भारतलाई प्रम ओलीको चेतावनीः ‘नक्सा छाप्यो भन्दैमा मलाई हटाउँछु भनेर नसोचे हुन्छ’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका पूर्वमहासचिव दिवंगत मदन भण्डारीको स्मरण गर्दै उनको प्रशंसा गरेका छन् । आइतबार बालुवाटारमा मदन भण्डारीको जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रम ओलीले नेता भण्डारीको प्रशंसा गरेका हुन् ।
कार्यक्रममा उनले भने, ‘कहिलेकाहीँ हाम्रो देशमा पनि बहकावहरु आएका छन् । जातीयताका, भाषिकताका, साम्प्रदायिकताका अथवा आस्था समूहका । एकता तोड्ने विग्रह पैदा गर्ने र देशको अहित गर्ने । तर मदन भण्डारी कहिले पनि बहकिनु भएन ।’
यस्तै प्रम ओलीले छिमेकी भारतलाई नयाँ नक्सा छाप्यो भनेर आफूलाई प्रधानमन्त्रीबाट हटाउँछु भन्ने नसोच्न चेतावनी समेत दिएका छन् । नयाँदिल्लीका मिडिया, बौद्धिक बहस र काठमाडौंस्थित दूतावासका पछिल्ला क्रियाकलापहरुबाट आफूलाई हटाउन के–के भइरहेको छ भन्ने देखाइरहेको उनको भनाइ छ ।
‘यसअघि चीनसँग पारवहन सम्झौता गर्दा मेरो सरकार ढलेको थियो तर अहिले हाम्रो बहुमत छ, आफ्नो भूमिमा दाबी गरेर नक्सा छाप्ने, यस्तो अपराध गर्ने केपी ओलीलाई हटाउँछु भन्ने कसैले नसोचे हुन्छ,’ प्रधानमन्त्री ओलीले भने ।
आफूलाई प्रधानमन्त्रीको जिम्मेवारीबाट हटाए नेपालको पक्षमा बोल्ने कोही नहुने उनले दाबी समेत गरे । उनले भने, ‘मलाई प्रधानमन्त्रीको जिम्मेवारीमा बस्न मन छैन । यतिबेला म हट्ने हो भने नेपालका पक्षमा बोल्ने मान्छे हुन्न । आजका लागि होइन भोलिका लागि । आफ्ना लागि होइन देशका लागि।’
२००९ साल असार १४ गते ताप्लेजुङको ढुँगेसाँघुमा जन्मिएका जनप्रिय नेता भण्डारीको ०५० जेठ ३ गते चितवनको दासढुंगामा गाडी दुर्घटनामा परी निधन भएको थियो ।








