आज थपिए ५५४ कोरोना संक्रमित, थप एक जनाको मृत्यु

काठमाडौं । मुलुकमा आज थप ५५४ जना कोभिड–१९ का संक्रमित भेटिएका छन् । उनीहरु देशका विभिन्न कोरोना ल्याव परीक्षणबाट पुष्टि भएका हुन् ।

यो सँगै मुलुकमा कोरोना संक्रमितको संख्या १२३०९ पुगेको छ । जसमा १३६९ महिला रहेका छन् भने १०९४० पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजको नियमित प्रेस विफिङमा जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । आज मृत्यु भएकासँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २८ पुगेको छ । चितवनस्थित भरतपुर अस्पतालमा कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको हाे ।

अस्पतालको कोभिड-१९ आइसियूमा उपचाररत एक पुरुषको शनिबार बिहान ७ बजे मृत्यु भएको थियाे । कैलालीको गोदावरी नगरपालिकाका ती पुरुष फोक्सोको क्यान्सरका बिरामी थिए । उनी उपचारका लागि चितवन आएका थिए। बिहीबार राती उनमा कोरोना सङ्क्रमणको पुष्टि भएको थियो।

आजबाट मुलुकका ७७ वटै जिल्लामा कोरोना संक्रमित फेला परेका छन् । शनिबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा रसुवाका ८ महिला र एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ।

विगत २४ घण्टामा १३६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । आजसम्म २४२ महिला र २५९२ पुरूष सहित २८३४ जना कोरोनाको उपचार पछि निको भएर डिस्चार्ज भएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशका २२ वटा कोरोना प्रयोगशालामा ४६०६ जनाको आरडी पिसिआरबाट र ३६८५ जनाको आरडिटी बाट कोरोना परीक्षण गरीएको छ । आजसम्म देशका विभिन्न भागका क्वारेन्टाइनमा ६५६१२ जना मानिस रहेका छन् भने, ९४४७ जना आइसोलेसनमा रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *