मदन भण्डारी भन्नुहुन्थ्यो- ‘जीवनसँग नजोडिएको सिद्धान्तको कुनै अर्थ हुँदैन’

नेपालको कम्युनिस्ट आन्दोलनको लोकप्रियता र लोकतान्त्रीकरणको नायकका रूपमा मदन भण्डारीको नाम लिइन्छ । विश्व कम्युनिस्ट आन्दोलनले एकपछि अर्को धक्का खाइरहेको बेला चुनावी प्रक्रियाबाट कम्युनिस्ट पार्टीलाई लोकप्रिय बनाउने श्रेय, ‘जनताको बहुदलीय जनवाद’का प्रणेता भण्डारीलाई नै जान्छ ।

अहिले नेपाललाई नेतृत्व गरिरहेका धेरै वाम नेताका समकक्षी तर उनीहरूका पनि नेता थिए भण्डारी । र उनी बाँचिरहेका भए सायद उनैको नेतृत्व हुनसक्थ्यो भन्ने कल्पनाले उनैका समकक्षीलाई समेत भावनामा धकेल्ने गरेको देखिन्छ । मदन भण्डारी विचारलेमात्र होइन व्यवहारले पनि अब्बल थिए । भण्डारीको विचारमा मानव अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सामाजिक न्याय र प्रतिस्पर्धी राजनीतिक प्रणाली कुनै खास ‘वाद’ विशेषको एक्लो पुँजी नभएर मानवजातिले सयौं वर्षको संघर्षद्वारा प्राप्त गरेका उपलब्धि हुन् ।

त्यसैले जबजले तिनलाई ग्रहण गर्छ र वर्गीय चेतनाको माक्र्सवादी दर्शनका आधारमा श्रमजीवी जनताको पक्ष लिएर प्रतिस्पर्धामा आफूलाई अब्बल साबित गर्नुपर्छ भन्ने मान्यता राख्छ । अर्थात जुन राजनीतिक कार्यसूचीलाई संसारभरिका कम्युनिस्टहरूले ‘रणनीतिक’ उपयोगका लागि छुट्याएका थिए र छन्, तिनलाई जबजले सैद्धान्तिक प्रस्थापना बनाएको देखिन्छ ।

राष्ट्रियता र मदन भण्डारी
मदन भण्डारीसंग जोडिएको अर्को महत्वपूर्ण विषय राष्ट्रियता पनि हो भनेर विभिन्न विश्लेषकहरु अहिलेपनि तर्क गरिरहेका छन् । ०५७ साल फागुनमा चीनमा सम्पन्न बोआओ फोरममा प्रमुख अतिथि बनेर स्वदेश फर्केपछि राजा वीरेन्द्रले राष्ट्रलाई आत्मनिर्भर बनाउन केही महत्वपूर्ण योजना सारेको बारे पनि चर्चा हुन्छ ।

यसअघि नै नैता भण्डारीले राजा वीरेन्द्रसंग मिलेर अघि बढ्नुपर्ने धारणा विकसित गरेका थिए । भारतले गरेको अपमानजनक व्यवहारप्रति राजा वीरेन्द्र र नेता भण्डारीको लगभग मिल्दो विचार थियो । आज नेपालको राजनीति मदन भण्डारीका सोचबाट निर्देशित भइरहेको छ । शान्तिपूर्ण, वैधानिक र प्रतिस्पर्धाको बाटोबाट कम्युनिस्ट आन्दोलनलाई स्थापित गर्न सकिन्छ भन्ने भण्डारीको सोच थियो ।

प्रदेश ५ का मुख्यमन्त्री तथा नेकपा स्थायी कमिटी सदस्य पोखरेलले भनेका छन्- ‘जीवनसँग नजोडिएको सिद्धान्तको कुनै अर्थ हुँदैन, मदन भण्डारी जहिल्यै भन्नुहुन्थ्यो ।’ नयाँ सन्दर्भहरू र नयाँ विषयहरूप्रति सही प्रकारका निष्कर्ष निकाल्नुपर्छ भन्ने उहाँको मान्यता थियो । ‘उहाँ पुराना प्रश्नमा धेरै अल्मलिनुभएन । नयाँ प्रश्न सुल्झाउनमा ध्यान दिनुभयो, त्यसैले उहाँ सफल देखिनुभयो । यद्यपि, उहाँले पनि इतिहासको सही समीक्षा गर्नुपर्छ भन्नुहुन्थ्यो । तर, त्यसमै अल्मलिनुपर्छ भन्ने उहाँको जोड थिएन । आजको सन्दर्भमा पनि हामीले सोच्ने तरिका त्यही हो । समस्या नयाँ हुने तर समाधानको तरिका पुरानो भएर हुँदैन, नयाँ नै हुनुपर्छ ।’

मुख्यमन्त्री पोखरेलले भने- ‘नयाँ समस्याको पुरानो समाधानले कहिलेकाहीँ मात्र सफलता प्राप्त हुन्छ । ‘सिद्धान्तको रङ खैरो हुन्छ, जीवनको रङ हरियो हुन्छ’ उहाँले भन्नुहुन्थ्यो । सिद्धान्तले जीवनलाई पछ्याउनुपर्छ । ‘जीवनसँग नजोडिएको सिद्धान्तको कुनै अर्थ हुँदैन’ उहाँको मान्यता थियो । हामीकहाँ सिद्धान्तवादको ठुल्ठूला बहस भए तर त्यसले समाजलाई डो-याउन सकेन । ‘हामीले निर्माण गर्ने सिद्धान्तले जनताको जीवनमा परिवर्तन ल्याउन सक्नुपर्छ’ भन्ने मान्यताको पैरवी मदनले गर्नुभयो । साँघुरो दायरामा रहेको कम्युनिस्ट आन्दोलनमार्फत विशाल जनताको पङ्तिलाई विजयमा पु-याउन सफल हुनुभयो  ।’

नेता बिर्सिए कम्युनिज्म !
अहिलेको नेकपा अधिनायकवादतिर उन्मुख भएको हो कि भन्ने आशंका गर्नु स्वाभाविक हुन्छ । कम्युनिस्ट हुँ भन्ने नेताहरूले लोकतन्त्रका प्रति आफ्नो समर्पणभाव प्रदर्शन गर्न सकेका छैनन् । एक्काइसौं शताब्दीको कुनै पनि नागरिक आफ्नो स्वतन्त्रतासित कुनै पनि कुराको सौदावाजी गर्न तयार छैन । नेपाली राजनीति अन्योलग्रस्त नै छ । यसले स्पष्ट दिशाबोध गर्नै सकेको छैन ।

सिंहदरबारबाट नदेखिए पनि सरकार र नागरिकबीच दूरी स्पष्ट रूपले बढेको छ । के मदन भण्डारीको ६९ औँ जन्मजयन्ती मनाइरहँदा नेकपाभित्रको राजनीतिक विमर्शले हाल सामना गर्नुपर्ने वा गरिरहेका चुनौतीको गाम्भीर्य पहिल्याउन सक्ला  ?

सत्ताको लुछाचुँडीमा मूल्य र निष्ठाको तिलान्जली दिइँदैन । राजनीति आदर्शबाट विमुख छ, सिद्धान्तहरू मरेतुल्य छन्, नेतृत्व दिशाविहीन सत्तालोलुपताबाट ग्रसित छ । विकास र समृद्धि ओठेभक्ति मात्रका विषय भएका छन् । यसका प्रति न्यूनतम स्पष्टता पनि छैन । नेकपाको सरकारले आज लिएका नीति तथा विकास कार्यक्रममा उसका अग्रजका मार्गनिर्देशनहरू के कति सामेल छन् भन्नेतिर गहिरो बहस हुनुपर्छ ।

सिंहदरबारबाट नदेखिए पनि सरकार र नागरिकबीच दूरी स्पष्ट रूपले बढेको छ । के मदन भण्डारीको ६९ औँ जन्मजयन्ती मनाइरहँदा नेकपाभित्रको राजनीतिक विमर्शले हाल सामना गर्नुपर्ने वा गरिरहेका चुनौतीको गाम्भीर्य पहिल्याउन सक्ला  ?

मदन भण्डारीको जन्म
विसं २००९ साल आषाढ १४ गते ताप्लेजुङ जिल्लाको ढुंगेसाँघुमा उनको जन्म भएको थियो । पिता देवीप्रसाद भण्डारी र माता चन्द्र कुमारीको माहिला छोराको रूपमा क्षेत्री परिवारमा भण्डारीको जन्म भएको थियो । उनको प्रारम्भिक शिक्षा जन्मथलोबाटै सुरू भयो ।

वि.सं. २०१५ साल गाउँमै एउटा हिउँदे पाठशालाबाट औपचारिक शिक्षातर्फ प्रवेश गरेका भण्डारी अप्ठेरा पाठहरू भए पनि दुईपटक आफ्नो कानमा परेपछि सधैँका लागि कण्ठ गर्नसक्ने र बाल्यकालमै चण्डी कण्ठाग्र गरेर जिल्लाभर चर्चा कमाएका थिए । २०२४ सालमा उनको परिवार ताप्लेजुङबाट मोरङको इटहरामा सर्यो ।

त्यसपछि भारतको मथुरामा अध्ययन गर्न गए । दुई वर्ष मथुरामा बिताएपछि २०२८ मा देहरादुनबाट बनारस पुगेका भण्डारीले २०२३ सालमा बनारस विश्वविद्यालयबाट भाषा साहित्यमा स्नाकोत्तर गरे ।

राजनीतिक जीवन
२०२८ सालमा पुष्पलालसँगको भेटपछि उनी राजनीतिमा लागेका हुन् । २०२९ सालमा पुष्पलालको पार्टीले जनवादी सांस्कृतिक मोर्चाको निर्माण गर्यो । त्यसको अध्यक्षमा युद्धप्रसाद मिश्र र महासचिव मोदनाथ प्रश्रीत थिए भने भण्डारी केन्द्रीय सदस्य थिए । २०३० सालमा उनी पार्टीको पूर्णकालिन सदस्य भए ।

२०३३ सालमा मुक्तिमोर्चा समूहको निर्माण गरियो । त्यसको निर्माणमा सक्रिय रहेका नेताहरू पुष्पलालको पार्टीसँग विद्रोह गरी २०३४ सालमा नेकपा (माले)को स्थापना हुनुभन्दा पूर्वको मुक्तिमोर्चा समूहलाई नै त्यसमा विलय गराइयो । २०३५सालमा नेकपा (माले) स्थापना भयो र उनी केन्द्रीय सदस्य बने । २०४१ साल वैशाखमा भण्डारी पार्टीको पोलिटब्युरो सदस्य र २०४६ सालमा नेकपा (एमाले)को चौथो महाधिवेशनमा महासचिव बने । २०४७ सालमा भूमिगत जीवनबाट बाहिर आई माले-माक्र्सवादी एकीकरणबाट उनी नेपाल कम्युनिष्ट पार्टी (एकिकृत माक्र्सवादी-लेनिनवादी) को महासचिव बने ।

२०४८ सालको संसदीय निर्वाचनमा नेकाका तत्कालीन सभापति एवं अन्तरिम प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई परास्त गरी काठमाडौं क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए । मदन भण्डारीले त्रिशूलीमा भएको रहस्यमय जिप दुर्घटनामा २०५० साल जेठ ३ गते अस्वाभाविक मृत्युवरण गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *