सलहबारे संसदमा ३ सांसदद्वारा संकल्प प्रस्ताव

काठमाडौं । सलहको बथानलाई नियन्त्रण गर्ने प्रक्रिया अवलम्बन गर्न माग गर्दै ३ सांसदहरुले संसदमा संकल्प प्रस्ताव दर्ता गराएका छन् । सांसदहरू डिला संग्रौला, पद्मनारायण चौधरी र मीना सुब्बाले बिहीबार संकल्प प्रस्ताव दर्ता गराएका हुन् ।
स्थानीय कृषक, प्राविधिक विशेषज्ञ, तीन तहका सरकारका अंगहरू परिचालित भई किरा नष्ट गर्न र खाद्यान्य बाली नालीको क्षति नहुन दिन विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने संकल्प प्रस्तावमा माग गरिएको छ ।
कुनै पनि रोगव्याधि, कीटाणु र किरा–फट्याङ्ग्रा आदिले समेत मानिसलगायत बालीनालीमा पुऱ्याउने असरलाई कुनै एक देशमा देखिनुका साथ पूर्वानुमान हुँदाहुँदै पनि सतर्कता नपनाउँदा ठूलो नोक्सान व्यहोर्नुपरेको अवस्थाबारे ध्यानाकर्षण गराउँदै त्यसतर्फ सरकारलाई सचेत र सजग बनाउन जरुरी रहेकाे संकल्प प्रस्तावमा उल्लेख छ ।
सलहले कृषि क्षेत्रलाई नोक्सान गरेको भन्दै पीडित किसानलाई क्षतिपूर्तिको व्यवस्था गरिनुपर्ने समेत बताइएको छ ।‘सलहको बथानले कृषि बालीमा पुऱ्याएको क्षति एवं कृषकलाई मानसिक र आर्थिक रूपमा पुऱ्याएको नोक्सानीलाई सरकारको तर्फबाट अभिभावकत्व निर्वाह गरी क्षतिपूर्तिसमेतको व्यवस्था गर्नुपर्ने देखिन्छ,’ प्रस्तावमा भनिएको छ ।








