धरान खानेपानी परियोजनालाई पारदर्शी बनाउन माग गर्दै प्रदर्शन

- भरतराज शर्मा (गोपाल)
धरान । सुनसरी जिल्लाको धरानमा लामो समयदेखि विवादित बन्दै आएको खानेपानी परियोजनाको खर्च पारदर्शी गर्न माग गर्दै धरान उपमहानगरपालिका अगाडी प्रदर्शन गरिएको छ । संयुक्त खानेपानी संघर्ष समितीले उपमहानगरपालिकाको मुल गेटमा नै नाराजुलुस लगाउँदै प्रर्दशन गरेको हो ।
समितिले चार सुत्रिय माग राख्दै नगरपालिकाको प्रवेशद्वारमा धर्ना समेत दिएको थियो । प्रदर्शनमा सहभागीहरुले परियोजनाको खर्च पारदर्शी बनाउनुपर्ने, खानेपानी अनुगमन समितीले दिएको सुझाव अनुसार सरकारले निर्धारण गरेको टेरिफ अनुसार महशुल निर्धाणर गर्नुपर्ने र आयोजनाको अध्ययन र अनुगमन गरि भ्रष्टाचार भएको देखिए सम्बन्धित कर्मचारी तथा जनप्रतिनिधिलाई कारवाही गर्नुपर्ने माग राखेका छन् ।

मेयर तिलक राईले ज्ञापनपत्र बुझ्न ढिलाई गरेपछि उपमहागनरपालिका, मेयर राई र खानेपानी आयोजना प्रमुख राजु पोख्रेलविरुद्ध पनि नाराबाजी गर्नुपरेको समितीका संयोजक हर्क साम्पाङले जानकारी दिए । उनले ५ बर्षअघि धारा जडान गर्ने भनेर शुल्क लिएपनि अहिलेसम्म कतिपय स्थानमा जडान नै नगरिएको र गरिएको स्थानमा समेत धाराबाट पानी नआउने बताए ।
मागहरूलाई सम्बोधन नगरे नगरपालिमा थप आन्दोलन चर्काउने साम्पाङले चेतावनी समेत दिए । उनले धरानका नगर प्रमुख तिलक राईलाई माग पत्र बुझाएका छन् । सो माग पत्र बुझ्दै मेयर राईले खानेपानीको विषयमा विज्ञको समिती बनाएर खर्चको पारदर्शितादेखि पानी उत्पादनको अवस्थासम्मको विषयमा धरानवासीलाई जानकारी गराउने प्रतिबद्धता जनाएका छन् ।








