‘नेपालको कानुन बनाउन भारतसँग किन सल्लाह गर्नुपर्ने ?’ लालबाबु पण्डित (भिडियो सहित)

काठमाडौं । विदेशी महिलाले नेपाली पुरूषसँग विवाह गरेर आएको सात वर्षपछि अंगिकृत नागरिकता प्रदान गर्ने कानुन बनाउन नेपालले भारतलाई सोध्न आवश्यक नरहेको पूर्वमन्त्री लालबाबु पण्डितले बताएका छन् ।

प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले विदेशी महिला नेपालमा विवाह गरेर आएको अवस्थामा ७ वर्षपछि मात्रै अंगिकृत नागरिकता दिने विधेयक बहुमतले पास गरेको विषयलाई मधेशवादी दल र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध जनाउनुको अर्थ नरहेको समेत बताउँदै नेपालको कानुन बनाउनको निम्ति भारतसँग सल्लाह लिन आवश्यक नरहेको प्रष्ट पारे । ‘नेपालको कानुन बनाउनको निम्ति भारतसँग सल्लाह गर्नुपर्ने के आवश्यक्ता छ ?’ नेता पण्डितले प्रश्न गरे ।

उनले भारतमा ६५ वर्ष अघिबाटै विदेशी नागरिकलाई ७ वर्ष पछि मात्रै नागरिकता दिने कानुनी प्रावधान रहेको प्रष्ट्याउँदै अहिले नेपालले ७ वर्षे ब्यवस्था लागू गर्दा कसैले आत्तिनुपर्ने अवस्था नरहेको समेत बताए । ‘हामी कहाँ ढिलो भयो, भारतमा ६५ वर्ष अगाडी देखि नै ७ वर्षे प्रावधान लागू गरिएको छ । नेपालले विदेशी महिलाका हकमा ल्याउन लागेको नयाँ प्रावधानले बुहारीहरुलाई कुनै समस्या नपर्ने पण्डितको दावि छ । नेपालमा विवाह गरेर आएका महिलाहरुले राष्ट्रिय परिचयपत्र मार्फत सबै प्रकारका काम गर्न पाउने समेत बताए ।

उनले अंगिकृत नागरिकतामा ७ वर्षे प्रावधान लागू गर्दा तराई मधेशको सामाजिक, सांस्कृतिक तथा नेपाल–भारतविचको पारस्परिक सम्बन्धमा कुनै अफ्टेरो नहुने बताए । ‘घरमा मुसाले प्वाल पार्यो भने त्यो प्वाल टाल्न हुँदैन भन्ने मानसिकता राख्ने हो भने त्यो प्वालबाट सर्प पनि आउँन सक्छ । राष्ट्रको भौगोलिक अखण्डतालाई रक्षा गर्ने कामलाई रोक्न हुँदैन ।’

सोमबार मकालु खबरसँगको विशेष कुराकानीमा नेकपाका नेता पण्डितले भारतले अतिक्रमण गरेको भूमी फिर्ता ल्याउने सवालमा नेपालले जारी गरेको नयाँ नक्सा पारित गर्दा केही सांसदले संसद र संसदबाहिर नाङ्गो नाच देखाएको तर्क गरे । ‘केही केहीले नाङ्गो नाच देखाए अस्ती, सदनमा पनि देखाए, बाहिर पनि देखाए । अन्य संसारका देशमा हुँदैन ।’

नेता पण्डितले जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीको अभिब्यक्ति प्रति इङ्गित गर्दै भने–‘म यो देशलाई बर्बाद गरिन्छु, यो देशलाई टुक्राटुक्रा बनाइदिन्छु । अनी आफ्नो भूमीको कुरा गर्दा छिमेकीको भूमी बरु हामी मिचेका छौं, हाम्रो भूमि अरुले मिचेको छैन, आँखामा पट्टी बाँधेर दिमागपनि अरुको गुलाम भएर बोल्ने पनि केही छन् ।’

नेकपा सांसद पण्डितले १९५०को असमान सुगौली सन्धी पनि खारेज हुनुपर्ने बताएका छन् । भने, नेपालले दुई जिब्रे कुरा पनि नगरेको प्रष्ट पारे । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा आउँदा गौतम बुद्ध नेपालमा जन्मेको र विदेशमा जाँदा भारतमा जन्मेको जस्तो गरेर नेपालले दुई जिब्रे कुरा नगरेको प्रष्ट पारे ।

उनले नेपाल सार्वभौमसत्ता सम्पन्न मुलुक रहेको प्रष्टयाउँदै भारतले अतिक्रमण गरेको भूमी कुनैपनि हालतमा फिर्ता ल्याउनु पर्ने र त्यसका लागि सरकार प्रतिबद्ध रहेको जनाए ।

उनले संविधान परिवर्तनशील रहेको र नेपालले आफ्नो कानुन, संविधान समय परिस्थिती अनुसार मुलुकको भौगोलिक अखण्डता, सार्वभौकिता र राष्ट्रिय एकताका लागि परिस्कृत परिमार्जित गर्दै जाने समेत जिकिर गरे । ‘राजतन्त्र समाप्त गरेनौं र, हामीसँग संघियता थिएन संघियता ल्यायौं, एक समयमा धर्मनिरपेक्षता थिएन, धर्म निरपेक्षता ल्यायौं, नयाँ नयाँ कुरा जब लिएर आएका हुन्छौं त्यसलाई पनि विस्थापित र स्थापित गर्ने समयपनि हुन्छ । त्यसकारण हामी भौगोलिक अखण्डता, सार्वभौमसत्ता, राष्ट्रिय एकताको निम्ति चिन्तित रहेका छौं ।’ पण्डितले आफ्नाे राष्ट्रवादकाे कुरा गर्दा उग्रराष्ट्रवाद नहुने समेत प्रष्ट पारे ।

हेर्नुहोस् भिडियो

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *