‘सलह पुरस्कार’ मा प्रदेशको कम्पिटिसन, सुदूरपश्चिमले एक किलोको २५ रुपैयाँ दिने !

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले एक किलो सलह किरा मारेर ल्याएबापत २५ रुपैयाँ दिने निर्णय गरेको छ ।
नेपालका विभिन्न जिल्ला, प्रदेशमा भित्रिए पनि हालसम्म सुदूरपश्चिम प्रदेशमा सलहको झुण्ड पसिसकेको छैन । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता खगेन्द्र प्रसाद शर्माका अनुसार यदि आइहालेमा मारेर ल्याउनेलाई प्रति किलो २५ रुपैयाँ दिने निर्णय गरिएको छ ।
मन्त्रालयले कृषि विकास निर्देशनालयको नेतृत्वमा तीव्र उद्धार समिति समेत गठन गरिसकेकाे छ । उक्त समितिको सिफारिसमा सलह मारेर ल्याएमा प्रति किलो २५ रुपैयाँ दिने निर्णय भएको प्रवक्ता शर्माले बताए ।
यसअघि प्रदेश ५ ले पनि एक किलो सलह समाते २० रुपैयाँ दिने निर्णय गरेको थियो । सलह जम्मा गरेर माछा, कुखुरा र बङ्गुरको दानाका लागि प्रयोग गर्न सकिने विज्ञले बताएका छन् ।
सलह कास्की, लमजुङ, पाल्पा, मकवानपुर हुँदै ललितपुरसम्म आइपुगेको छ । सलह विभिन्न जिल्लामा पुगिसकेको अवस्था भएपनि विज्ञहरुले भने आत्तिनुपर्ने अवस्था नरहेको बताउँदै आएका छन् ।








