के वीपी प्रतिष्ठानसँग बढेको तलब खुवाउने स्रोत छ ?

धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत शिक्षक, चिकित्सक तथा कर्मचारीहरुको पाँच वर्षपछि तलबमा बढाइएको छ । दुई महिना अघि उपकुलपति भएर प्रतिष्ठान गएका प्रा.डा. ज्ञानेन्द्र गिरीले प्रतिष्ठानका चिकित्सक, शिक्षक कर्मचारीहरुको १५ देखि २० प्रतिशतसम्म तलबमान बृद्धि गरेका हुन् ।

भ्रष्टाचार, कूशासन र अनियमितताको चक्रब्यूहमा वर्षौंदेखि गाँजिएको प्रतिष्ठानलाई उकास्न आएका उपकुलपतिले शिक्षक, चिकित्सक तथा कर्मचारीहरुको माग त सुने तर के दिन प्रतिदिन प्रतिष्ठानको आम्दानी घट्तै गइरहेको अवस्थामा गत वर्षदेखि नै लागू हुने गरी बढाइएको तलबमान भुक्तानी गर्न सक्ला ? प्रश्न उठिरहेको छ ।

कोरोना संक्रमणले प्रतिष्ठानको स्वास्थ्य सेवा २५ प्रतिशत पनि चलेको छैन । सरकारले दिने अनुदान तथा बजेटले कर्मचारीलाई तलब भत्ता दिन सक्ने परिस्थिति छैन । प्रतिष्ठानमै करिब ६ सय अर्बका चालू परियोजना (एमसिएच, अंकोलोजी, कार्डियोलोजी) भवन निर्माण गर्नुपर्ने चुनौति छ । त्यसमाथि प्रतिष्ठानले वार्षिक डेढ करोड बढिको त निःशुल्क स्वास्थ्य सेवा चलाउनु पर्दछ ।

चिकित्सा शिक्षा तर्फ प्रतिष्ठानले नेपाली विद्यार्थीलाई स्कलरसिपमा पढाउनु पर्छनै विदेशी विद्यार्थीको सिट संख्या समयत कटौती गरीदिएको अवस्था छ । आम्दानीका स्रोतहरु दिनदिनै खुम्चँदै गएको चुनौतिलाई सामना गर्दै उपकुलपतिले चिकित्सक कर्मचारीहरुको मागलाई संवोधन त गरे तर, भोलीका दिनमा कार्यान्वयन हुने नहुनेमा चैं शंका उब्जिएको चिकित्सक, कर्मचारीहरुका संगठन र नेताहरुको आशंका छ ।

‘नेपाल सरकारले वर्षेनी कर्मचारीहरुको तलब सुविधा बृद्धि गर्दा हामीले पाँच वर्षदेखि तलब सुविधा बृद्धिको माग गरेपनि प्रतिष्ठानले दिएको थिएन । ४३ औं सिनेटले प्रतिष्ठानको आन्तरिक श्रोतबाट अहिलेको तलबमानको २० प्रतिशत तलब बृद्धि गर्न भनेको छ । सोहि आधारमा हामीले पटक-पटक अनुरोध गरेका थियौं, नयाँ उपकुलपतिले त्यसलाई संवोधन गर्नुभएको छ । अब, कसरी दिने, कहाँबाट ल्याउने हामी कर्मचारीले भन्ने कुरा हैन पदाधिकारी र उपकुलपतिको जिम्मेवारी हो ।’ मकालु खबरसँग एक चिकित्सकले भने ।

उपकुलपतिले प्रतिष्ठानका शिक्षक, चिकित्सक तथा कर्मचारीको तह हेरेर १०, १५ र २० प्रतिशत तलब बृद्धि गरेका थिए । त्यसमा शिक्षक कर्मचारीहरुले समानरुपमा तलब बृद्धि गरिनुपर्ने भन्दै हिजो नै उपकुलपतिलाई २४ घण्टे अल्टिमेटम दिएर आन्दोलन थालेकोमा उपकुलपतिले २४ घण्टा नवित्दै १५ र २० प्रतिशत तलब बृद्धि गर्ने भनेका छन् । तलवमानको निर्णय संशोधन भएपछि माथिल्ला तहका शिक्षक तथा चिकित्सकले सकारात्मक लिएपनि उपकुलपतिलाई भने आर्थिक ब्यवस्थापनमा अफ्टेरो भएको छ ।

उनले श्रेणीविहिन कर्मचारीदेखि सहायकस्तरसम्म २० प्रतिशत र अधिकृतदेखि डेपुटी रजिष्ट्रारसम्म १५ प्रतिशत तलबमान वृद्धि गर्ने निर्णय गरेका छन् ।

प्रतिष्ठानको खस्कँदो साख उठाउन र एशियाली स्तरको प्रतिष्ठान बनाउनका लागि आफु आएको बताएका उपकुलपति डा. ज्ञानेन्द्र गिरीको स्वास्थ्यमन्त्री भानुभक्त ढकालसँग राम्रै सम्बन्ध छ । लामो समय सरकारी तथा निजी स्वास्थ्य संस्था चलाएको अनुभव भएका डा. गिरीले सरकारी स्रोत जुटाउन सके तथा प्रतिष्ठानमा हुने भ्रष्टाचार नियन्त्रण गर्न सके प्रतिष्ठान चलाउन समस्या हुदैन । तर, दशकौंदेखि प्रतिष्ठानको मुख्यमुख्य पदमा रहेर ठेकेदार, सप्लायर्ससँग साँठगाँठ गर्नेहरूकाे घेरालाई तोडेर पारदर्शी र मितब्ययी तवरले प्रतिष्ठान चलाउनु चैं उपकुलपतिलाई फलामको चिउरा चपाउनु सरह हुने एक पूर्वपदाधिकारीले भने । ‘उहाँसँग प्रतिष्ठानलाई अगाडी बढाउने स्पष्ट भिजन छ, राजनीतिक पहुँच पनि छ, स्थानीय देखि केन्द्रसम्म मिलाएर लैजाने उनीहरुलाई प्रतिष्ठान प्रति सकारात्मक बनाउन सक्ने क्षमता त छ तर, प्रतिष्ठान भित्रका केही ब्यक्तिहरुबाट चैं बाहिर निस्कनै पर्छ ।’ उनको तर्क छ ।

मितव्ययितता, भ्रष्टाचार नियन्त्रण तथा आम्दानीको स्रोत ब्यवस्थापनमा जोड दिने हो भने प्रतिष्ठानले शिक्षा, स्वास्थ्य र अनुसन्धानका क्षेत्रमा दक्षिण एशियाली क्षेत्रभन्दा माथि गएर काम गर्न सक्ने छ । ‘नयाँ स्वास्थ्य सेवाहरु थप गर्ने, मेडिकल शिक्षामा गुणस्तरीयता बृद्धि गर्ने, अनुसन्धानका क्षेत्रहरुलाई फराकिलो बनाएर जाने हो भने उहाँले पाँच वर्षमा धेरै काम गर्न सक्नुहुन्छ ।’ उनको भनाई छ ।

प्रतिष्ठानको मुख्य समस्या भनेको राजनीतिक खिचातानी र भ्रष्टाचार नै हो । पदाधिकारी नियुक्तिमा होस वा कर्मचारी सरुवा बढुवामा यहाँ चर्को राजनीतिक हस्तक्षेप हुने गर्दछ । त्यसपछि भ्रष्टाचारको कुरा छ । विगतमा केही पदाधिकारी र कर्मचारीहरु नै करोडौंको भ्रष्टाचार र घुस प्रकरणमा मुछिएर अहिलेसम्म अदालत र अख्तियार धाँउँदैछन् ।

५ रुपैंयाँको सिरिञ्ज देखि करोडौं पर्ने स्वास्थ्य उपकरणमा समेत भ्रष्टाचार हुने गरेको उदाहरण छन् । त्यो देखि वाहेक प्रतिष्ठानमा निर्माण हुने भौतिक पूर्वाधारमा पनि चलखेल हुने गरेको विगतमा परिदृश्यले देखाइरहेको अवस्थामा उपकुलपतिले ति सबैलाई नियन्त्रण गरेर अगाडी गए प्रतिष्ठान सञ्चालनमा सहजता आउने छ । नत्र विगतका पदाधिकारीहरुको जस्तो शिक्षक, चिकित्सक तथा कर्मचारीहरुसँग पटक-पटक सम्झौता, सहमति गर्ने कार्यान्वयन नैं नगर्ने परिपाटीकै निरन्तरता हुनेमा दुईमत छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *