डुबानको सास्ती: स्थानिय भन्छन्–‘अब त घर, जमिन बेचेर अन्तै बस्न जान्छौँ’

  • सुजाता लिम्बु

विराटनगर । मनसुन सक्रिय भएसँगै विराटनगरको विभिन्न स्थान जलमग्न भएका छन् । कतिपय ठाँउहरु डुबानमा समेत परेका छन् । सोमबार साँझ र मंगलबार बिहान परेको वर्षाका कारण विराटनगरका विभिन्न ठाँउ डुबानमा परेको छ ।

वर्षाको कारण विराटनगर महानगरपालिका– ६ झरना चौक रामपुर (स्लाम नगर) पनि डुबानमा परेको छ । पानी निकासको व्यवस्थापन नभएका कारण वर्षेनी डुबानको सास्ती खेप्नु परेको स्थानियवासी मोहम्मद जिया हुसैनले बताए ।

वर्षेनी डुबानमा परेका कारण स्थानिय मिलेर गत वर्ष वडा कार्यालयमा निर्माण कार्यका लागि निवेदन दिएको भएपनि वडाध्यक्षले बेवास्ता गरेको उनको भनाइ छ । डुबानका कारण स–साना बच्चाहरुलाई स्कुल जानदेखि लिएर दैनिक काम गर्न असहज भएको उनको गुनासो छ ।

उनका अनुसार केहि समय अगाडी नदीबाट निकास हुँदा त्यो समय खासै समस्यामा परेको थिएन, जब ग्राबेल रोड, पक्कि नाला निर्माण भएसँगै पानी बग्ने निकासमा कमी आएकाले वर्षेनी डुबानको सास्ति भोग्नु परेको हो । उक्त क्षेत्रको निकासको चासो महानगरपालिकाले गर्नुपर्ने भएपनि महानगरले बेवास्ता गरेको उनले बताए । आजसम्म उक्त स्थानमा जनता के– कस्तो अवस्थामा बसिरहेका छन् नगरप्रमुखको ध्यानसम्म नगएको उनको गुनासो छ ।

निर्वाचन ताका उक्त स्थानको समस्यालाई चाँडै सुल्झाउने आशा देखाएर जनप्रतिनिधिहरु दैनिक जस्तो उपस्थित हुने भएपनि हालसम्म कुनै खालको समस्या समाधान नभएको उनको गुनासो छ । प्रदेश सभा सांसद नेपाली काँग्रेसका प्रमुख सचेतक केदार कार्कीको समेत उक्त क्षेत्रको विकासका लागि आश्वासन रहेको उनले सुनाए ।

सो स्थानमा नहरदेखि मस्जिदसम्म हिँड्नका लागि स्थानियबासीको सक्रियता र रकम संकलबाट बाटो निर्माण गरिएको उनले जानकारी दिए । उनले भने, ‘अन्य स्थानमा सडक, ढल निकासका लागि नाला निर्माण भईसकेको छ तर यो टोल विकासमा स्थानिय निकायले चासो समेत देखाएको छैन ।’

भोट बैंक मात्रै भइयो

वर्षेनी डुबानको सास्ति खेप्दै आएको सोहि स्थानका फिरोज आलमले अन्तै बसाइँ सर्ने याेजना रहेकाे सुनाए । उनी भन्छन् ‘अब त घर, जमिन बेचेर अन्तै बस्न जान्छु ।’ उनको स्कुल पढ्दै गरेका स–साना नानीहरु छन् ।

हाल कोरोना भाईरस संक्रमणले गर्दा स्कुल बिदा भएकाले नानीहरुलाई स्कुल जान समस्या नभएको भएपनि अन्य समय डुबानको समस्याले नानीहरु स्कुल जानबाट बन्चित हुने गरेको उनले बताए । निर्वाचनको समय यहि क्षेत्रको विकास र निकासको समस्यालाई देखाएर भोट भाग्ने नेताका लागि उनले पनि भोट माग्न सघाएका थिए ।

उनी भन्छन्– ‘हामी त नेताहरुको भोट बैक मात्रै भयाैँ । आजसम्म यो क्षत्रेको समस्यालाई बुझ्ने कोशिससम्म गरेका छैनन् ।बाटोको समस्या, पानी निकासको समस्या वर्षौ देखि बिद्युत पोल नभएकाले विद्युतको पनि समस्या छ ।’ उनका अनुसार विद्युत प्राधिकरणमा कयौँ पटक विद्युत पोल जडानकालागि निवदेन पेश गरेको भए पनि आजसम्म विद्युत प्राधिकरणबाट उक्त स्थानमा ध्यान गएको छैन ।

२५ लाख बजेट विनियोजन

विराटनगर महानगरपालिका वडा नम्बर ६ पहिला देखि नै पोखरी क्षेत्र रहेको र पहिले देखि नै डुबान क्षेत्र रहेको विराटनगर महानगरपालिका वडा ६ का वडाध्यक्ष विजय कामतले बताए । उक्त क्षेत्रको विभिन्न स्थानमा लगभग ३० लाखको लागतमा विकास निर्माणको कार्य भईरहेको उनकाे भनाइ छ ।

उनले भने, ‘बाटोहरु माथि, माथि गईरहेको छ, पोखरीमा घर बनाएको कारण समस्या आएको हो । आर्थिक वर्ष २०७७/०७८ को बजेटको डुबान क्षेत्रका लागि नाला, ग्राबेलिङका लागि ३० लाख बजेट निस्कासन गरेको छ ।’

उनले महानगरपालिका– ६ झरना चौक रामपुर (स्लाम नगर) को विकास निर्माणका लागि १५ लाखको ग्राबेलिङ, नालाको काम भएको जिकिर गरे । उक्त स्थानको विकास निर्माणका लागि आगामी योजनामा २५ लाख बजेट विनियोजन गरेको उनको दाबी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 13 =