खैरहनीमा विस्तार गरिँदै बाख्रापालन, पकेट प्याकेज कार्यक्रमको अनुगमन

चितवन । विपन्न समुदायको आयआर्जन वृद्धीका लागि खैरहनी नगरपालिकाले संचालन गरेको बाख्रा पकेट प्याकेज कार्यक्रमको अनुगमन गरिएको छ । नगरपालिकाले विगत तीन वर्षदेखि यो कार्यक्रम संचालन गरिरहेको छ ।

चालु आर्थिक वर्षमा नगरपालिकाको वडा नम्वर १ नयाँ वस्ती, खैरहनी ३ को सिद्धीपुर र खैरहनी ४ को लेकसाईडमा बाख्रा पकेट प्याकेज सञ्चालन गरेको छ । सोही तीन क्षेत्रमा संचालित कार्यक्रमको शुक्रबार नगर प्रमुख लालमणि चौधरीको नेतृत्वमा अनुगमन गरिएको थियो ।

नगरपालिकाको पशु सेवा शाखाले विपन्न समुदायका २० परिवारको एक एक समुह बनाएर कार्यक्रम संचालन गरेको छ । यो कार्यक्रममा प्रति परिवार बाख्रा खरिदका लागि ८ हजार रुपैयाँ र गोठ निर्माणका लागि ४ हजार रुपैयाँ अनुदान दिइएको छ । बाख्रा खरिद गर्नुका साथै गोठ निर्माण गरेपछि मात्रै नगरपालिकाले अनुगमन गरेर अनुदान दिने गरेको पशु सेवा शाखा प्रमुख रुद्र कुमार श्रेष्ठले जानकारी दिए ।

अघिल्लो दुई वर्षमा नगरपालिकाले १२० परिवारलाई यो कार्यक्रममा समावेश गरिसकेको छ । चालु आर्थिक वर्षको कार्यक्रमको अनुगमनका क्रममा केही परिवारले गोठ निर्माणमा सुधार गर्नु पर्ने देखिएको पशु सेवा शाखा प्रमुख श्रेष्ठले बताए । खैरहनी नगरपालिका प्रमुख लालमणि चौधरीले बाख्रा पकेट प्याकेज कार्यक्रम संचालन पछि बाख्रापालनतर्फ आकर्षण बढ्नुका साथै आयआर्जनमा समेत टेवा पुग्दै आएको बताए ।

पछिल्लो तीन वर्षमा १०/१० लाखका दरले यो कार्यक्रमलाई बजेट विनियोजन गरिँदै आएको छ । आगामी आर्थिक वर्षमा पनि यो कार्यक्रमलाई निरन्तरता दिइएको र संघीय सरकारले पनि यो कार्यक्रम समावेश गरेको छ । बाख्रा पकेट प्याकेज कार्यक्रमको अनुगमनमा नगरपालिका प्रमुख चौधरीसहित प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्मा, आर्थिक विकास समिति संयोजक एवम् खैरहनी १० का वडाध्यक्ष कारीराम चौधरी, पशु सेवा शाखा प्रमुख रुद्रकुमार श्रेष्ठ लगायत पशु प्राविधिकहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 9 =