि मात्रै होइन रहेछ भन्ने बुझे । उनी भन्छन्, ‘टिकटकमा अनेकौँ सम्भावना हुँदा रहेछन् । एउटा त साथीभाइहरूसँग जोडिन, कुराकानी गर्न, रमाइलो गर्न पाइयो । अर्को कुरा आफ्नो व्यवसाय वा व्यक्तित्व विकास गर्न पनि पाइयो । तेस्रो कुरा, आर्थिक आम्दानी पनि गर्न पाइयो ।’ हो यिनै तीन कुरा देखेपछि अहिले टिकटकका एक्टिभ युजर बनेका छन् पौडेल ।

उनले टिकटक खाता खोलेको लगभग चार महिना मात्रै हुँदै छ । तर यो अवधिमा उनका करिब साढे अठार लाख फलोअर भइसकेका छन् । त्यति मात्रै होइन उनले यसबाटै असी हजार भन्दा बढी नगद आम्दानी पनि गरिसकेका छन् ।

टिकटकबाट आम्दानी पनि हुन थालेपछि उनले अर्को फरक सोच बनाए त्यो हो, ‘टिकटकको कमाई सामाजिक सेवामा लगाउने’ । उनले भने, ‘टिकटकबाट जति आम्दानी हुन्छ त्यो रकम गरिब, दुःखी र पीडितको घाउमा मल्हम लगाउन प्रयोग गर्छु ।’ टिकटकबाट पनि त्यत्तिकै कमाई हुने होइन । यसमा समय, क्रिएटिभिटी र प्राविधिक ज्ञान पनि खर्चिनु पर्ने हुन्छ ।

यो लगानीबाट आम्दानी भएको रकम उनले व्यक्तिगत प्रयोगको लागि नभई सामाजिक सेवाको लागि खर्च गर्ने अर्को आदर्श भाव प्रस्तुत गरे । जसको फलस्वरूप उनले पहिलो पटक आम्दानी गरेको करिब ७५ हजार रुपैयाँ बराबरको खाद्यान्न सामाखुसी स्थित मानव सेवा आश्रमलाई सहयोग गरे ।

पौडेलले शनिवार बिहान मानव सेवा आश्रममा पुगेर आफ्नै हातले ती खाद्यसामग्रीहरु हस्तान्तरण गरे । उनले चामल, दाल, तेल, मरमसला, चिउरा, सोयाविनलगायतका खाद्यसामग्रीहरु आश्रमलाई दिए ।

उनले दिएको खाद्यान्नले आश्रमका ४१ जना आश्रितलाई एक महिना पुग्ने आश्रमका सञ्चालन सहयोगी सानु गुरुङले बताए । आश्रम सहयोगी दाताहरूकै सेवाभावले चलेको छ । पौडेलजस्तै दाताहरूले दिएको सहयोगले यहाँका आश्रितहरूको गुजारा चलिरहेको छ । अन्यदाताहरुसँग पनि आश्रम सञ्चालक यस्तै सहयोग र सद्भावको अपेक्षा गर्छन् ।

उनले यसअघि पनि सेवाभावको काम नगरेका भने होइनन् । बालाजु जेसिजका संस्थापक अध्यक्ष साथै नेपाल जेसीजका पूर्व महासचिवसमेत रहेका उनले विभिन्न सङ्घ, संस्थामा आबद्ध रहेर वा नरहेर पनि पटक पटक सहयोग गर्दै आएका छन् । तर जति यसअघि सहयोग गरे त्यो भन्दा अहिलेको सहयोग विशेष र महत्त्वपूर्ण लागेको उनी बताउँछन् । उनले भने, ‘मनोरञ्जनका लागि सुरु गरेको टिकटकबाट असहायको सहयोग गर्न पाउँदा निक्कै खुसी लागेको छ ।’

सामाजिक सञ्जाललाई विकृतिको रूपमा मात्रै बुझ्न नहुने र गलत प्रयोग गर्न नहुने उनको सुझाव छ । ‘जीवनशैली परिवर्तन, व्यक्तित्व विकास, करियर डेभलपमेन्ट र समाज परिवर्तनको माध्यमको रूपमा सामाजिक सञ्जाललाई प्रयोग गर्नुपर्छ’, उनी भन्छन् ‘गलत प्रयोगले न तपाईँलाई फाइदा पुग्छ न त समाजलाई ।’ सामाजिक सञ्जाललाई गलत रूपमा प्रयोग नगर्न र सकिन्छ भने समाज सेवाको माध्यमको रूपमा प्रयोग गर्न उनी सुझाव पनि दिन्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + five =