चेपाङलाई व्यवस्थित आवास बनाउँदै कालिका नगरपालिका

  • ध्रुवराज खनाल

चितवन । चितवनको कालिका नगरपालिकाले नगर क्षेत्रभित्रका विपन्न चेपाङ समुदाय लक्षित गर्दै आवास निर्माणको काम सुरु गरेको छ । मेयर आवास कार्यक्रम अन्र्तगत नगर भित्र रहेका विपन्न चेपाङहरुका लागि आवास निर्माणको थालनी भएको हो ।

वडा नं. ७ निवासी गणेश बहादुर प्रजाका लागि निर्माण गर्न लागिएको घरको मेयर खुमनारायण श्रेष्ठले सोमवार सिलान्यास गरे । वडा नं. ७ मा मेयर आवास कार्यक्रम अन्तर्गत एकवटा घरमात्रै निर्माण हुँदैछ । सानो झुप्रोमा पालटांगेर जीवनयापन गर्दै आएको छन् ।

मेयर आवाश कार्यक्रम अन्तर्गत नगरपालिकाले नगरक्षेत्रभित्रका ३९ वटा विपन्न चेपाङका लागि घर बनाउने योजना बनाएको छ । वडा नं. ३,७,८, ९,१० र ११ मा विपन्न चेपाङ परिवारका लागि असार मसान्तभित्रै ३९ वटा घर निर्माण गरेर हस्तान्तरण गर्ने योजना रहेको मेयर श्रेष्ठले जानकारी दिए । घरको नक्सा निर्माणदेखि अन्य प्राविधिक तयारी पुरा भएकाले घर बनाउन धेरै समय नलाग्ने मेयर श्रेष्ठको दावी छ ।

घरको डिजाईन नगरपालिका आफैले गरेर यसलाई व्यवस्थित बनाउने योजना छ । मेयर श्रेष्ठका अनुसार दुई कोठा, भान्छा र शौचालय भएको टिनले छाएको घर निर्माण हुनेछ । उच्चस्तरको ब्लकले बारेर बनाउन लागिएको घरको लागत ४ लाख ८४ हजार ४ सय रुपैयाँ हुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यज्ञ पुरीले बताए । दोस्रो चरणमा आउँदो आर्थिक वर्षमा थप घर बनाइनेछ । ९५ वटा घर बनाउने नगरपालिकाको योजना थियो ।

लकडाउनका कारण अहिलेका लागि पहिलो चरमा ३९ वटा घर बनाउन लागिएको हो । आगामी वर्षका लागि नगरपालिकाले आवास निर्माणका लागि निति तथा कार्यक्रममा समावेश गरिसकेको छ । घर निर्माणका क्रममा सामग्री नपुग्ने ठाउँमा ढुवानीमा घरधनीलाई श्रमदान गनुपर्नेछ । नगरपालिकाले लाभग्राहीका लागि मापदण्ड तयार गरी छनोट प्रक्रिया अघि बढाएको थियो ।

हाल प्रयोग रहेको घरको क्षेत्रफल, प्रतिव्यक्ति वर्गफिट, घरभित्रको भुइँ, घरको गारो, घरको छानो, जग्गाको स्वामित्व लगायतका मापदण्ड राखेर सबैभन्दा कमजोर अवस्थामा रहेका परिवारका लागि नगरपालिकाले घर बनाइदिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत पुरीले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 − 2 =