सुशान्तसिंह आत्महत्या प्रकरणः सलमान खानसहित ८ जनाविरूद्ध मुद्दा

काठमाडौं । बलिउड अभिनेता सुशान्तसिंह राजपूतको आत्महत्या प्रकरणमा अभिनेता सलमान खानसहित ८ जनाविरुद्ध फौजदारी मुद्दा दायर भएको छ ।

वकिल सुधिर कुमार ओझाले बिहार अदालतमा अभिनेता सलमान खान, निर्माता तथा निर्देशकहरू करन जोहर, एकता कपुर, सञ्जयलीला भन्साली, आदित्य चोपडा, साजिद नाडियडवाला, भुषण कुमार लगायत ८ जनाविरूद्ध फौजदारी दायर गरेको भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाले जनाएको छ।

वकिल ओझाका अनुसार उनले सेक्सन ३०६, १०९, ५०४ र ५०६ अन्तर्गत मुद्दा दायर गरेका हुन् । अदालतले आगामी जुलाई ३ को सुनुवाइ मिति दिएको छ। उनीहरु सबै सुशान्तको मृत्युको कारण भएको भन्दै ती वकिलले मुद्दा दायर गरेका हुन्, जसमा साक्षीको सूचीमा अभिनेत्री कंगना रनावतको नाम राखेका छन् ।

टाइम्स अफ इन्डियाका अनुसार यी ८ व्यक्तिले सुशान्तका फिल्म रिलिज हुन बाधा पैदा गरेको र यिनीहरूकै कारण सुशान्तलाई फिल्मी कार्यक्रमहरूमा पनि बोलाउन छाडिएको मुद्दामा उल्लेख छ।

अभिनेता सुशान्तसिंहले यही आइतबार मुम्बईस्थित आफ्नै फ्ल्याटमा आत्महत्या गरेका थिए । टिभी सिरियलमा आफ्नो अभिनयको जादु देखाएपश्चात फिल्ममार्फत् मानिसको दिलमा आफ्नो स्थान बनाउने अभिनेता सुशासन्तको मृत शरीर आइतबार उनको फ्लाटमा झुण्डिएकाे अवस्थामा फेला परेकाे थियाे ।

मुम्बईको बान्द्रा इलाका जहाँ उनी भाडाको फ्लाटमा बस्ने गर्थे, सोही फ्लाटबाट उनको मृत शरीर बाहिर निकालिएकाे थियाे । आत्महत्याको कारण भने अझै पत्ता लागिसकेको छैन । यद्यपी उनी ६ महिनादेखि डिप्रेशनसँग लड्दै गरेको कुरा बाहिर आएको छ । सुशान्तको पोस्टमार्टम रिपोर्ट पनि आइसकेको छ । रिपोर्टका अनुसार फाँसीमा झुण्डिँदा घाटी च्यापिएर श्वास रोकिइ मृत्यु भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 9 =