हाउस अफिसर र डेन्टल सर्जनको १५ प्रतिशतले तलब बृद्धि

धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका हाउस अफिसर र डेन्टल सर्जनको माग संवोधन भएपनि आन्दोलन स्थगित भएको छ । तलब वृद्धिको माग गर्दै आन्दोलन शुरु गरेका प्रतिष्ठानका हाउस अफिसर र डेन्टल सर्जनहरुको १५ प्रतिशत तलब वृद्धि हुने भएपछि उनीहरुले आन्दोलन स्थगित गरेका हुन् ।
बिहिबार प्रतिष्ठानका पदाधिकारीहरुसँगको वार्तामा चिकित्सकहरुको बेसिक तलब १५ प्रतिशत वृद्धि गर्ने निर्णय भएको हो । हाउस अफिसर र डेन्टल सर्जनहरुको पनि स्टाइपेन्ड वृद्धि हुने भएको छ । २०७६ साउन १ गतेदेखि लागु हुने गरि १५ प्रतिशतले स्टाइपेण्ड वृद्धि गरिएको प्रतिष्ठानले जनाएको छ ।
एमबिबिएस पश्चात प्रशिक्षार्थीकोरुपमा कार्यरत हाउस असिफर तथा डेन्टल सर्जनहरुलाई प्रतिष्ठानले मासिक २९ हजार स्टाइपेण्ड दिने गरेको छ । यता नेपाल सरकारले भने हाउस अफिसरहरुलाई मासिक ४५ हजार तलब तोकेको छ ।
आन्दोलनरत हाउस अफिसरहरुले सरकारले तोके वमोजिम पाउनुपर्ने मागको बिषयमा आगामी सिनेट बैठकमा प्रस्ताव लैजाने सहमति भएको छ ।
प्रतिष्ठानका अस्पताल निर्देशक डा.गौरीशंकर शाहले सुचना जारी गर्दै हाउस अफिसर र डेन्टल सर्जनहरुको १५ प्रतिशतले स्टाइपेण्ड वृद्धि भएको जानकारी दिएका छन् । भने, सरकारले तोके वमोजिमको माग सम्बन्धमा आगामी सिनेट बैठकमा प्रस्ताव लैजान पहल गर्ने भनिएको छ ।








