‘बेवारिसेका सारथी विनयजंग, जो आफैँ बेवारिसे थिए’

मंसिर ११, काठमाडौं । हाँस्दा हाँस्दैकि आमाको एक्कासी मृत्यु भएपछि उनको जिम्मेवारी विनयको थाप्लोमा बजारियो ।

१५ वर्षको कलिलै उमेरमा उनलाई घर–व्यवहारले थिच्यो।

साथीहरुसँग खेल्न दौडने उमेरमा उनी चुलोचौकोमा रमाउनु पर्ने भयो । उनी घरधन्धामा गाँजिए ।

बिहान सबैरै उठ । चुलोचौको गर । खाना बनाउ । बुवालाई अफिस पठाउ । भाइबहिनीलाई स्कुल पुर्याउ । कलेज जाउ । फर्केर उही चुलोचौको ।

चार सन्तानमध्ये जेठा हुन् विनय । दुई भाइबहिनीसँगै अर्की डेढ वर्षकी कान्छी बहिनीको लालनपालन गर्नु दिनचर्या बन्यो उनको ।

कलेज दिउँसोको थियो । चटपटे स्वभावका उनी कलेजमा पनि सबैको प्यारो थिए । कति केटी उनैका लागि मरिहत्ते गर्थे । उनैको कारण कक्षा उज्यालो हुन्थ्यो भन्थे साथीहरु ।

कसैलाई हेरिदिन आग्रह गर्दै बामे सर्न थालेकी बहिनीलाई छोडेर कलेज गएका विनयको भने शरीर मात्रै कलेजमा हुन्थ्यो । मन घरमा ।एक दिन विनय कलेजबाट फर्किए । दिनभरी खोजे । बहिनी भेटेनन् । उनी साह्रै ज्ञानी थिइन्, रुन्थिन् त पक्कै भेटिन्थ्यो । रात पर्यो । टर्च थिएन त्यो समयमा । गहुँको छ्वाली बालेर बकुल्ला बारितिर पुगेका विनय अच्चममा परे । उनी त त्यही बारीमा बकुल्ला खाँदै बसेकी रहिछिन् । त्यसपछि उनले नामै बकुल्ली राखिदिए । सायद जीतको उपलक्ष्यमा ।

यसैगरी बित्दै थिए, रात अनि दिन ।

अचानक उनको जीवनमा कुनै महिलाको प्रवेश भयो । अरु कसैलाई गरेको ‘कल’ झुक्किएर जहाँ पुग्यो, त्यहीँ बस्यो प्रेम । परिवारको सहमतिमा मगरकी छोरी कमला बस्नेतकी बुहारी भइन् ।

कमलाको प्रवेशअघि यात्राका क्रममा बेवारिसे अवस्थामा भेटिएको एउटा भाइ, जसले उनको घर व्यवहार सहज बनाइदिएका थिए । विनयलाई खुब सघाउँथे घरधन्धामा । कमलाको प्रवेशपछि भने घरको स्वरुप नै बदलियो ।

घर, घरजस्तो भयो । स्वर्ग भन्दा कम थिएन । भाइबहिनी, गाउँले सबै झुम्मिन्थे उनीसँग । भाइबहिनीलाई आमाको अभाव महशुस हुन दिइनन् । स्वभाव पनि ठ्याक्कै विनयको आमाको जस्तै । फरासिली । हँसिली । पछि घर नै उनैको नामले चिनियो ।

घर भित्र्याउँदा १८ वर्षकी थिइन् कमला । हक्की स्वभाव थियो उनको । घर व्यवहार, खेतीपाती उनैले धानिन् । विनयको काँध हलुको भयो । जोडी खुब जमेको थियो । विश्वास थियो एकअर्कामा । ललितपुरको एउटा गाउँको उदाहरणीय जोडी थियो । डाह गर्थे छिमेकी ।

सायद नजर तीनैको लाग्यो ! टिकेन बिवाह…

जसोतसो ६ वर्ष टिक्यो । हिटलर भन्दा कम थिएनन् कमलाको बुवा । उनैले चुँडे विनयको खुशी । उनको आधा अंग ‘अर्धाङ्गिनी’ खोसियो ।

साँच्चै आधा अंग नचलेजस्तै भयो ।

भाइबहिनी सबैको जोडी बाँधिदिएकी थिइन् कमलाले । विनयको प्रेममा पनि खोट थिएन । अथाह थियो प्रेम । गहिरो सागरजस्तै । आफ्ना पिता, आफन्तले हुँदैन भन्दा भन्दै उनले देवाली (कुलपूजा) मा समेत श्रीमतीलाई संलग्न गराएका थिए । उनका अगाडी झुक्ने गाउँलेलाई कमलाको पाउमा पारिदिए । झुकाए । तर बुझिनन् कमलाले । लत्याइन् ।

बिग्रिए विनय । कुलत बढ्यो । संगत उस्तै । अनि बेवारिसे…

भनिन्छ नि– कुलतमा (रक्सीको लत) फसेको मान्छेले त्यो पाउनका लागि जे पनि गर्छ । विनय पनि त्यही गर्थे । लत लागिसक्यो । श्रीमतीले छोरीको फिस तिर्न राखेको पैसा चोरेर रक्सी खान्थे उनी ।

उनी गएपछि त भएको भाउ पनि घट्यो । कतिले उनको कमजोरीको फाइदा उठाए । भारी बोकाए । कति रात सडकमा सुते ।

उनी सडकको बास सम्झदा हाँस्ने उनी श्रीमतीसँगको बिछोडमा भावुक सुनिन्छन् । बिर्सनै सक्दैनन् उनी त्यो प्रेम । अझै सताउँछन् उनलाई ती प्रेमिल क्षणहरुले ।

‘म अलिअलि गर्दै लतमा फसिसकेको थिएँ । निकै माया गर्थिन् कमला । एक पटक बारीको बकुल्ला बेचेर मलाई ज्याकेट समेत किनिदिएकी थिइन् । गाउँलेले उचाले । उनी उचालिइन् । बुझिनन् मलाई, गइन् छोडेर’, विगत सम्झन्छन् विनय ।

####                                                    ####                                               ####

जीवन जसोतसो उनैको यादमा बित्दै थियो । भाइ बिवाहपछि ससुरालीतिरै । बहिनीहरु आ–आफ्नै घर गृहस्थी सम्हाल्न व्यस्त थिए ।

बुवा थिए साथमा ।

एकाबिहानै खाना खाएर साथी कहाँ जान्छु भन्दै बुवा हिँड्नुभयो । दुई दिनसम्म वास्तै भएन । उतै बस्नुभयो भन्ने भयो । तेस्रो दिनसम्म पनि नफर्किएपछि उहाँको साथीकहाँ गएँ । अस्ती फर्किसक्नु भयो भन्ने जवाफ आयो । उनी आत्तिए । खोज्न थाले, गाउँलेको सहयोगमा । अँह भेटिएनन् बुवा ।

त्यही दिन साँझ टिचिङ अस्पतालबाट फोन आयो, त्यहाँ पुगेको रैछ बुवाको शव ।

शव हेर्दाहेर्दै पिताको प्रेम झलझली आँखामा आए ।

सम्हालिन मुश्किल पर्यो उनलाई । बुवाले निकै माया गर्थे । उनका पिता महालेखा परीक्षकको कार्यालयमा सह सचिव थिए । पढाइमा अब्बल । मिहेनती उतिकै ।

जहाँ जाँदा पनि मलाई विनयलाई सँगै लैजान्थे । विनयको संगत पनि ठुलासँगै भयो । जो मान्छेसँग उनका लेभलका साथीहरु बोल्न लालायित हुन्थे, डराउँथे उनीहरु नै विनयका साथीजस्ता थिए । उनको उठबस नै माथिल्लो स्तरको व्यक्तित्वसँग भयो ।

यसैले निम्त्यायो घमण्ड ।

जावलाखेल मामाघर बसेर ६ कक्षासम्म सातदोबाटो स्थित अरनिको बोर्डिङ स्कुल पढेका विनयलाई बुवाले एक्कासी बोलाएर गाउँकै स्कुल भर्ना गरिदिए । कारण थियो बुवाका विद्यार्थी एसएलसीमा फेल हुनु ।

महेन्द्र शान्ति विद्यालयमा उनको बुवाले विद्यार्थीको व्यस्ततालाई बुझेर बिहान र बेलुकी गरी दुई सिफ्ट सञ्चालन गर्ने योजना बनाए । प्रधानाध्यापक पनि उनै । लगतै ८, ९ र १० को बिहानी कक्षा सुरु भयो । विद्यार्थी बढे तर रिजल्ट शून्य । एक दुई जना पास भए एसएलसीमा, त्यो पनि थर्ड डिभिजन बल्लतल्ल ।

त्यसपछि गाउँलेको व्यंग्य मिश्रित प्रश्न तेर्सियो, खोइ फस्र्ट, सेकेन्ड डिभिजन ? अरुले सुनाउथे पनि होलान्, आफ्नो छोरो बोर्डिङ हाल्यो भनेर । उनले सोचे, अब मेरो छोरोले फ्रस्ट डिभिजन ल्याउँछ ।

विनय, तँ ८ कक्षामा पढ्न सक्छस् ? सक्दिन होला…

यी किताबहरु हेर् त…

बोर्डिङ पढेका उनलाई इङ्गलिस नआउने कुरै भएन । किताब सरसर्ती पल्टाए । कस्तो इज्जी ! सक्छु भने । ६ कक्षाका उनी ८ मा जम्प गरे ।

१ वर्षपछि एसएलसी सुरु भयो । परीक्षा दिनुअघि भन्दा पनि दिएपछि डर हुन्थ्यो उनलाई । भोलिको परीक्षाको त चिन्तै नहुने । बुवाले हरेक परीक्षाको बेलुकी एक एक प्रश्नको उत्तर सोध्थे । त्यसैले पनि उनी परीक्षा सकेर ती प्रश्नका उत्तर घोक्थे । उनका बुवा एक एक नम्बर काउन्ट गर्थे ।

एसएलसी सकिनेबित्तिकै सबैलाई छोरोले फ्रस्ट डिभिजन ल्याउँछ भन्दै हिँड्न थाले श्याम अर्थात विनयका पिता । छोरोप्रति विश्वास थियो उनलाई । विनयले पनि फ्रस्ट डिभिजन ल्याए । खुशी छायाे परिवारमा ।

कलेज पढ्ने बेला अलिकति कुरा मिलेन बाउ–छोराको । विनयको इच्छा इन्जिनियरिङमा थियो । बुवा भने छोरोले कमर्स पढोस् भन्ने चाहन्थे ।

पुल्चोक इन्जिनियरिङ कलेजमा उनले फस्र्ट लिस्टमा नाम समेत निकालिसकेका थिए । भागेर वीरगञ्ज समेत पुगे । तर बुवाको चाहनाको अगाडी उनको केही चलेन । नेपाल कमर्स क्याम्पसबाट बीकम गरे । रेडियोमा कार्यक्रम पनि चलाए । अहिले पनि चलाउँछन्, चेतनामुलक ।

त्यो समयमा ममीलाई बुवाले दिएको एउटा जवाफ याद छ उनलाई । बुवासँग पढेका, बढेका, काम गरेकाले अकुत सम्पति कमाइसकेका थिए । उनकी आमाले बुवासामु गुनासो पोखिन्– ‘तपाई भन्दा कम पढेकाले यो जोडे, त्यो जोडे’ भनेर ।

बुवाको जवाफ थियो– ‘तीनीहरु गाडीबाट ओर्लिएर घरसम्म पुग्दा शिर निहुराउँदै हिँड्छन् । म छाती फर्काएर हिँड्न सक्छु । किनकी मैँले घुस खाएको छैन । अकुत सम्पत्ति कमाएको छैन’, विनय सम्झन्छन् ।

####                                                    ####                                               ####

बुवाको मृत्युले फेरि एक पटक विनय र कमलालाई एक बनायो । मिलेर काजक्रिया गरे । विनयसँगै बर्खी बसिन् कमला । जुठो बारिन् ससुराको ।

६ महिनापछि छोरी लिएर फेरि माइती गइन् कमला ।

खै ! कसको आँखा लाग्यो…

झन् एक्लो भए विनय । दया र घृणाको पात्र बने । समाजले धिक्कार्यो । बाँच्ने मनै मर्यो !

हाउबुजी बनाइदिए, छोरीको सामु । डरको हाउबुजी । उनलाई आमाले देखाइन् हाउबुजीको डर, उनले सानी बहिनीलाई देखाए । पछि श्रीमतीले विनयलाई नै हाउबुजी बनाइदिइन् । अनि छोरी डराइन्, आफ्नै बुवासँग । छोरीले बाउ भन्न छोडिन् ।

एकपटक पनि सोचिनन् म विना विनय कसरी रहला ?

फेरि बेवारिसे भए विनय । आफन्त, इष्टमित्र, परिवार, साथीभाई सबैबाट पर थियो उनको जीवन । उनका भाइले समेत चिन्दिन भन्थे ।

मान, इज्जत, प्रतिष्ठा…सबै गुमे । उनलाई जीवन, जीवन जस्तो लाग्नै छोड्यो । हरेक दिन मनमा उही भावना आउँथ्यो–

‘म बाँच्दिन, मर्छु !’

कमला हुँदा भरिभराउ हुने घर चाडवाडमा शून्य भए ।

त्यो एक दिन,

दशैं थियो । सबैतिर हर्ष, उमंग, उल्लास । सधैँ झ्याप हुने विनय बिहानै उठे । नुहाइ धुवाइ गरे । रक्सी खाएर बचेकुचेका पैसाले जमरा किनेर ल्याए । रातो अबिरमा अक्षेता मुछेर सुकिलो, चिटिक्क परेर बसे ।

साँझसम्म कुरे । न भाइ आयो, आशिर्वाद थाप्न । न बहिनी आइन् । न भान्जा भान्जी । अँह कोही आएनन् ।

घर घर जस्तो रहेन । काकाले बत्तीको लाइन पनि काटिदिए । झन् अन्धकार । ३ वर्ष त विना बत्ती अन्धकारमा बसे । कहिलेकाहीँ साथीभाइले बोलाउँथे ।

उनलाई उज्यालोको रहर थियो ।

मैन बत्तीका फोलेका टुक्रा बटुलेर ल्याउँथेँ ।

ती मैनबत्ती घरमा बाल्न पाउँदा स्वर्ग पुगेजस्तो लाग्थ्यो उनलाई ।  कति रात भोकै सुते ।

खै, कहिले निको होला त्यो घाउ !

####                                                      ####                                               ####

पिउन्जेल वितण्डा, छोडेपछि छ्याङ्ग । छटपटी हुन्थ्यो । जीवन नै सकिए जस्तो । न अगाडी जाने बाटो छ । न पछाडी फर्कने समय छ ।

सुध्रिन चाहन्थे । तर पैसा थिएन ।

मामाको छोराले यतिबेला गुन लायो ।

अमेरिकाबाट आएर उनलाई ‘रिहाब’ (सुधार केन्द्र) मा भर्ना गरिदिए ।

‘अरुका आफन्त भेट्न आउँथे । म गेटमा कुरेरै बसेको हुन्थेँ, कमला आउँछिन् कि भन्दै । उनी एक पटक भेट्न आइनन् । रुन्थेँ भित्रभित्रै । न आफन्त मुख देखाउन आए । म नितान्त एक्लो थिएँ’, उनका आँखा रसाए ।

कति दिन बिते, कति रात । एकदिन छोरी भेट्न आइन्, खुब रोए । सुध्रिने बाचासहित विनयले त्यहाँबाट छोरीलाई बिदा गरे ।

छोरीको नाममा उनले ट्याटु समेत खोपेका छन्– ‘बी अ गुड फादर, लाइफ इज ब्यूटिफुल’ ।

असल पीता भइयो भने जिन्दगी त्यसै रमाइलो हुन्छ रे !

अहिले सबैसँग राम्रो सम्बन्ध छ । ७ वर्ष भयो, रक्सी छोडेको । २ वर्ष रिहाबमै आवद्ध भएर काम गरे । ‘त्यहीँ बुझेँ जिन्दगी !’

####                                                      ####                                               ####

उबेला बेवारिसे बनेका विनय अहिले बेवारिसेका साथी बनेका छन् । बेवारिसे शव सद्गत गरिदिन्छन् ।

उनले बुवाको बेवारिसे मृत्यु सम्झेर यो कामको सुरुवात गरेका हुन् ।

कति यही कुलतमा फसेर बेवारिसे भएका हुन्छन् भने कतिका परिवारले अस्पतालमा उपचार गराउन नसकेर बेवारिसे बनाइदिएका हुन्छन् । उनी सके जिवितै उद्धार गर्छन्, नसके दागवती दिन्छन् ।

‘अस्पतालमा उपचार गर्न ल्याउँछन् । कतिका मान्छे हुन्छन् । उपचार गर्दागर्दा भएको पैसा सकिन्छ । अस्पतालले पैसा नलिइ शव दिँदैन । पैसा हुँदैन, बेपत्ता हुन्छन्’, विनय आफ्नो पुनर्जन्मको कर्म अनुभव सुनाउँछन् ।

शव खोजी पनि गर्छन्, कति उनैको सम्पर्कमा आउँछन्, अरु मार्फत् । अहिलेसम्म २ सय २० वटा शवलाई दागवती दिइसके विनयले । एकैपटक २२ वटा सम्म बेवारिसे शवको सदगद गरेका छन् उनले ।

‘बुवाको पनि बेवारिसे मृत्यु भएका कारण यो कामतिर लागेको हुँ । बेवारिसे आत्माको पनि शान्तिको कामना गर्दै हरेक वर्ष श्राद्ध गर्छु, बत्ति बाल्छु पशुपतिमा । यो वर्ष पनि बालेँ’, उनले सुनाए ।

लाश जलाउन १२ हजार सम्म लाग्छ । फेसबुकबाट सहयोग गर्न चाहन्छु भन्नेहरु पनि छन् । उनीहरुलाई पशुपतिमै बोलाउँछन् र शव सदगदमा आवश्यक सामग्री सहयोग गर्न भन्छन् उनी ।

सुरुसुरुमा त लास पोलेको भन्दै सबैले अछुतको व्यवहार गरे ।

उनलाई छुन समेत घिन मान्थे । अहिले सबैले कदर गर्छन् ।

‘यही हो मेरो जीवनको सबैभन्दा ठुलो उपलब्धि’, खुशी सुनिन्छन् उनी ।

पछिल्लो समय भने उनले प्रहरीहरुको पनि साथ पाएका छन् ।

दुव्र्यसनीमा परेकाहरु अझै पनि धेरै छन् हाम्रो समाजमा । उनीहरु केही चाहँदैनन्, मात्र थोरै विश्वास, थोरै माया, थोरै भर भए पुग्छ भन्छन् विनय ।

उनले अहिले २ वटा सुधार केन्द्र खोलेका छन् । एउटामा १८ र अर्कोमा २८ जना छन् । उनी निःशुल्क उपचार दिन्छन् ।

पैतृक सम्पत्ति, जग्गा बन्धकी राखेर उनी निश्वार्थ रुपमा समाज सेवामा छन् । डकुमेन्ट्री बन्दै छ उनको । अरुलाई सुधार्नका लागि उनी आफैँले बनाउन लागेका हुन् ।

घरछेउको आफ्नो १ करोड ५० लाख पर्ने ७ आना जग्गामा उनले आश्रम बनाइरहेका छन् । दुई वर्षअघि मन्त्रीले शिलान्यास गरेका थिए, ‘बा–आमा घर’ । निर्माण पुरा हुन सकेको छैन अहिलेसम्म । राज्यस्तरबाट कुनै सहयोग आएको छैन । न त स्याबास नै छ ।

तर पनि उनले हिम्मत हारेका छैनन् ।

प्रत्येक जिल्लामा कुलतमा फसेकाहरुका लागि एउटा ‘सुधार केन्द्र’ र बेवारिसे जीवन बाँचिरहेका हरुका लागि ‘बा–आमा घर’ बनाउने योजना छ उनको ।

यही हो उनको अबको सपना । बेवारिसे हुने या नहुने त्यो मान्छेको कर्ममा भर पर्ने बताउँछन् उनी ।

ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर ७ चाँगाथलीमा जन्मिएका विनयजंग बस्नेत अहिले पनि त्यहीँ बस्छन् । बाउले छोडेर गएको पुख्र्यौली घर । उनलाई निकै प्यारो छ । माया लाग्छ ।

त्यही घरको कौशीमा बसेर उनी आमा बुवा सम्झन्छन् ।

मनमनै सोच्छन्– ‘आमा बुवा हुनुभएको भए कति माया दिन्थेँ । कति इज्जत दिन्थेँ !’

हर चीजको गुमेपछि महत्व हुन्छ भन्ने उनले बुझिसके । अब उनलाई केही गुमाउनु छैन ।

अहिले ४० वर्ष भए विनय । एक्लै नै छन् । विवाह गरेका छैनन् ।

‘याद त आउँछ तर मलाई फेरि त्यो जीवनमा फर्कनु नै छैन । मेरो यो नयाँ जीवन हो । मेरा अगाडी बढ्नुपर्ने बाटाहरु छेकिन्छन् । मलाई जित्नु छ जीवन ।’

उपचारमा गएर जीवन बुझेपछि विनयलाई सुन्ने, उनको मनका भावना, पीडा, सुझावहरु राख्ने माध्यम फेसबुक बनेको छ ।

फेसबुकमा उनी दिनमा एउटा–दुईटा पोष्ट गरिरहेका हुन्छन् । साथीहरु भन्छन्– फेसबुक क्रेजी भइस् ।

उनी सधैँ एउटै जवाफ दिन्छन् साथीहरुलाई– ‘हिजोका दिनमा मलाई मर्यो भन्ने इष्टमित्र नातागोता, साथीभाई, समाजलाई म जिवित छु भनेर देखाएको हुँ । हिजो बिग्रियो भनेको मान्छे आज कहीँ न कहीँ बसेर समाजका लागि केही गरिरहेको छ भनेर देखाएको हुँ ।’

####                                                      ####                                               ####

उनलाई सानीआमासँग एउटै गुनासो छ– भाइको विवाहमा बोलाइनन् ।

जबकी त्यो विवाहमा केटी पक्ष राजी हुनुको कारण विनय थिए । उनैले सम्भव गराइदिएका थिए उनीहरुको विवाह । चित्त यसैमा दुखेको छ विनयको ।

अर्को चित्त प्रेममा दुखेको छ ।

१३ वर्ष भयो, फर्केर आइनन् उनकी प्यारी कमला । आवाज समेत सुनेका छैनन् उनले ।  अहिले पनि उनका लागि घरका झ्याल ढोका खुल्ला छन् भन्छन् विनय ।

‘हुन त उनी आफैँले मेटेर गएकी छिन्, फर्किने बाटो । आउँछिन् भने पनि बाटो खुल्ला छ । तर अब म श्रीमतीको रुपमा उनलाई स्वीकार्न सक्दिन । मलाई जुन समयमा सहारा चाहिएको थियो, त्यहीबेला लत्याएकी थिइन् उनले । मन फर्किँदैन अब मेरो ।’

तैपनि प्रेम न हो । अमर हुन्छ ।

विनय उनैका लागि घरका ढोका खुल्ला राखेर सुत्छन् । आइहाल्छिन् कि जस्तो लाग्छ रे ।

महिनावारीको ४ दिन कमला सधै माइत बस्थिन् । ५ औं दिन घर फर्किन्थिन् ।

१३ वर्ष भयो छुटेको, यी ४ दिन जस्तै लाग्छ विनयलाई । पाचौँ दिन त्यसैगरी आउँछिन् जस्तो लाग्छ रे !

पछिल्लो समय सबैले निकै माया गर्छन् । कामको कदर गर्छन् ।

हिजो गुमेका सबथोक विनयले पाएका छन् । विश्वासै गर्न नसक्नेहरु नजिक भएका छन् ।

छोरी अष्ट्रेलियामा छिन् । उनीसँग कुरा हुन्छ । अहिले निकै प्रेम छ बाबु–छोरीमा ।

दाजुभाईको मिल्ती बढेको छ । चाडपर्वमा विनयको घर भरिन्छ ।

एकजना सरले भनेका थिए रे,

‘कुलतलाई तिमी पर हटाऊ, तिम्रो जीवनमा खुशी भन्ने चिज लडी लडी आउँछ ।’

अहिले त्यस्तै भएको छ विनयको जीवनमा !

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 20 =