विश्व बैङ्कले तीन देशका लागि नियुक्त गर्‍यो राष्ट्रिय निर्देशक, कार्यालय काठमाडौँमा

काठमाडौँ । विश्व बैङ्कले तीन देशका लागि निर्देशक नियुक्त गरेको छ । नेपाल श्रीलङ्का र मालदिभ्सका लागि अमेरिकी नागरिक फारिस हदाद जर्भोसलाई नयाँ राष्ट्रिय निर्देशकमा नियुक्त गरेको हो ।

विश्व बैङ्कका नेपाल स्थित कार्यालयको जानकारी अनुसार उनको नियुक्ति आजबाट नै लागू भएको छ । काठमाडौँस्थित कार्यालय विश्व बैङ्कको उपक्षेत्रीय कार्यालय हो । उनले विश्व बैङ्कका तर्फबाट मालदिभ्स, नेपाल र श्रीलङ्काको नेतृत्व गर्दै करिब ५ अर्व ५० करोड अमेरिकी डलर बराबरको चालु कार्यक्रमको नेतृत्व गर्ने विश्व बैङ्कले जनाएको छ ।

सन् १९९६ (वि सं २०५२) देखि विश्व बैङ्कसँग आबद्ध रहेका नयाँ राष्ट्रिय निर्देशक जर्भोस यसअघि नेपालका लागि विश्व बैङ्कका राष्ट्रिय प्रबन्धकमा कार्यरत थिए । जर्भोसले यस अघि मलेसिया र बोलिभियामा समेत राष्ट्रिय प्रबन्धकको रूपमा काम गरिसकेका छन् । उनले खाडी सहकार्य राष्ट्रहरूमा प्राविधिक सहकार्य प्रबन्धक, इराकमा मिसन प्रमुख, वेस्ट बैङ्क र गाजा क्षेत्रमा सञ्चालन प्रबन्धकका रूपमासमेत काम गरेका छन् ।

उनले तीन वटै राष्ट्रका सरकार, विकास साझेदार, निजी क्षेत्र र नागरिक समाजसँग मिलेर काम गर्न उत्सुक रहेको प्रतिबद्धता जनाएका छन् ।

यसअघि यी तीन मुलुकका लागि राष्ट्रिय निर्देशकको पदमा आइडा जेड पस्वराई रिद्धीहो थिइन् ।

विश्व बैङ्कले कोभिड १९ आपत्कालीन प्रतिकार्य परियोजना अन्तर्गत मल्दिभ्स, नेपाल र श्रीलङ्काका सरकारलाई कुल ३५ करोड डलरभन्दा बढिको सहयोग गरिरहेको बताएको छ । यसले कोरोना महामारी रोकथाम, पहिचान र प्रतिकार्य गर्न र जनस्वास्थ्य प्रणाली पूर्वतयारीलाई सुदृढ गर्न मद्दत गर्ने विश्व बैङ्कले बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *