सुरक्षा सामग्रीको टेण्डरमा नक्कली रिपोर्टको बिगबिगी, आइजिपीलाई पनि सकस

काठमाडौँ । नेपाल प्रहरीले संगठनका लागि आवश्यक सुरक्षा सामाग्रीको टेण्डर आह्वान गरेको थियो । गतजेठ ३ गते सार्वजनिक सूचना प्रकाशित गरिएको सो टेण्डर प्रक्रियामा टेण्डर फाराम भर्ने केही कम्पनीहरूले नक्कली टेष्ट रिपोर्ट हालेको खुलासा भएको छ ।

प्रहरीको प्रबन्ध निर्देशनालयले टेण्डर प्रक्रिया आह्वान गर्दा आधिकारिक टेष्ट रिपोर्ट चाहिने प्रावधान राखेको थियो जबकि अन्य लत्ताकपडाहरूमा एसजीएस र आइटिएसको रिपोर्ट भनिएको हुन्छ तर यो सुरक्षा सामग्रीको टेण्डर प्रक्रियामा भने कुनै कम्पनीको नतोकी आधिकारिक टेष्ट रिपोर्टमात्रै उल्लेख गरिएको छ ।

प्रहरीले राइट कन्ट्रोल गिएर २ हजार थान, क्राउडेड हेल्मेट ८ हजार थान, हत्कडी ६ हजार थान र सिलढाल २ हजार थानको टेण्डर आह्वान गरेको थियो । यही टेण्डर प्रक्रियाको कागजात बुझाउने क्रममा टेण्डर फाराम भरी बुझाएका केही कम्पनीहरूले चाइनिज नक्कली टेष्ट रिपोर्ट हालेको खुलासा भएको छ ।

टेण्डर फारम भर्ने कम्पनीहरूले भारतीय र चाइनिज कम्पनीहरूको टेष्ट रिपोर्ट हालेको भए पनि भारतीयका हकमा सम्बन्धित कम्पनीको आधिकारिक पत्र, सम्पर्क नम्बर, इमेल ठेगाना प्रष्ट रहेको देखिन्छ । जुन कुरा प्रहरी मुख्यालयले पत्राचार वा सोधेर पनि आधिकारिक हो होइन पत्ता लगाउन सक्दछ तर चाइनिज टेष्ट रिपोर्ट हाल्नेका हकमा कम्पनीको आधिकारिक सम्पर्क नम्बर, इमेल, ठेगाना केही पनि उल्लेख छैन ।

कहाँ कसलाई सोध्ने ? त्यसैले पनि प्रबन्ध निर्देशनालयका एक जिम्मेवार अधिकृतले भने–चाइनिज टेष्ट रिपोर्ट हाल्ने कम्पनीहरूले नक्कली रिपोर्ट हालेको देखिन्छ । राइट कन्ट्रोल गिएरका लागि ठेक्का हाल्ने कम्पनीहरूमा–निलगिरी इन्टरप्राइजेजले २,५०,८६० डलर, एडि सप्लायर्सले २,७५,७२० डलर, तेज समले ३,२५,४४० डलर, रचनाले ३,२९,९६० डलर, पूजा ट्रेडिङले ३,५७,९८७ डलरमा टेण्डर भरेका छन् ।

त्यसैगरी हेल्मेटका लागि पूजा ट्रेडिङले ७४,२१,८४० भारतीय रूपैयाँ, नीलगिरीले १,१४,३५६ डलर, आमो इन्टरप्राइजेजले १,२६,५६० डलर, एडि सप्लायर्सले १,२६,५६० डलर, प्लस प्वाइन्टले ९८,९८,८०० भारु र रचनाले १,५०,१५४ डलरमा टेण्डर बिट गरेका छन् ।

हत्कडीका हकमा एरिस टेक्नोलोजीले १२,२०४ डलर, एडि सप्लायर्सले ७०,९१८.८० डलर, दिव्या इन्टरनेशनलले ७४,५८० डलर, पूजा ट्रेडिङले ७४,५८० डलर, आमो इन्टरप्राइजेजले ८१,३६० डलर र रचनाले ८२,८५१ डलरमा टेण्डर बिट गरेका छन् ।

त्यसैगरी सिटढालका हकमा रचनाले ७२,८१७.२० डलर, नीलगिरीले ५७,६३० डलर, एरिस टेक्नोलोजीले ८८,१४० डलर, एडि सप्लायर्सले ७२,३२० डलर, पूजा ट्रेडिङले ५५,९३,५०० भारु र प्लस प्वाइन्टले ६७,५७,४०० भारुमा टेण्डर बिट गरेका छन् ।

प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीसँगै प्रबन्ध निर्देशनालयका डिआइजी सूर्यप्रसाद उपाध्यायको जागिरको कार्यकाल अब १२ दिनमात्रै बाँकी छ । जागिरको पूर्वसन्ध्यामा नक्कली टेष्ट रिपोर्टका आधारमा टेण्डर दिएका खण्डमा भोलि मुख्यालयनजिकै रहेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानविन गरी दोषी ठहरिए के अवस्था होला भन्ने प्रश्न पनि यतिबेला प्रबन्धकै प्रहरीहरू बताउँछन् ।

ठेकेदारहरूले ठेक्का पाउनकै लागि कुनै सम्पर्क नम्बर, इमेल र ठेगानासमेत नभएका कम्पनीको पास भएको टेष्ट रिपोर्ट हालेकै भरमा तिनैलाई ठेक्का दिए भने भोलि अख्तियारले छानविन नगर्ने भन्ने कुरै आउँदैन भन्दै एक प्रहरी अधिकृतले भने–आइजिपी ज्ञवालीले सबैभन्दा बढी विश्वास र जिम्मेवारी आफ्ना व्याजी र मित्र डिआइजी सूर्य उपाध्यायलाई सुम्पिएका छन्, अब उनै सूर्य उपाध्यायको भरमा छन् आइजिपी पनि ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + thirteen =