खस आर्यलाई आरक्षण नदिन माग गर्दै राजपाले गरायो संशोधन प्रस्ताव दर्ता

काठमाडौँ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले विशेष सेवामा खस आर्यलाई दिन प्रस्ताव गरिएको आरक्षण प्रतिशत घटाउन माग गर्दै संशोधन प्रस्ताव दर्ता गरेको छ । राजपाका सांसदहरू लक्ष्मणलाल कर्ण, अमृता अग्रहरी र एकवाल मियाँले संशोधन प्रस्ताव दर्ता गरेका हुन्

विधेयकको प्रतिवेदनमा खुला ५५ प्रतिशत र आरक्षण ४५ प्रतिशत मध्ये ४५ प्रतिशतलाई शतप्रतिशत मानेर महिलाका लागि ३३ प्रतिशत छुट्टाइने भनिएको छ । महिला महिलाबिच प्रतिस्पर्धा हुने गरी छुट्टाइएको ३३ प्रतिशतलाई शतप्रतिशत मानेर पुनः आरक्षण छुट्टाइन्छ । प्रतिवेदनमा दलितका लागि १३ प्रतिशत, आदिवासी जनजातिलाई २७ प्रतिशत, खस आर्यलाई ३० प्रतिशत, मधेसीलाई १७ प्रतिशत, थारुलाई ५ प्रतिशत, मुस्लिमलाई ४ प्रतिशत र पिछडिएका क्षेत्रलाई ४ प्रतिशत आरक्षण दिइने भनी प्रस्ताव गरिएको छ ।

महिला आरक्षणलाई समावेशी बनाउँदा खस आर्यलाई दिइएको ३० प्रतिशतलाई घटाएर १० प्रतिशत बनाउनुपर्ने भन्दै उक्त संशोधन प्रस्ताव दर्ता गरिएको राजपाले बताएको छ। उनीहरूले खस आर्यको प्रतिशत घटाएर मधेसी, थारु, मुस्लिमको आरक्षण बढाउनुपर्ने माग राखेका छन् ।

संशोधनमा महिला समावेशिता भित्र दलितलाई १७ प्रतिशत, आदिवासी जनजातिलाई २४ प्रतिशत, खस आर्यलाई १० प्रतिशत, मधेसीलाई २२ प्रतिशत, थारुलाई ७ प्रतिशत, मुस्लिमलाई ५ प्रतिशत र पिछडिएका क्षेत्रलाई ५ प्रतिशत आरक्षण दिने व्यवस्था गर्नुपर्ने उल्लेख छ ।

राष्ट्रिय सभाबाट पारित भएको विधेयकमा महिला समावेशिता अन्तर्गत दलितका लागि १३ प्रतिशत, आदिवासी जनजातिलाई २७ प्रतिशत, खस आर्यलाई ३० प्रतिशत, मधेसीलाई १७ प्रतिशत, थारुलाई ५ प्रतिशत, मुस्लिमलाई ४ प्रतिशत र पिछडिएका क्षेत्रलाई ४ प्रतिशत आरक्षणको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 11 =