यी हुन् कोरोना संक्रमणका दीर्घकालीन असर

काठमाडौं ।

फोक्सोमा असर
भाइरल संक्रमणले सामान्य खोकीदेखि दमसम्मका समस्या निम्त्याउँछ । संक्रमणका लक्षण बिस्तारै कम हुँदै गए पनि श्वासप्रश्वासमा लामो समय समस्या रहन सक्छ । कोभिड–१९ ले व्यक्तिको फोक्सोमा समस्या ल्याउँछ । फोक्सोमा जटिल समस्या भएका व्यक्तिलाई आइसियूमै राखेर उपचार गर्नुपर्छ ।

तर, कोरोना भाइरसको संक्रमण भएका सबै व्यक्तिमा फोक्सोमा दीर्घकालीन असर देखिँदैन । खासगरी, ६५ वर्षभन्दा माथिको उमेरसमूह, लामो समय नर्सिङ केयरमा बसेका व्यक्ति तथा फोक्सो, मुटु, मिर्गौला र कलेजोका दीर्घरोगीमा कोरोनाको असर लामो समय रहने हालसम्मका अध्ययनको निष्कर्ष छ । ती अध्ययनअनुसार रोगप्रतिरोधी क्षमता कम भएका, मोटोपना र मधुमेहका बिरामी तत्काल संक्रमणमुक्त भए पनि पछिसम्म स्वास्थ्यमा कुनै न कुनै असर देखिन्छ ।

पोस्ट इन्टेन्सिभ केयर सिन्ड्रोम
संक्रमणको गम्भीर अवस्थामा पुगेका व्यक्तिमा समयक्रममा मानसिक समस्या देखिन सक्छ । पोस्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर र डिप्रेसनजस्ता समस्या देखिन्छन् । लामो समय आइसियूमा रहेर उपचार गरेका व्यक्तिमा शारीरिक कमजोरी हुने सम्भावना रहन्छ । पोस्ट इन्टेन्सिभ केयर सिन्ड्रोम लामो समयको गम्भीर उपचारपछि देखिने गर्छ । सोच्ने र ध्यान केन्द्रित गर्ने क्षमतामा कमी यसका मनोवैज्ञानिक असर हुन् ।

मस्तिष्कमा असर
अमेरिकी मेडिकल जर्नल (जामा)मा प्रकाशित चीनमा गरिएको अध्ययनअनुसार लामो समय कोभिड–१९ को उपचार गराएका करिब ३६ दशमलव ४ प्रतिशत बिरामीमा नसासम्बन्धी समस्या देखिएको छ । कोभिड–१९ ले मस्तिष्कको ‘मेडुला ओब्लांगाटा’ नामक भागमा असर पुर्‍याउँछ । कोभिड–१९ ले फोक्सो मात्र नभई श्वासप्रश्वास नियन्त्रण गर्ने न्युरोन्सलाई समेत असर गर्छ । कोरोना भाइरसले निम्त्याउने दीर्घकालीन असरबारे थप अनुसन्धान आवश्यक रहेको जामाले बताएको छ ।

६० वर्षमाथिको उमेरसमूहमा मधुमेह र कार्डियोभास्कुलरजस्ता दीर्घकालीन समस्या निम्त्याउन कोभिड–१९ सहयोगी बन्ने जोखिम रहेको विज्ञहरूको भनाइ छ । भाइरसले फोक्सोमा पुर्‍याउने क्षतिले बिस्तारै अन्य अंगमा पनि असर पार्ने उनीहरूको अनुमान छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *