विगतमा म माथि अन्याय भएको थियो अब न्याय दिनुपर्‍यो : बामदेव गौतम

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमले विगतमा आफूमाथि अन्याय भएको बताएका छन् । पार्टी स्थायी कमिटीको शनिवारको बैठकमा बोल्दै उपाध्यक्ष गौतमले महाकाली सन्धिको विषयमा आफूले कुरा राख्दा अन्याय भोग्नु परेको बताएका हुन् ।

उपाध्यक्ष गौतमले बैठकमा आफ्नो कुरा राख्दै भने,‘मलाई विगतमा जुन अन्याय भएको थियो, अब मलाई न्याय दिनुपर्‍यो ।’

उनले महाकाली सन्धि राष्ट्रघात हो भन्ने ठहरपछि आफूले विरोध गरेको र त्यसले पार्टी विभाजनको तहसम्म पुर्‍याएको बताएका थिए ।

उनले भने, ‘त्यति बेला सीमा नदी भनेपछि उद्गमस्थल कहाँ हो भनेर टुङ्गो लगाउनुपर्थ्यो, नटुङ्गिएपछि मैले टुङ्ग्याऊँ पनि भनेको हुँ । महाकाली सन्धि देशको हितमा छैन । यो देशको हितमा बनाऊँ भनेर अन्तिमसम्म अडान लिएँ । त्यो बेला सुनुवाइ भएन । पार्टीभित्र सङ्घर्ष भयो । सांसदभित्र पनि सङ्घर्षले प्रवेश पायो । भोट क्रस, विभाजन भयो । पार्टी विभाजनको तितो क्षण बेहोर्यौं ।’

उनले अहिले सरकारले लिम्पिया धुराको नक्सा जारी गरेर ठीक गरेको बताउँदै धन्यवाद दिए । विगतमा कुरा उठाउँदा भएको कारबाहीको बारेमा पनि विचार गर्न उनले पार्टीलाई आग्रह गरे ।

‘आज लिम्पियाधुरासहितको नक्सा जारी गरेर सरकारले ठिक गरेको छ, हिजो हामीमाथि जुन कुरा उठाउँदा कारबाही भयो, त्यो कुराको पुनर्विचार गरियोस्, हामीलाई अन्याय भएकै रहेछ’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *