क्वारेन्टाइनमा अतिरिक्त सुविधा : भान्सा, टिभी र इन्टरनेट

बागलुङ । क्वारेन्टिन व्यवस्थापनलाई लिएर प्रश्न उठिरहेका बेला यहाँका केही वडाले भने स्तरीय क्वारेन्टिनको प्रबन्ध गरेका छन् । क्वारेन्टिनस्थलमा बस्ने समूहका अलग भान्सा छन् ।
टिभी, इन्टरनेटलगायत अतिरिक्त सुविधा दिइएको छ । व्यवस्थापनमा स्थानीयवासी खटिएका छन् । गलकोट नगरपालिका–७ मल्मस्थित प्रगति आधारभूत विद्यालयमा निर्मित क्वारेन्टिनको निगरानीका लागि ‘सिसी क्यामेरा’समेत जडान गरिएको छ ।
सो क्वारेन्टिनमा अहिले भारतबाट आएका चार जना छ । सोही वडाको जनहित माध्यमिक विद्यालयको क्वारेन्टिनमा आठ, दीपज्योति आधारभूत विद्यालयमा चार र म्याले सामुदायिक भवनमा एक जना छन् । विदेशसहित बाहिरी ठाउँबाट आएका वडावासीको क्वारेन्टिन बसाइलाई सहज तुल्याउन यथाशक्य प्रयास गरिएको प्रगति आवि क्वारेन्टिन निर्माण तथा व्यवस्थापन समितिका संयोजक थम्मन थापाले बताए ।
‘खाद्यान्न, विस्तारा र व्यक्तिगत सरसफाइका सामग्री नगरपालिकाले उपलब्ध गराएको छ’, संयोजक थापाले भने, ‘बाँकी स्थानीय रुपमा व्यवस्थापन गरेका छौँ ।’ व्यवस्थापन समितिले नै भान्साका लागि ग्यास चूल्हो, भाँडाकुँडा आदि उपलब्ध गराएको छ । जनहित माविको क्वारेन्टिनमा रहनुभएका राजु चोखालले इन्टरनेट हेरेर समय बित्ने गरेको बताए ।
‘हामी तीन जनाको समूह बनाएर बसेका छौँ, भान्सा पनि छुट्टाछुट्टै छ’, उनले भने, ‘खाना, बसाइमा कुनै कमी र असुविधा छैन ।’ बरु, क्वारेन्टिनको बसाइ लम्बिएकामा उनको गुनासो छ । उन क्वारेन्टिन बसेको २१ दिन भयो । आठ दिनअघि कोरोना जाँचका लागि स्वाब लिइए पनि अझै रिपोर्ट आएको छैन । प्रगति माविको क्वारेन्टिनमा बस्नेले पनि टिभी र इन्टरनेट हेरेर दिन काट्छन् ।
समय बिताउने माध्यम भएपछि एक्लोपनाको महसुस गर्न पाएका छैनन् । सुविधायुक्त क्वारेन्टिनस्थलले केही सन्तोष दिएको छ । व्यवस्थापन समितिले क्वारेन्टिनस्थलको सुरक्षा निगरानी र रेखदेख गर्दै आएको छ । क्वारेन्टिनको अनुशासनलाई कडापूर्वक पालना गराउन नियमित अनुगमनसमेत हुने गरेको छ । नगरपालिकाका पदाधिकारीसमेतले बेलाबेला निरीक्षण गर्छन् । सो क्रममा नगरकै उत्कृष्टमध्येमा ७ नं वडाका क्वारेन्टिन ठहरिएको वडाध्यक्ष टीकाबहादुर थापाले बताए ।
क्वारेन्टिनमा बस्नेको सङ्ख्या कम भएकाले पनि स्तरीयता कायम गर्न सहज बनेको उहाँको भनाइ छ । क्वारेन्टिनस्थलको चुस्त व्यवस्थापनमा स्थानीयवासीकोसमेत उत्तिकै सहयोग छ । कसैले खाट त कसैले टिभी दिएका थिए । नगरपालिकाबाट आउने रकमबाहेकको खर्च वडा र व्यवस्थापन समितिले ब्यहोर्ने भएका छन् । रासस








