घटेन कोरोना कहर: आइतबार एकैदिन अहिलेसम्मकै धेरै १ लाख ८३ हजार संक्रमित थपिए

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठनले कोरोनाभाइरस सङ्क्रमणको घटनामा अहिलेसम्मकै सर्वाधिक दैनिक वृद्धि भएको जनाएको छ । डब्ल्यूएचओका अनुसार विगत २४ घण्टामा एक लाख ८३ हजार सङ्क्रमित थपिएका छन् ।

संयुक्त राज्य अमेरिका सबैभन्दा बढी सङ्क्रमण पुष्टि भएको देशको रूपमा कायम छ जहाँ २० लाख जति सङ्क्रमण पुष्टि भएको छ । कोरोनाभाइरसबाट धेरै मृत्यु हुने देशहरूमध्ये ब्राजिल दोस्रो स्थानमा उक्लिएको छ जहाँ ५० हजारभन्दा बढी व्यक्तिले कोभिड-१९ बाट ज्यान गुमाएका छन् ।

दोस्रो बढी
सङ्क्रमित व्यक्तिहरूको सङ्ख्या दश लाखभन्दा बढी पुगेको पुष्टि गरिएको केही दिनपछि मृतकको सङ्ख्या विश्वमै दोस्रो बढी देखिएको हो । तर विज्ञहरू पर्याप्त परीक्षण नगरिएका कारण र सङ्क्रमण उच्च बिन्दुमा पुग्न बाँकी रहेकाले वास्तविक सङ्ख्या अझ बढी हुन सक्ने बताउँछन् ।

यसअघि आइतवार स्वास्थ्य मन्त्रालयले विगत २४ घण्टामा थप ६४१ जनाको मृत्यु भएको जनाएको थियो । त्यो सङ्ख्या थपिएसँगै देशमा कोरोनाभाइरसबाट मृत्यु हुने व्यक्तिहरूको सङ्ख्या ५०,६१७ पुगेको  । विगत २४ घण्टामा १७ हजार नयाँ सङ्क्रमित थपिएका छन् । मृत्यु हुने र सङ्क्रमित हुने व्यक्तिहरूको सङ्ख्यामा तीव्र वृद्धि भइरहँदा पनि राष्ट्रपति जाइर बोल्सोनारूको दबावका कारण ठूला शहरहरू फेरि खुला गर्न थालिएका छन् ।

कोरोनाभाइरस सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि लागु गरिएका प्रतिबन्धात्मक नियमहरूका कारण अर्थतन्त्र ध्वस्त भएको राष्ट्रपतिको दाबी रहिआएको छ । यसैबीच, राष्ट्रपति बोल्सोनारूका हजारौँ समर्थक तथा विरोधीले देशका विभिन्न शहरमा समानान्तर प्रदर्शनहरूको आयोजना गरेका छन् । सबैभन्दा ठूला प्रदर्शनहरू साओ पावलो, रियो द जेनैरो र राजधानी ब्राजिलियामा भएका छन् ।

ब्राजिलियास्थित संसद्‌ र सर्वोच्च अदालत भवनबाहिर जम्मा भएका प्रतिद्वन्द्वी प्रदर्शनकारीहरूलाई प्रहरीले एकअर्कासँग मिसिन दिएनन् । संसद्‌ र सर्वोच्च अदालतले राष्ट्रपति बोल्सोनारूको अधिकार कटौती गर्न चाहेको उनका समर्थकहरूको आरोप छ । बिहीवार राष्ट्रपतिका पूर्वसहयोगी र तिनको परिवारका सदस्यलाई गिरफ्तार गरिएपछि विपक्षीहरूले बोल्सोनारूमाथि महाभियोग लगाउन माग गरेका छन् । बीबीसी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *