राष्ट्रिय गौरवमा सेनाका हाकिमको रमिता, डफ्फापिच्छे घोटालाका फरक-फरक काण्ड !

काठमाडौं । सरकार वा दलका नेताले देश बिगारे भन्दै बाटो खन्नेदेखि औषधी किन्नेसम्मका काम सेनालाई दिइयो । तर, सेनाले पनि कतिसम्म बिगारेछ भने,डफ्फापिच्छे घोटालाका फरक–फरक काण्ड ।

राष्ट्रिय गौरवरुपी निजगढ–काठमाडौं द्रूतमार्गमा भएको घोटालाका पुराना काण्ड सेलाउन नपाउँदै नयाँ–नयाँ काण्डमाथि छानवीन गर्न फरक–फरक टोली खटाइएको छ । यसअघि त्यही परियोजनाका नाममा लामो समयदेखि भ्रष्टाचार भयो भनेर चलेको छानवीन अहिलेसम्म टुंगोमा पुगेको छैन । प्राविधिकतर्फका दुईतारे जर्नेल योगेन्द्र खाँणको भविष्य त्यही परियोजनाले खायो ।

अहिले फेरि त्यही परियोजनामाथि छानवीन गर्न दुई जर्नेल फरक–फरक टोलीसहित खटिएका छन् । ०६४ मा प्रचण्ड प्रधानमन्त्री हुँदाका अंगरक्षक तथा हाल भर्ना छनौट हेर्ने जर्नेल अरुण पालको नेतृत्वमा एउटा छानवीन टोली बनेको छ ।

अर्काे टोली छ, कल्याणकारीका जर्नेल सागर केसीको अध्यतामामा । यी दुई टोलीले निजगढदेखि खोकनासम्मका १० क्याम्पमा भएको घोटाला र अस्वाभाविक भुक्तानीबारे छानवीन गर्दैछन् । त्यहाँका प्रत्येक क्याम्पमा ९–१० करोडसम्म अनियमितता भएको आँकलन गरिएको छ ।

कस्तो भने,ढुंगा त्यहीँ छ । तर,अन्यत्रबाट ल्याइएको भनी खर्च देखाइएको छ,भुक्तानी दिइएको छ । सिस्नेरी,खोकना,मख्खुबेसी,महादेवटार,धेद्रे,लेनडाँडा,बुदुने,राजदमार, बागदेवदेखि निजगढसम्म अलग–अलग मेजर दर्जाका साइट इन्चार्ज खटाइएका छन् ।

कतिपय क्याम्प खोल्सामा छन् त कतिपय नदी किनारमा । कतिपय बासस्थानमा पंखा छ,एसी पनि जडान गरिएको छ । अनि,एसीहरु हाकिमका घरघर पुगेका छन् । जर्नेलको टोलीले छानवीन शुरु गरेपछि हाकिमहरुको घरघरमा थुपारिएका १ सय १३ एसी ठाउँठाउँमा पुर्याइएको छ । एउटै एसीलाई कम्तिमा डेढ लाख पर्छ ।

बनाउनु छ बाटो,तर क्याम्प हाउसहरु होटलजस्तो बनाइएका छन् । प्रधानसेनापतिको भ्रष्टाचारबिरोधी नीतिअनुसार यी छानवीन समितिले कसरी काम गर्छन् ? हेर्न बाँकी छ । यही बाटोको अनियमितता हेर्न तीन हप्तादेखि जर्नेल अरुण पालको नेतृत्वमा कोर्ट अफ इन्क्वायरी शुरु भएको छ ।

साइट इञ्चार्जका रुपमा अभिषेक बस्नेत, जयराम भट्टराई, राजेशकुमार देव, पुरुषोत्तम कार्की, पुरुषोत्तम ढकाल, रमेश मरासिनी, धर्मराज पौडेल र अजित श्रेष्ठहरु खटिएका छन् । सेक्टर कमाण्डरका रुपमा दुई जना छन्, धर्मेन्द्रकुमार झा र भरतलाल श्रेष्ठ । यी सबै दुई वर्षदेखि त्यहाँ कार्यरत छन् ।

यिनीहरुले हचुवाको भरमा लगत उतारी,कस्ट प्राइस एडजस्मेट (सिपिए) मूल्यांकन नगरी ३१ अर्ब भुक्तानी गएपछि कल्याणकारीका निर्देशक सागर केसीको संयोजकत्वमा अलग्गै छानवीन समिति बनेको हो । सेनाले द्रूतमार्ग निर्माणको सम्पूर्ण जिम्मा त लियो । तर,हाइवे इञ्जिनियर भनेर सिभिलतर्फका ३५ इञ्जिनियरलाई करारमा काम लगाइएको छ ।

उनीहरुलाई १ लाख ४० हजारदेखि ३ लाखसम्म तलब दिने गरी राखिएको हो । एसी र ढुंगामै त्यत्रो घोटाला चलाउने ठेकेदार कम्पनी हो, हनुमान कन्स्ट्रक्सन । त्यसका सञ्चालक हुन्,शालिग्राम न्यौपाने । यिनले मिलेर कति तलमाथि गरे होलान् ? यसबारे पनि छानवीन चलिरहेको छ ।

सेनाको घोटालामा मुछिएका हाकिमहरुलाई नसिहत दिने नाममा दुई वर्ष बढुवाबाट पछाडि हटाइनेबाहेक न अख्तियार,न सम्पत्ति शुद्धिकरण– केही लाग्दैन । यसर्थ,वर्षैपिच्छे यस्ता प्रकरण आउने र सामसुम हुने चलन छ । जनआस्थाबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *