बेवारिसेका सारथीको लकडाउनः निरन्तर जारी छ सदगद् र उद्दार !

काठमाडौं । कहाँबाट सुरु हुन्छ, कहाँ पुगेर टुंगिन्छ जीवन…!

कोही महलबाट सडकमा पुग्छन् त कोही सडकबाट महल । रहस्यमय छ, प्रभूलीला !

खैर, महलका छोडिदिउँ, आउनुस् सडकका कुरा गरौँ…।

बेवारिसे र बेसहाराहरु ती हुन्, जो सडकमा रात अनि दिन बिताउँछन् । आफन्त त हुन्छन् तर कसैबाट पाएका हुँदैनन् सहायता, जो बाँचुन्जेल बेवारिसे मान्छे र मृत्युपछि बेवारिसे शव भनेर चिनिन्छन्, गनिन्छन् !

तीनैका संरक्षक, अभिभावक तथा लालन–पालनकर्ता बन्ने अभियानमा छन् सामाजिक अभियान्ता विनयजंग बस्नेत । ललितपुर घर भएका उनी स्वयमले पनि बेवारिसेपन महशुष गरेका तथा भोगेका कारण ती सबैलाई सम्मान गर्छन्, जो सडकमा अन्धकार जीवन बिताइरहेका हुन्छन् ।

ती बेवारिसेको उद्दार, उपचार, सहयोग र सदगदमा रातदिन खटिइरहेका विनय लकडाउन अवधिमा पनि भोकाएका तथा अलपत्र परेकाहरुको भोक–प्यास मेटाउनतिर सक्रिय छन् । राति अबेरसम्म पनि सडकमै घुमिरहेका हुन्छन्, उद्दारका लागि ।

असहाय तथा बेसहाराको सेवामा जीवन समर्पित गर्ने उद्देश्य राखेका विनयको दैनिकि लकडाउनमा पनि उस्तै छ– सडक, आश्रम, अस्पताल, पशुपति आर्यघाट धाउने । सहयोग, उद्दार र सदगद गर्ने ।

‘म बेवारिसे शव सदगदमै छु । आश्रम, अस्पताल, पशुपति आर्यघाटमै दिन बितिरहेको हुन्छ,’ विनय भन्छन्,- ‘लकडाउनको दोस्रो दिनदेखि नै सडकमा भएका बेवारिसेहरु जसले मागेर समेत खान पाएका छैनन्, उनीहरुलाई खाना खुवाउनमा पनि सक्रिय भएर लागिरहेको छु । साथै पैसा भएर पनि खान नपाएकाहरु, जो घर फर्कन क्रममा अलपत्र परेका हुन्छन्, उनीहरुलाई समेत सहयोग गरिरहेको छु ।’

अदृश्य दुश्मन (कोरोना भाइरस) सँगको लडाईं जारी छ । विश्व नै त्रासमा छ । भयभित छन् नागरिक । डर छ सबैमा, संक्रमण, संक्रमणपछि समाजले गर्ने व्यवहार र त्यसबाट हुने मृत्युदेखि !

विनयजंग बस्नेत र सपना राेका मगर

जिवित मान्छेको नजिक पर्न समेत डराउनुपर्ने अवस्थामा विनय भने निरन्तर बेवारिसेको सेवामा छन् । उनको जीवनको एउटै नारा छ–‘कोही बेवारिसे हुनु नपरोस् । कसैको बेवारिसे मृत्यु नहोस् ।’

जीवनका यी नारालाई व्यवहारमा समेत उतारेका छन् उनले, र त दिन–रात नभनि सेवामा खटिन्छन् । आफूलाई भोक लागे–नलागेको थाहा हुन्न बरु, सडकमा बस्नेको अन्तरमनको कुरा समेत बुझ्छन् उनी ।

०००                            ०००                               ०००

सडकमा बस्नेहरुको जस्तै विनयको पनि आफ्नै कथा–व्यथा छ…,

आमाको मृत्युपछि परिवारको जिम्मेवारी विनयको थाप्लोमा पर्यो । चार सन्तानमध्ये जेठा उनी भाइबहिनी सम्हाल्ने, बुवाको रेखदेख, चुलोचौकोदेखि अध्ययनसम्म भ्याउँथे ।

यसैगरी बित्दै थिए, रात अनि दिन ।

अचानक उनको जीवनमा कुनै महिलाको प्रवेश भयो । अरु कसैलाई गरेको ‘कल’ झुक्किएर जहाँ पुग्यो, त्यहीँ बस्यो प्रेम । परिवारको सहमतिमा मगरकी छोरी कमला बस्नेतकी बुहारी भइन् । उनको प्रवेशपछि भने घरको स्वरुप नै बदलियो । घर, घरजस्तो भयो । स्वर्ग भन्दा कम थिएन ।

भाइबहिनी, गाउँले सबै झुम्मिन्थे उनीसँग । भाइबहिनीलाई आमाको अभाव महशुष हुन दिइनन् कमलाले । स्वभाव पनि ठ्याक्कै विनयको आमाको जस्तै । फरासिली । हँसिली । पछि घर नै उनैको नामले चिनियो ।

घर व्यवहार, खेतीपाती उनैले धानिन् । विनयको काँध हलुको भयो । जोडी खुब जमेको थियो । विश्वास थियो एकअर्कामा । ललितपुरको एउटा गाउँको उदाहरणीय जोडी थियो । डाह गर्थे छिमेकी !

सायद नजर तीनैको लाग्यो, टिकेन बिवाह !

जसोतसो ६ वर्ष टिक्यो । हिटलर भन्दा कम थिएनन् कमलाको बुवा । उनैले चुँडे विनयको खुशी ।

उनको आधा अंग ‘अर्धाङ्गिनी’ खोसियो । उनी गएपछि विनयलाई साँच्चै आधा अंग नचलेजस्तै भयो !

भाइबहिनी सबैको जोडी बाँधिदिएकी थिइन् कमलाले । विनयको प्रेममा पनि खोट थिएन । अथाह थियो प्रेम, गहिरो, सागरजस्तै । विनयका अगाडी झुक्ने गाउँलेलाई कमलाको पाउमा पारिदिए उनले । झुकाए । तर बुझिनन् कमलाले । लत्याइन् प्रेम !

बिग्रिए विनय । कुलत बढ्यो । संगत उस्तै । अनि…बेवारिसे !

एकैरातमा बेवारिसे, जड्याह भएका होइनन् उनी । सुरुमा अलिअलि खान्थे साथीहरुसँग । श्रीमतीले साथ छोडेपछि बिस्तारै लत लाग्यो, रक्सी नखाइकन केही गर्नै नसक्ने, बोल्नै नसक्ने, हिँड्नै नसक्ने भए ।

भएका पैसा पनि सिध्याए । त्यसपछि आफन्त, साथीभाईसँग माग्न थाले ढाँटेर । कतिपटक त चोरे, ठगे पनि ! किनकी कसैले विश्वास नै गर्न छोडे । घरमा पनि थिएन पैसा । त्यसपछि कुल्ली कामसम्म गरे । सडकमा मागेर समेत बसे । त्यसरी कसैबाट अपहेलित भइसकेर सडकसम्म पुग्नलाई केही नभएपनि ८–१० वर्ष लाग्यो भन्छन् विनय ।

भनिन्छ नि– कुलतमा (रक्सीको लत) फसेको मान्छेले त्यो पाउनका लागि जे पनि गर्छ । विनयले पनि त्यही गरेका हुन् । श्रीमतीले छोरीको फिस तिर्न राखेको पैसा समेत चोरेर रक्सी खान्थे उनी ।

कमला गएपछि त भएको भाउ पनि घट्यो विनयको । कतिले उनको कमजोरीको फाइदा उठाए । भारी बोकाए । कति रात सडकमा सुते । आफन्त, इष्टमित्र, परिवार, साथीभाई सबैबाट पर थियो उनको जीवन । कमला हुँदा भरिभराउ हुने घर चाडवाडमा शून्य भयाे ।

मान, इज्जत, प्रतिष्ठा, सबै गुमे । कसैले मिठो बोलिदिए हुन्थ्यो, आफूसँग बसेर हाँसखेल गरिदिए हुन्थ्यो भन्ने लाग्थ्यो तर सबैले बेवास्ता गर्थे । उनलाई जीवन, जीवन जस्तो लाग्नै छोड्यो ।

हरेक दिन मनमा उही भावना आउँथ्यो– ‘म बाँच्दिन, मर्छु !’

०००                            ०००                               ०००

जीवन जसोतसो उनैको यादमा बित्दै थियो । भाइ बिवाहपछि ससुरालीतिरै बस्न थाले । बहिनीहरु आ–आफ्नै घर गृहस्थी सम्हाल्न व्यस्त थिए । एक्ला थिएनन् उनी, बुवा थिए साथमा ।

एकदिन, एकाबिहानै खाना खाएर साथी कहाँ जान्छु भन्दै बुवा हिँडे । दुई दिनसम्म वास्तै भएन । साथीकहाँ बसे भन्ने भयो । तेस्रो दिनसम्म पनि नफर्किएपछि विनय बुवाको साथीकहाँ गए । ‘अस्ती फर्किसक्नु भयो’ भन्ने जवाफ आयो । आत्तिए । खोज्न थाले, गाउँलेको सहयोगमा ।

अँह भेटिएनन् बुवा !

त्यही (तेस्रो) दिन साँझ टिचिङ अस्पतालबाट फोन आयो, त्यहाँ पुगेको रैछ बुवाको शव । दाहसंस्कार गरे । बुवा बितेपछि भने झन् एक्लो भए विनय । सुध्रिन चाहन्थे । तर पैसा थिएन । पिउन्जेल वितण्डा, छोडेपछि छ्याङ्ग ! छट्पटी हुन्थ्यो । जीवन नै सकिए जस्तो । न अगाडी जाने बाटो छ । न पछाडी फर्कने समय ।

मामाको छोराले यतिबेला गुन लगाए । अमेरिकाबाट आएर उनलाई ‘रिहाब’ (सुधार केन्द्र) मा भर्ना गरिदिए । त्यहीँ बुझे जिन्दगी अनि सुध्रिए विनय । ७/८ वर्ष भयो, दुर्व्यसनी छोडेको । अहिले सबैसँग राम्रो सम्बन्ध छ उनको ।

०००                            ०००                               ०००

उबेला बेवारिसे बनेका विनय अहिले बेवारिसेका सारथी बनेका छन् । ती कथा, व्यथालाई किनारा लगाउँदै अविरल सेवा यात्रामा बगिरहेका छ उनको जीवन । सडकको जीवन आफू स्वयमले भोगेका कारण पनि उनी त्यो जीवन कसैले भोग्नु नपरोस् भन्ने सोच्छन् र सकेसम्म जिवितै उद्दार गर्ने प्रयासमा लाग्छन् ।

भन्छन्– ‘म पनि पहिले त्यस्तै बेसहारा र बेवारिसे मान्छे हुँ । बेवारिसे मृत्यु हुनबाट मात्रै बचेको हुँ । मेरो एउटा बेग्लै प्रकारको विगत छ । मेरो बुवाको मृत्युपछि हो म बेवारिसे भएको । बुवाको बेवारिसे मृत्यु भएका कारण म यो सेवामा लागेको हुँ !’

यो लकडाउनको समय भने अझै चिन्ता लाग्छ उनलाई बेवारिसेको । त्यसैले पनि खटाइ बढी छ । बिहान उठेदेखि साँझ अबेरसम्म सडकका गल्ली–गल्ली चहार्छन्, कतै भोकाएका बेवारिसे छन् कि भन्दै !

बेवारिसे शव सदगद् गर्दै विनय र सपना

‘यो समय मागेर खान्छु भन्नेले समेत खान पाएका छैनन् । प्लास्टिक टिपेर खान्छु भन्नेहरुले काम पाएका छैनन् । उनीहरु भोकले छट्पटाएको म देख्न सक्दिनँ । त्यसैले अधिकांश समय म सडकमै बिताउँछु, उनीहरुसँगै रमाइलो गर्छु । खाना खुवाउँछु’, विनय बताउँछन् ।

उनले बेवारिसेको पेट मात्रै भर्दैनन्, नयाँ जीवनको अवसर समेत दिलाइदिन्छन् । कसैलाई आश्रम त कसैलाई रिहाब (सुधार केन्द्र) मा राखेर निःशुल्क उपचार गराइदिन्छन् । जीवनको अर्थ बुझाइदिन्छन् । मार्ग देखाइदिन्छन् ।

उनी भन्छन्– ‘उपचारपछि उनीहरुको आफन्त भेटिए भने आफन्तलाई जिम्मा लगाउँछु । आफन्त भेटिएनन् भने कि आश्रममा लगेर राखिदिन्छु कि त कुनै पेशामा जोडिदिन्छु । अहिलेसम्म ४२ सय जना बेवारिसेको उद्दार गरिसकेको छु । उनीहरुमध्ये धेरै जनाले व्यवसाय गरिरहेका छन् अहिले ।’

उनको सम्पर्कमा आएका बेवारिसे शवको सदगद् गरिदिन्छन् । सके जिवितै उद्दार गर्छन्, नसके दागबत्ती दिन्छन् । शव खोजी पनि गर्छन्, कति उनैको सम्पर्कमा आउँछन्, अरु मार्फत् । अहिलेसम्म २ सय ४१ वटा शवलाई दागवत्ति दिइसके विनयले ।

बेवारिसे आत्माको पनि शान्तिको कामना गर्दै हरेक वर्ष श्राद्ध समेत गरिदिन्छन् । परिवारका सदस्य बिते जस्तै गरी उनीहरुको नाममा पूजा लगाइदिन्छन् । बत्ति बालिदिन्छन् पशुपतिमा, हरेक वर्ष ।

पैतृक सम्पत्ति, जग्गा बन्धकी राखेर निःश्वार्थ रुपमा समाज सेवामा छन् उनी ।

घरछेउको आफ्नो १ करोड ५० लाख पर्ने ७ आना जग्गामा उनले आश्रम बनाइरहेका छन् । दुई वर्षअघि मन्त्रीले शिलान्यास गरेका थिए, ‘बा–आमा घर’ । निर्माण पुरा हुन सकेको छैन अहिलेसम्म आर्थिक अभावका कारण । ७७ वटै जिल्लामा आश्रम बनाउने इच्छा छ उनको तर राज्यस्तरबाट कुनै सहयोग आएको छैन । न त स्याबास नै । उनी ऋण लिएरै भएपनि सहयोग गरिरहेका छन् ।

भन्छन्– ‘विदेशका साथीहरुले पनि केही सहयोग गरिदिनुभएको छ । साथ दिनुभएको छ । खुशी लाग्छ । अब राज्यले नै ध्यान दियो भने राम्रो हुने थियो । तर म आफू बन्धकी नै बन्नुपरे पनि यो सेवाप्रतिको निरन्तरता जारी राख्नेछु । कुनै न कुने दिन राज्यको ध्यान पुग्छ भन्ने विश्वास छ ।’

०००                            ०००                               ०००

लकडाउनमा भने केही प्रभाव परेको छ सदगदमा । लकडाउनमै जो उमेर पुगेर बितेका हुन्छन्, त्यस्ता व्यक्तिहरुलाई कतिले कोरोनाका कारण मृत्यु भएको भन्दै हल्लाखल्ला गरे, जबकी तीनीहरुको कालगतिले मृत्यु भएको थियो । उनले निर्धक्क सदगद् गरिदिए ।

पशुपतिमा आफ्नै परिवारका सदस्य बितेजसरी दाहसंस्कार गर्ने भएका कारण केही समस्या त भएन उनलाई । किनकी सबै पैसा उनी आफैँ तिर्छन् शव सदगदको । एउटा चिता बुक गरेबापत १८ सय तिर्नुपर्छ उनले । अन्य खर्च त छँदैछन् ।

एकदिन–लकडाउनमा पशुपति आर्यघाटमा कुहिएका लासहरु आए रे, अलपत्र परे रे । कहाँको लाश हो भन्ने खालका कुराहरु पनि गरे एकाध व्यक्तिहरुले । त्यतिबेला भने उनको चित्त दुखेको थियो ।

‘कानून छ, प्रशासनहरु सबै छन्, सबैसँग सहकार्य गर्नुपर्छ । आफन्त खोज्नुपर्छ । समय लाग्छ अनि शव गन्हाउँछ । कसैले खिसिटिउरी गर्दा अलिकति मनमा खिन्नता चाहीँ आउँछ । तैपनि ती बेवारिसेहरुको स–सम्मान सदगद् गर्न पाउँदा खुशी लाग्छ । मरेका आत्माले शान्ति पाउँछन्, मुक्ति पाउँछन् ।’

सडकमा रात-दिन बिताउन बाध्य बेवारिसेका लागि खाना र बस्नकाे व्यवस्था गर्दै विनयजंग बस्नेत

पछिल्लो समय भने उनको सत्कर्ममा एक १८ वर्षीय किशोरी सपना रोका मगरले साथ दिएकी छिन् । उनले मात्रै ५ वटा शव सदगद् गरिसकेकी छिन् । हिम्मतवाली भएका कारण पनि विनय सपनालाई छोरो भन्न रुचाउँछन् ।

हाम्रो समाजमा महिलाहरुले लास छुन, हेर्न हुँदैन, दागबत्ती दिन हुँदैन भनिन्छ । तर सपनाले आफैँले दागबत्ती दिएकी छिन् । यसले युवा जमातमा सकारात्मक सन्देश गएको छ । युवामा पनि समाज सेवा गर्नुपर्छ भन्ने ऊर्जा पैदा गरेको छ ।

‘बेवारिसेको मलामी तथा आफन्त जे भनेपनि हामी दुई जना हुन्छौँ । हामीले हौसला पनि पाएका छौँ । प्रशंसा गर्नुहुन्छ सबैले । पुण्यको काम भन्नुहुन्छ । स–सम्मान दागबत्ती पाउनु लासको अधिकार पनि हो जस्तो लाग्छ मलाई’, खुशी सुनिन्छन् विनय ।

उनलाई धेरैले सुनाउँछन्– तपाईँ त धेरैको लासमा दागबत्ती दिनुहुन्छ । तपाईंको लासमा कसले दागबत्ती दिने हो !

मनमा चिसो पस्थ्यो– ‘साँच्चै म मरेपछि सदगद् कसले गरिदेला ! कसले देला त दागबत्ती ! मेराे आत्मशान्तिको कामना कसले गरिदेला । को बसिदेला किरिया…।’

अब भने यसको पटक्कै चिन्ता छैन उनलाई । किनकी सपना आएकी छिन् उनको जीवनमा– छोरो बनेर । प्रतिनिधि बनेर !

‘मलाई अब मेरो मृत्युपछि बेवारिसेको उद्दार र मेरो सदगद कसले गरिदेला भन्ने चिन्ता छैन । मेरो लासको दागबत्ती दिने सपना छिन् । मेरो जस्तै सडकको जीवन भोगेकी उनी बेवारिसे शव सदगदको प्रतिनिधि भएर आएकी छिन् ! अब ढुक्क छु म !’

याे पनिः  ‘बेवारिसेका सारथी विनयजंग, जो आफैँ बेवारिसे थिए’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − four =