धरानको धार्मिक पर्यटनमा कोरोना महामारीको चुनौती

नेपालको समृद्धिको आधार पर्यटनमुखी बनाउन सरकारले घोषणा गरेको महत्वाकांक्षी पर्यटन वर्ष २०२० विश्वव्यापी कोरोना महामारीका कारण प्रभावित भएसँगै मुलुकका पर्यटकिय सम्भावना भएका क्षेत्रहरु समेत प्रभावित भएका छन् । विश्वमा धार्मिक पर्यटनको महत्वपूर्ण गन्तव्यका रुपमा रहेको नेपालमा पर्यटनमा नराम्रो असर परेको छ ।

नेपाल भ्रमणमा आउने पर्यटक मध्ये धेरैको रोजाई यहाँका धार्मिक क्षेत्रको भ्रमण हुने गरेको पाइएको छ । लुम्बिनी, पशुपतिनाथ लगायत पुरातात्विक महत्वका सांस्कृतिक सम्पदाका कारण पर्यटक आकर्षित हुने गरेका छन् । काठमाण्डू उपत्यका बाहिर मुलुकको धार्मिक पर्यटनको सम्भावना बढेको शहरमा धरान पनि उल्लेखनिय रहँदै आएको छ । धरानमा साउन लागेपछि शुरु हुने बोलबमको यात्राका लागि भारतीय र तेस्रो मुलुकबाट समेत आउने धार्मीक पर्यटक आउँछन् । भारतीय पर्यटक भारतको चारधाम घुमेर आएपनि नेपालको पशुपतिनाथ तथा धरानमा रहेको पिण्डेश्बर बाबा धाम, दन्तकाली, बुढासुब्बा लगायत धार्मीक स्थलहरुको दर्शन गर्न आउँने गरेका छन् ।

विश्वकर्मा मन्दिर, धरान ।

विश्वव्यापी कोरोना महामारीका कारण यसपाली भने धरानमा धार्मिक पर्यटक आगमनको संख्या शुन्यमा झरेको छ । पिण्डेश्वर बाबाधाम समितिका अध्यक्ष बिकास बनेपालीका अनुसार पछिल्लो समय कोरोनाका कारण पर्यटक धरानको पिण्डेश्वर क्षेत्रको जीवन्त सम्पदास्थलको अवलोकन, मठ, मन्दिर आदिको अवलोकन गर्न आउँने गरेकामा कोरोना महामारीका कारण धार्मिक पर्यटकको संख्या शुन्यमा झरेको हो ।

पिण्डेश्वर विद्यापिठ, धरान ।

अघिल्लो वर्ष पिण्डेश्वर धाममा साउन महिना भरीमा ५ लाख तिर्थयात्री आएको बाबाधाम समितिले जनाएको थियो । धार्मिक पर्यटनका लागि नेपालमा भारत, श्रीलङ्का, मलेसिया, सिङ्गापुर, बेलायत, अमेरिका, अष्ट्रेलिया, क्यानाडालगायत मुलुकबाट पर्यटक आउने गरेका छन् । सम्पदा अवलोकनका लागि चीन, थाइल्यान्ड, जापान, युरोप लगायतका मुलुकबाट आउने पर्यटक धरानका ऐतिहासिक धार्मिक स्थलको अवलोकनका लागि पनि आइपुग्ने गरेका छन् ।

बराहक्षेत्र र चतराधाम लगायत आसपासका ऐतिहासिक धार्मीक स्थलहरुको भ्रमण गर्ने धार्मीक पर्यटनको केन्द्र धरान नै रहँदै आएको छ । धरानमा मुस्लिम धर्मावलम्बीको ठूलो मस्जिद छ । बौद्ध गुम्बा, इसाई धर्मावलम्बीहरूको चर्च रहेका छन् भने आदिबासी समुदायका धार्मीक एवं सांस्कृतिक केन्द्रको रुपमा पनि धरान लाई मानिदै आएको छ ।

सुनसरी उद्योग बाण्ज्यि संघ धरानकी पर्यटन समिति संयोजक एलिना मगर भन्छिन् ‘धरान आदिबासी जनजातीकोे सहर भएकोले पनि धरान धार्मिक पर्यटन तथा सांस्कृतिक मिश्रित आधुनिक सहर भएकोले पनि धार्मिक संस्कृतिक केन्द्र बनेको छ ।’ धरान जस्तै अन्य मुलुकका शहरहरुमा यस प्रकारको धार्मिक पर्यटनको सेलेबल कमी छ । यो अवस्था धरान धार्मिक पर्यटनको केन्द्र भएका पुष्टी गर्ने आधार भएको उनको भनाई छ ।

उनले बिष्णुपादुका जहा विष्णु भगवान र माता लक्ष्मीले पितृ लाई पिण्ड दिएर श्राद्ध गरेको कुरा श्रास्त्रहरुमा छ । यस्तो धार्मिकस्थल संसारको अरु कुनै मुलुकमा छैन् । पिण्डेश्वरमा हिन्दु धर्मशास्त्रमा वर्षिय धार्मीकस्थल हो । बुढासुुब्बा मंदिरमा संसारमा कहि नपाईने टुप्पो नभए बाँस, माटोको ढिस्कोलाई नै पुजा अर्चना गरिने बताउ“दै उनले भनिन् ‘यस्ता टिपिकल कुराहरुले धार्मिक पर्यटनमा धरानको छुट्टै महत्व छ ।’

तर, कोरोना महामारीका कारण आन्तरिक पर्यटन समेत ठप्प भएको अवस्थामा धरानको पर्यटन विकासको अघि धेरै चुनौतीहरु आइपरेको छ । कोरोना माहामारीको चपेटामा परी महिनौ सम्म धार्मिक स्थलहरु खुल्न नसक्दा धार्मिक स्थलहरुमा स्थानिय चहल पहल समेत शन्य अवस्थामा छ । यसबाट मन्दीरहरुको आर्थिक गतिविधिमा आश्रित समुदायको दैनिकी प्रभावित भएको छ । स्थानिय धार्मिक स्थालहरुका गतिविधिमा नदेखीँदो पाराले राजनीतिक प्रभाव देखिने गरेपछि कोरोना महामारीका कारण ठप्प भएका धार्मीक स्थलहरुको जिर्णोद्वार, सरसफाईको व्यवस्थापन गर्ने अवसरको रुपमा उपयोग गरिएको भने पाइएको छैन् ।

मठ मन्दिरमा मानविय चाप शुन्य भएको बेला धार्मिक सम्पदा क्षेत्रको अतिक्रमण हटाउने कार्य भएको देखिन्न । यसै बेला त्यस्ता स्थलको सुरक्षाका योजना तथा पर्यटकीय सूचनाको व्यवस्थापन गर्ने अवसर पनि हो । धरान उपमहानगरपालिकाले धरानको पर्यटन क्षेत्रबाट प्राप्त लाभ लिन सकेको छैन । पूर्वाधार विकासमा लगानी गरेर धार्मीक स्थलहरु लाई पर्यटकीय सेवा विविधिकरण गरी नयाँ आयश्रोतको आधार बनाउने अवसरको रुपमा उपमहानगरपालिकाले उपयोग गर्न जरुरी छ । कोरोना महामारीका कारण उपमहानगरपालिको आम्दामीमा हुने ह्रास लाई परिपूर्ती गर्ने धार्मीक स्थालहरु नयाँ आय श्रोतका माध्यम बन्न सक्दछ ।

कोरोना महामारीले सिर्जना गरेको शुन्यता लाई अवसरको रुपमा उपयोग गर्न सके पर्यटनको क्षेत्रमा धरानले गर्नुपर्ने कार्यहरु धेरै छन् । पर्यटन विकासका लागि धरान बहुजातिय सांस्कृतिक विशिष्ठता महत्वपूर्ण आधारको रुपमा रहेका छ । यस्को मौलिकता लाई प्रोत्साहित गर्दै यहाँको कला संस्कृतिको संरक्षण लाई पर्यटकीय आकर्षणको शिक्षा र चेतना अभिबृद्धिका लागि यो समय लाई अवसरको रुपमा उपयोग गर्न सकिन्छ ।

हिमालयन गुम्बा, धरान ।

यसै बेला धरानको धार्मिक लगायतका पर्यटकीय सम्भावनाहरुको व्यवसायिकताको विकासका लागि दक्ष जनशक्ति तयारी गर्ने अवसर बनाउन पनि जरुरी छ । मुलुक संघीय ढाँचामा प्रवेश भैसकेको बेला समग्र स्थानीय सरकारको रुपमा रहेको धरान उपमहानगरपलिकाले सबैखाले पर्यटन प्रवर्द्धनका नयाँ संरचना निर्माण गर्ने अवसरको रुपमा पनि यस्लाई उपयोग गरिनु पर्दछ । कोरोना महामारीले पर्यटन क्षेत्रमा सिर्जना गरेको मन्दी तत्काल पूनर्जिवित हुन निकै समय लाग्ने सम्भावना छ ।

धरान उपमहानगरपालिकाका मेयर तिलक राईले भने ‘धरानको पर्यटन विकासका लागि उपमानगरपालिकाले १ करोड बजेट छुट्याएको छ ।’ पर्यटनको क्षेत्रमा महत्वपुर्ण योजनाहरु सहित १५ बुँदे कार्ययोजना समेत पारीत गरी कामपनि भईरहेको उनले बताए । पर्यटकीय स्थलहरु र कार्यक्रमहरुको प्रचारका लागि सामाजिक सञ्जाल र आधुनिक सुचना प्रबिधिको माध्यम प्रयोग गरिएको छ । धरानको पहाडी क्षेत्रमा पर्ने वडा लाई पर्यटकीय बनाउने काम जारी छ । साहसिक पर्यटन, साईक्लिनिङ, पदयात्रा होमस्टे जस्ता नयाँ आकर्षणले कोरोना महामारी बाट प्रभावित धरानको पर्यटनले चाँडै गति लिने मेयर राईले विश्वास व्यक्त गरे । कोरोना प्रभावित मुलुकहरुका होटलहरु पर्यटकका लागि सुरक्षाको अनुसरण गरी धरानका होटलहरु सञ्चालन गर्न प्रोत्साहित गरिने उनले बताए । सुरक्षा उपाय अवलम्बन गर्दै पर्यटक लाई हलुका सवारीहरु उपमहानगरपालिकामा दर्ता गराई सवारी चालकहरुलाई गाईडको रुपमा बिकास गरिनेछ । धरानलाई रुद्राक्षको भुमिको रुपमा स्थापित गर्न रुद्राक्षको बृक्षरोपन र ब्यवसायीक उत्पादनमा प्रोत्साहन दिईने योजना रहेको उनले बताए ।

विश्वव्यापी मन्दी लाई पूनर्जिवन प्रदान गर्ने महत्वपूर्ण आधार भनेको आन्तरिक पर्यटन सुचारु गराउने कार्यक्रमहरु तर्जुमा नै हो । यस बेला धरानले नयाँ परिस्थिति अनुसार अन्तर जिल्ला, शहर गाउँ तथा अन्तराष्ट्रिय परिवेश अनुकूल हुने गरी नयाँ पर्यटन नीति बनाउन आवश्यक छ । स्थानिय धार्मीक स्थलहरुमा कोरोना संक्रमणको सुरक्षाका उपायहरु अपनाउँदै सुचारु गराउने कार्यक्रम लागु गराउने तयारीमा गरिनु पर्दछ ।

लकडाउनका बन्द रहेको सार्वजनिक यातायात खुल्ने वित्तिकै आन्तरिक पर्यटक आकर्षित गराउन त्यस्तो कार्यक्रमले सघाउ पुर्याउने छ । धरानको धार्मिक लाई अन्य पर्यटन क्षेत्र सँग विविधिकरण, गुणस्तरीयताको दृष्टिले प्रवर्द्धन गर्ने अवसरको रुपमा पनि कोरोना महामारीले सिर्जना गरेको अवस्था लाई उपयोग गर्नुपर्दछ ।

धार्मीक पर्यटनको दृष्टिले नेपाल संसारकै लागि आकर्षक गन्तव्य रहँदै आएको हो । कोरोना महामारीका कारण पर्यटन क्षेत्र ठप्प रहेतापनि ढिलोचाँडो पूर्व अवस्थामा फर्कने निश्चित छ । धार्मिक पर्यटनले नयाँ गति लिएसम्म धरानको धार्मिक पर्यटनको तयारीमा लाग्ने अवसर कोरोनाले प्रदान गरेको छ ।

धार्मी पर्यटनको तथ्यांक अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय द्वारा प्रकाशित ‘नेपालको पर्यटन तथ्याङ्क २०१५’ मा नेपाल आउने पर्यटकको पहिलो रोजाइँ शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी रहेको देखिएको छ । सन् २०१५ मा एक लाख २९ हजार १८० जनाले लुम्बिनी घुमेका छन् भने सन् २०१४ मा एक लाख ३२ हजार ९२६ जनाले भ्रमण गरेका थिए । त्यस्तै पशुपतिनाथ मन्दिरको अवलोकन भ्रमणका लागि आव २०७२/७३ मा करिब ९० हजार पर्यटकले भ्रमण गरेका छन् । पशुपति क्षेत्र विकास कोषको तथ्याङ्क अनुसार सबैभन्दा बढी गत आव २०७१/७२ मा एक लाख ६६ हजारले भ्रमण गरेका तथ्य हामी सामु रहेकै छ । पर्यटन मन्त्रालयका अनुसार सन् २०११ मा एक लाख ४३ हजार ८८७, २०१२ मा एक लाख ३९ हजार ८८५ र सन् २०१३ मा एक लाख ५६ हजार ८५८ पर्यटकले पशुपतिनाथको मात्र भ्रमण गरेका छन् ।

धरान नगरपालिका पर्यटन समितिका सह–संयोजक किशोर थुलङु भने धरानमा आउने धार्मिक पर्यटकहरुको आधिकारीक तथ्यांक उपमहानगरपालिका सँग नभएको बताउँछन् । उनले भने ‘धार्मिक पर्यटनमा यसपाली कोरोना महामारीका कारण अघिल्ला बर्षहरुमा भन्दा ९९ प्रतिशत नै कमी आएको छ ।’ अनुमानको हिसाबले अघिल्ला करिब ५ लाख धार्मिक पर्यटकहरु धरान भित्रिएका थिए । चाडपर्बहरु, धरानमा लगाईने ईष्ट मार्ट कार्यक्रममा धेरै पर्यटक धरान आएको उनको भनाई छ ।

धरान ८ तिनकुने स्थित शनि तथा बिश्वकर्मा मन्दिर धार्मिक पर्यटककै आधारमा चलेको फुलपाती बेच्दै आएका भुमिलाल चौधरी बताउँछन् । उनले भने ‘कोरोना महामारी र लडकडाउनले भने सवारी ठप्प भएकोले मासिक रुपमा लाखौं रुपैयाको ब्यापार चौपट भएको छ ।’ एक माहिनामा ५ लाख रुपैया सम्मको फल फुल तथा धुप बत्तीको व्यापार गर्दै आएको उनी बताउँछन् ।

दन्तकाली शक्तिपीठ, धरान ।

नेपालको धार्मिक पर्यटनको यो परिदृष्यमा धरानको धार्मिक पर्यटन लाई कोरोना महामारीले प्रभावित गरेतापनि निराश भैहाल्ने अवस्था भने छैन । बरु महामारीको विच धरानले धार्मिक पर्यटन बिकासमा तत्काल गर्नुपर्ने कुराहरुमा गम्भिर ध्यान पुर्याउन जरुरी छ । ती कार्यहरुमा उपमहानगरपालिकाले धरानको धार्मिक पर्यटन क्षेत्रको पुनःसंरचना, प्रदेश, स्थानीय तह अनुसारको प्रोफाइल तयार गर्न जरुरी छ । पर्यटन नीति, २०६५ प्रतिस्थापन गरी नयाँ पर्यटन नीति जारी गर्नु पर्ने पर्यटन ऐन तथा अन्य कानूनहरुमा स्थानीय सरकारले परिमार्जन ल्याउनुपर्नेमा ध्यान पुर्याउनु पर्दछ । धरानको पर्यटकीय स्थालहरुमा कोरोना संक्रमण बाट सुरक्षा र निगरानी बढाउने नीति अवलम्बन गर्न जरुरी छ । यस सन्दर्भमा पर्यटन उद्योग सञ्चालन सम्वन्धी व्यवसायिक आचार संहिता निर्माण र कार्यान्वयन अपरिहार्य हुन्छ ।

आन्तरिक पर्यटन प्रवर्द्धन अभियान सञ्चालन गर्दै महामारीको परिस्थिति विच तिर्थयात्रीहरुमा विश्वासको बातावारण निर्माण गर्न शहरी तथा अन्तर प्रदेश पर्यटन प्रवर्द्धन गर्न स्थानिय रणनीति तयार गरी कार्यान्वयनमा ल्याउनु पर्दछ । उपमहानगरपालिकाले पर्यटन पूर्वाधारमा लगानी बृद्धिका लागि पर्यटन उद्यमीहरुको लगानी सम्मेलन गर्न जरुरी छ ।

पर्यटन विकाशको क्षेत्रमा लगानी गराउँदा वातावरणीय दीगोपनामा जोड दिने, परम्परागत मौलिक संस्कृतिहरुको संरक्षण र प्रवर्द्धन गर्ने, पर्यटन व्यवसायीहरु लाई धरानको पर्यटन व्राण्ड तथा सह व्राण्डको विकास गर्ने गृहकार्य गर्न आवश्यक पहल गरिनु पर्दछ । धरानमा पर्यटन मेला तथा उत्सवहरु आयोजन गरी राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रका शहर गाउँहरुको सहभागिता गराउने कार्यक्रम तर्जुमा गरिनु पर्दछ ।

सैद्धान्तिक रुपमा सामान्यतः पर्यटन भन्नाले एक ठाउँबाट अर्को ठाउँको भ्रमणमा सहायता गर्ने कार्य एक अर्का ब्यक्तिबाट गर्नै कृयाकलापलाई जनाउँछ । विश्व पर्यटन संगठन (युएनडब्लुटिओ) को परिभाषा अनुसार आफ्नो नियमित बासस्थानबाट बिदा मनाउने, व्यापार गर्ने वा त्यस्तै अन्य कुनै उद्देश्यले चौविस घण्टा भन्दा बढी समय र लगातारको एक वर्ष भन्दा कम समय बाहिर विताउन निस्कने व्यक्तिलाई पर्यटक भनिन्छ । यस्ता पर्यटकहरुलाई सशुल्क घुमाउने, आवासको व्यवस्था गर्ने, यातायात मिलाउने, दृश्यावलोकन गराउने आदि कार्य गर्ने क्षेत्रलाई पर्यटन भनिएको हो ।

धरान लाई पर्यटकीय शहर बनाउने हो भने धरानका होटल, रेष्टुराँ मात्र नभर सबै व्यवसायीले यस्लाई मनन गर्न जरुरी छ । धरानबासीले यो विर्सन हुन्न प्राचीनकालमा रोमन रिपब्लिकको समयदेखि ठूला भवनहरु हेर्न, कला कौशलको मजा लिने, नयाँ भाषा सिक्ने, नयाँ संस्कृतिहरुको अनुभव लिने र विभिन्न प्रकारका स्वादिष्ट खानाहरुको स्वाद लिन सम्पन्न मानिसहरु आफ्नो घरबाट टाढाका ठाउँहरुमा जानका लागि निस्कन्थे । यसै क्रममा पर्यटक भन्ने शब्द सन् १७७२ मा र ‘पर्यटन’ भन्ने शब्द सन् १८११ मा प्रयोग भएको ऐतिहासिक दस्तावेजहरुमा पाईन्छ ।

(धरान उपमहानगरपालिका र नेपाल पत्रकार महासंघ सुनसरीको सहकार्यमा सञ्चालित पत्रकार लेखनवृत्ति कार्यक्रमका लागि तयार गरिएको फिचर)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *