बिवाहको तयारीमा थिए सुशान्तसिंहः उनको जीवनको त्यो अन्तिम घण्टा…

काठमाडौं । बलिउड अभिनेता सुशान्तसिंह राजपूत अब संसारमा छैनन् । टिभी सिरियलमा आफ्नो अभिनयको जादु देखाएपश्चात फिल्ममार्फत् मानिसको दिलमा आफ्नो स्थान बनाउने अभिनेता सुशासन्तको मृत शरीर आइतबार उनको घरमा मिल्यो ।
मुम्बईको बान्द्रा इलाका जहाँ उनी भाडाको फ्लाटमा बस्ने गर्थे, सोही फ्लाटबाट उनको मृत शरीर बाहिर निकालियो । प्रहरी भन्छन् कि सुशान्तले आत्महत्या गरेका हुन् । तर आत्महत्याको कारण अझै पत्ता लागिसकेको छैन । यद्यपी उनी ६ महिनादेखि डिप्रेशनसँग लड्दै गरेको कुरा बाहिर आएको छ ।
सुशान्तको मुम्बईमा आफ्नै पनि फ्लाट थियो तर उनी ठुलो घरमा बस्न चाहन्थे । त्यसैले ८ महिना पहिलेदेखि उनी सो फ्लाटमा बस्न आएका थिए । उनी त्यो फ्लाटमा एक्लै थिएनन्, उनको म्यानेजर, एक साथी र एक घरेलु कामदार जो उनको लागि खाना बनाउने गर्थे उनीहरु पनि उनीसँगै रहन्थे । उक्त घरमा रहने कुनै पनि सदस्यले यो सोचेका थिएनन् कि आइतबारको बिहान सुशान्तको अन्तिम बिहान हुनेछ ।
सुशान्तको घरेलु सहयोगीले प्रहरीलाई भने, ‘बिहानसम्म सबै ठिक थियो । बिहान ६ः३० मा सुशान्त उठेका थिए । घरका नोकरले उनलाई बिहान ९ बजे अनारको जुस दिए र उनले पिएका पनि थिए । त्यसपछि सुशान्तले ९ बजे नै आफ्नी बहिनीसँग पनि कुराकानी गरे । बहिनीसँग कुरकानीपछि आफ्नो साथी महेश शेट्टीसँग पनि कुरा गरे ।’
महेश एक अभिनेता हुन् । उनैसँग सुशान्तले आफ्नो अभिनय करिअर सुरु गरेका थिए । यी दुवै एक साथ देखिएका थिए एकता कपूरको शो ‘किश देशमा होगा मेरा दिल’ मा । उनीहरु निकै राम्रा साथी थिए र सुशान्तले अन्तिम कल पनि उनैलाई गरेका थिए । त्यसपछि उनी आफ्नो कोठामा गए र भित्रबाट लक गरे । जब १० बजे खानाबारे सोध्नका लागि नोकर गए तब सुशान्तले ढोका खोलेनन् ।
फेरि दुई–तीन घण्टापछि म्यानेजरले सुशान्तकी बहिनीलाई फोन गरे । बहिनी आईन र तालाचाबी बनाउनेलाई बोलाएर ढोका खोल्न लगाइन् । जब ढोका खुल्यो र अगाडीको दृश्य देखेर सबै स्तब्ध भए ।
प्रहरीका अनुसार सुशान्तको मृत्यु १० बजेदेखि १ बजेको बीचमा भएको बताइएको छ । बहिनी र त्यहाँ रहेका मानिसहरुले सुशान्तको शव झुण्डिएको देखेका थिए । त्यसपछि घरेलु सहयोगीले प्रहरीलाई फोन गरेका थिए ।
सुशान्तको पोस्टमार्टम रिपोर्ट पनि आइसकेको छ । रिपोर्टका अनुसार फाँसीमा झुण्डिँदा घाटी च्यापिएर श्वास रोकिइ मृत्यु भएको हो । उनको आजै अन्त्येष्टि हुँदैछ।
त्यस्तै ३४ वर्षीय सुशान्त बिवाहको तयारीमा रहेको खबर पनि आएको छ । उनको निधनसँगै निजी जीवनका घटनाहरु पनि सार्वजनिक भइरहेको अवस्थामा बिवाहको कुरा पनि बाहिरिएको हो । नोभेम्वरमा बिवाह गर्नेगरी उनको परिवारले तयारी गरिरहेको थियो। तर, उनले ५ महिना अघि नै संसार त्यागे । सुशान्तका भाई पन्ना सिंहका अनुसार पटनास्थित घरमा बिहेको तयारी भइरहेको थियो । यद्यपी उनी कोसँग बिवाह गर्दै थिए भन्ने खुलेको छैन।
सुशान्त यसअघि कलाकार अंकिता लोखंडेसँग लामो समयदेखि प्रेम सम्बन्धमा थिए । ६ वर्षसम्म दुबैबीच सम्बन्ध राम्रै चल्यो। उनीहरुको प्रेम टेलिश्रृखंला ‘पवित्र रिश्ता’ बाट सुरु भएको थियो । पछि ब्रेकअप भयो । दुबैले ब्रेकअपको कारण भने खुलाएनन्।








