प्रधानमन्त्रीज्यू, युवा विराेधलाई कमजोर नआँक्नुस् !

काठमाडौं । प्रधानमन्त्रीज्यू, ऐतिहासिक क्षण महशुष गर्ने अवसर दिलाउनु भएकोमा तपाईंलाई हृदयदेखि धन्यवाद ! राजनीतिक इतिहासमा तपाईंको यो ऐतिहासिक कदमप्रति उच्च सम्मान छ मेरो । गर्व लागेको छ !

अघिपछिका इतिहासबारे पढेर जानियो । कति इतिहास बाल्यकालका पनि छन्, यसरी महशुष गर्न भने पाइएन । थाहा पाउने कुरा पनि भएन । तर यो यस्तो इतिहास हो, जुन रचिँदा म पनि साक्षी हुन पाएकी छु । अब आउने पुस्तालाई यो इतिहास सुनाउँदा ‘त्यो समय यस्तो थियो’ भने मात्रै पुग्ने भयो, ‘रे’ थपिरहनु परेन ।

नेपालको संविधान (दोस्रो संशोधन) विधेयक प्रतिनिधि सभाबाट दफादार छलफलपछि सर्वसम्मत पारित भएको हिजो (२०७७–०२–३१ शनिबार) को दिन साँच्चै ऐतिहासिक रह्यो । कानुन न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेको प्रस्तावमा विधयेक निर्णयार्थ पेस भएको विधेयकको पक्षमा २५८ मत पर्यो, विपक्षमा शून्य ! त्यो शून्यमा राष्ट्रिय एकता र राष्ट्रप्रेम छल्किएको छ ।

नेपालका अतिक्रमित भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्सा जारी गरी संविधानमा रहेको निसाना छापमा पनि नयाँ नक्सा जारी गर्नको लागि पेस भएको संविधान संशोधनको विधेयक सर्वसम्मतले पारित भएसँगै राष्ट्रको गौरव बढेको छ । हरेक नेपालीका घरमा उत्सव छाएको छ । दिपावली समेत मनाए ।

अब यो विधेयक राष्ट्रिय सभामा पेस हुनेछ । त्यो दिन पनि ऐतिहासिक नै रहनेछ । किनकी राष्ट्रियताका सवालमा विजय हासिल भएका हरेक दिन, हरेक क्षण, हरेक कदम नेपालीका लागि ऐतिहासिक छन् र बन्नेछन् पनि ।

कागजमा त नक्सा कोर्यौं अब मागेर होस् या खोसेर, आफ्नो जमिन फिर्ता ल्याउन पहल गर्नुपर्छ । भूमिमाथिको स्वामित्व लिनुपर्छ र त्यहाँबाट विदेशी सेनालाई फिर्ता पठाएर नेपाली झण्डा फहराउनु पर्छ । हामी नेपाली एकजुट भएर भारतसँग तत्काल कुटनीतिक र राजनीतिक तवरमा वार्ता गरी समस्या समाधानतर्फ लाग्नुपर्छ । सबै राजनीतिक दलहरु पनि यसमा एकजुट हुनुपर्छ,  हिजाे जस्तैगरी । राष्ट्रिय एकता नै शक्ति हो ।

यो इतिहास कोर्ने मुख्य पात्र तपाईं हुनुहुन्छ प्रधानमन्त्रीज्यू, अन्य सबै सहायक हुन् । तपाईंले उठाउनु भएका कदम साहसिक छन्, सिमा र २०७२ को भूकम्पका समय भारतले गरेको नाकाबन्दीमा । छिमेकीमाथि अत्याचार गर्न खोज्ने भारतको हरेक गतिविधिका विरुद्ध तपाईं सगरमाथा जस्तै अडिग रहनुभयो ।

तपाईं नै एक त्यस्तो प्रधानमन्त्री हुनुहुन्छ जसले मिचाहा र हेपाह छिमेकीलाई गतिलो पाठ सिकाउन सक्नुभएको छ र सक्नुहुनेछ । अझ सिमाको विषयमा तपाईं जतिको मजबुत कोही पनि छैनन् । नेपालको भूमि फिर्ता पनि तपाईंकै नेतृत्वमा मात्रै हुनसक्छ, यो विषयमा तपाईंको विकल्प खोज्न वा अर्को व्यक्तिलाई विस्वास गर्ने आधार देखिँदैन ।

देश र जनताप्रति तपाईंको गाम्भीर्यता कतिको गहिरो छ भन्ने प्रष्ट भयो तर बोलीमा भने पटक्कै देखिँदैन । त्यसलाई पनि सुधार्नु भयो भने तपाई सर्वकालिन महान राजनेता बन्नुहुनेछ । तपाईं ठट्टा गर्न रुचाउनुहुन्छ, उखान टुक्का भन्नुहुन्छ । ठिक छ, मनोरञ्जन लिनुपर्छ–दिनुपर्छ । तर कस्तो ठाउँमा कस्तो प्रकारको ठट्यौली गर्ने त्यो ख्याल गर्नुपर्छ । गम्भीर खालका प्रश्नमा उखान टुक्का घुसाउँदै उट्पट्याङ जवाफ दिने बानी सुधार्नुपर्ने देखिन्छ । हुन त मैले तपाईंलाई दिएको सल्लाह सुझाब निम्छरो होला, तर हाम्रा पितापुर्खाले ‘अर्ती भनेको…. पनि लिनुपर्छ’ भन्थे त्यहि भएर लेख्न मन लागेको हो ।

झन् यो कोरोनाको महामारीमा त अझ संवेदनशील भएर बोल्नुपर्छ, जिम्मेवार भएर संसदमा सांसद र जनताका प्रश्नको जवाफ दिनुपर्छ । किनकी जनता डर र त्रासमा छन् । चिन्तामा छन् । यस्तो समय ठट्टा गर्नु भनेको जनभावनामा ठेस पुर्याउनु हो । यो ढाडस् दिने समय हो, व्यंग्य होइन । प्रधानमन्त्रीको अभिव्यक्ति बच्चाको जस्तो हुनु भएन ! शोभा दिँदैन ।

अनि प्रधानमन्त्रीज्यूको अर्को एउटा बानी पनि खराब लाग्छ– विवादित ठुलाठुला इस्युहरु थाहा छैन, थाहा पाइनँ भन्दै पन्छिन खोज्ने । प्रधानमन्त्री भएपछि हरेक कुरा थाहा हुनैपर्छ, थाहा छैन भनेर पार पाइँदैन प्रधानमन्त्रीज्यू । तपाईंले हरेक मन्त्रीको कामकारवाहीको हिसाबकिताब राख्नैपर्छ । तपाईंलाई सबै जानकार नहोला तर, तपाईंका अघिपछि बसेर विषयगत सल्लाहकार भई टोपलेकाहरूकाे काम चाहीँ के त ?

संसदमा कार्पेट बिछ्याउने खबरबारे उठेका विरोधमा राष्ट्रपतिको संरक्षण गर्दै ‘कार्पेट फेर्ने कुरा राष्ट्रपतिलाई थाहा हुन्छ ? प्रधानमन्त्रीलाई थाहा हुन्छ ?’ भन्ने खालका प्रश्न गरेर धर पाइँदैन ! तपाईं जनतालाई प्रश्न गर्ने भन्दा पनि उत्तर दिने स्थानमा हुनुहुन्छ । प्रश्न त तीनीहरुलाई गर्ने हो जो महामारीका समयमा पनि भ्रष्टचारको धाउन्नमा छन्, जो नेपाली जनताको स्वास्थ्य रक्षाका लागि छुट्याइएका बजेटमा र्याल काढिरहेका छन् !

तपाईंले सांसद गगन थापालाई दिनुभएको उत्तर पनि चित्तबुझ्दो देखिएन । यस्तो समय विना अध्ययन हल्लाका पछाडि लागेर आफैँ कोभिडबारे पुष्टि भए–नभएका टिप्स दिने, नेपालीहरुको रोग प्रतिरोधात्मक क्षमता बढी छ भन्दै फुर्काउने कुरा गरेर हुँदैन ! यो त सरासर कोरोनासँग सिँगौरी खेल्न उक्साए जस्तो भएन र ? अत्याउनु पनि भएन, उक्साउनु पनि भएन यो समय !

महामारीका समय हरेक कुरा तथ्यमा आधारित भएर बोल्नुपर्छ । कति नागरिकहरु तपाईंको बोलीलाई विश्वास गरिरहेका हुन्छन्, उनीहरुलाई अन्धविश्वासमा राख्न हुँदैन । हरेक प्रश्नको उत्तर टुक्काबाट प्राप्त हुँदैन नि प्रधानमन्त्रीज्यू, जनता सोझा छन् । सिधा र प्रष्ट कुरा मात्रै बुझ्छन् !

अनि साँच्चै आँगन छेउका प्रदर्शनका बारेमा त थाहा पाउनु भएको होला नि प्रधानमन्त्रीज्यू, कि छैन ? त्यहाँ दिनहुँजसो प्रदर्शन भइरहेका छन्, सुनाएका छन् कि छैनन् कसैले यी खबर ? कि तपाईंका सल्लाहकारका इन्द्रीयहरुले काम गर्न छाडे ?

जनस्तरबाट विरोधमा उठेका युवा झुण्डलाई सामान्य नसम्झनुहोस् प्रधानमन्त्रीज्यू । कमजोर नआँक्नुस् । आगाको झिल्को राँको बन्न धेरै समय लाग्दैन ! तपाईंको आँगन छेउबाट सुरु भएको आन्दोलन अहिले देशभर फैलिइसकेको छ । ७७ जिल्लामा नपुग्दै रोकिहाल्नुस् ! युवाहरुको जोश र जाँगरलाई समृद्ध मुलुक निर्माणमा खर्च गर्ने आधार बनाइदिनुस् । विद्रोह उन्मुख नबनाइदिनुस ।

सरकारी बेथिती, नराम्रा कामकारवाही तथा भ्रष्टाचारको विरोध हुनुपर्छ, तर कोरोना भाइरस (कोभिड १९) संक्रमित संख्या दिनहुँ दिन दुगुणा रात चौगुणा बढिरहेका बेला यति ठूलो समूहमा प्रदर्शन हुनु भनेको मुलुकमा थप भयाभव स्थिति निम्त्याउनु हो । जानीजानी संक्रमण फैलाएर नेपालको गरिब अर्थतन्त्रलाई थप शिथिल बनाउने प्रयत्नमा लाग्नु हो !

यो नसोच्नुस् कि जनताको चाहना प्रधानमन्त्री फेरियोस् भन्ने छ । सत्ता ढाल्नका लागि विरोध गरिएको होइन पटक्कै । उनीहरु केवल सरकार देश र जनताप्रति संवदेनशील भइदेओस्, अनियमितता कम गरोस्, कार्यशैली बदलोस् भन्ने चाहन्छन् । तपाईंको विकल्प कसैले खोजेका छैनन् । यो महामारीमा पनि सरकारले भ्रष्टाचारलाई निरन्तरता दिएका कारण उनीहरु सडकमा उत्रिएका हुन् ।

नआत्तिकन धर्यतापूर्वक जवाफ दिनुभए हुन्छ ! छिट्टै माग सम्बोधन गर्नुपर्यो प्रधानमन्त्रीज्यू, यो प्रदर्शनको समय पटक्कै होइन । यो त कोरोना संक्रमणबाट बच्ने र बचाउने समय हो ।

खासमा यो समयमा प्रदर्शन गर्नु उचित छैन । देशभक्त कहलिएकी मनिषा कोइराला समेत असन्तुष्ट थिइन् हिजोको प्रदर्शनबाट । ट्वीटरमा मनिषाले लेखेकी थिइन्, ‘टाइमिङ निश्चितरुपमा प्रश्न उठाउन योग्य छ । मैले सँधै महसुस गरेकी छु कि सरकार पारदर्शी हुनुपर्छ । तर, यसले अहिले यति ठूलो कदम चाल्न लागिरहेको छ । प्रदर्शनमा किन यसलाई समर्थन थोरै मात्रै मिलिरहेको छ ? आजकै दिन किन उनीहरु सरकारमाथि दवाब दिइरहेका छन्?’

हुन त सामाजिक दुरी कायम गरी शान्तिपूर्ण रुपमा विरोध गरेका थिए युवाहरुले । तर जे–जस्तोसुकै होस्, विरोध भनेको विरोध नै हो ! भद्र होस् या अभद्र !

झन् त्यसमाथि हिजो पनि विरोध भएपछि प्रदर्शनमा सक्रिय रहेको भनिएको ‘कोभिड १९ः इनअफ इज इनअफ’ ग्रुपका केही सदस्यहरु जसले अघिल्ला आन्दोलनमा समर्थन जनाएका थिए, उनीहरु स्वयम् पनि असन्तुष्ट थिए । नेपालको ऐतिहासिक दिनमा प्रदर्शन गरिएको भन्दै सोही ग्रुपका कति सदस्यले त विदेशीको पैसामा विकेर नेपाली युवालाई उचालेको, कुनै पार्टीले सरकारविरुद्ध उक्साएको लगायतका आशंका राखेका थिए ।

ग्रुप एडमिनमाथि नै विदेशीको इशारामा नाचेको र सिधासाधा नेपाली जनतालाई भड्काएको आरोप समेत लागेको थियो । अझ प्रदर्शनका क्रममा केही विदेशी नागरिक पक्राउ परेपछि झनै आशंका बढेको थियो । यद्यपी प्रदर्शनमा उत्रिएका युवा कसरी–को बाट परिचालित भए अथवा स्वतन्त्र रुपमा आफैँ सरकारविरुद्ध आक्रोशित भएर सडकमा निस्किए भन्ने कुरामा सबै अनविज्ञ नै छन् । प्रतिपक्षी दलहरुले आन्दोलनको लिडिङ गरेको स्वीकार नगरेपनि समर्थन भने गरिरहेका छन् ।

अहिलेसम्म स्वतन्त्र युवा समूहको प्रदर्शन भनिएकोमा अब भने यसमा राजनीतिक रंग मिसिन सक्ने संकेत देखिएको छ । कुनै पार्टीले आफ्नो स्वार्थका लागि प्रयोग गर्न सक्ने तथा राजनीतिकरण हुन सक्ने पनि आशंका गरिएको छ । यसलाई रोक्ने भनेकै तपाईंले हो ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले समेत कोरोना संक्रमणविरुद्धको लडाइमा सरकार पूर्ण रुपमा असफल भइसकेको निष्कर्ष निकाल्दै सोमबार सरकाविरुद्ध सडक आन्दोलन गर्ने घोषणा गरेको छ । विवेकशील नेपाली दलका केही नेताहरुले यसअघि नै युवा आन्दोलनको समर्थन गर्दै त्यसमा सहभागिता जनाइसकेका छन् । यसको मतलब सरकारले बेलैमा ती असन्तुष्ट नागरिकको माग सम्बोधन नगरे शान्तिपूर्ण आन्दोलन विस्फोट हुन बेर छैन ।

सरकारी बेथिती, नराम्रा कामकारवाही तथा भ्रष्टाचारको विरोध हुनुपर्छ, तर कोरोना भाइरस (कोभिड १९) संक्रमित संख्या दिनहुँ दिन दुगुणा रात चौगुणा बढिरहेका बेला यति ठूलो समूहमा प्रदर्शन हुनु भनेको मुलुकमा थप भयाभव स्थिति निम्त्याउनु हो । जानीजानी संक्रमण फैलाएर नेपालको गरिब अर्थतन्त्रलाई थप शिथिल बनाउने प्रयत्नमा लाग्नु हो !

अहिले आफू स्वयम् जानीजानी कोरोनाको शिकार हुन गएका सहभागीमध्ये कसैको ज्यान गयो, अथवा कसैमा संक्रमण देखियो भने के यसको जिम्मेवारी विरोध प्रदर्शनमा उक्साउने लिडरले लिने हो ? भन्नुस् त, कसले लिने जिम्मेवारी ? भर्खरै खुकुलो बनाउँदै लगिएको लकडाउन झनै कडा गर्नुपर्ने स्थिति आयो भने के गर्ने ? फेरि विरोध गर्ने ? यो समय भीड जम्मा गर्ने होइन, सुरक्षित रहने हो । प्रदर्शनका अन्य विधि पनि छन् । प्रविधिको प्रयोग गरेर पनि गर्न विरोध गर्न सकिन्छ ।

सोच्नुस् त, प्रदर्शनमा सहभागीमध्ये कोही कसैमा संक्रमण रैछ, तपाईंमा फैलियो र तपाईंमार्फत् तपाईंको परिवार र समुदायमा फैलियो भने के हुन्छ अवस्था ? आर्थिक गतिविधि ठप्प भएका समयमा मुलुकले धान्न सक्छ ? अहिले भीडभाडमा जानु भनेको जानाजान परिवार र समुदायका सदस्यलाई संक्रमण र कालको मुखतर्फ धकेल्नू हो ! उनीहरुलाई रोग र मृत्युसँग जुध्न बाध्य पार्नु हो !

यो समय विरोधलाई प्रतिपक्षीले पनि उक्साउनु उचित हुँदैन र आफूले पनि गर्नु उचित हुँदैन । सिमामा एकजुट भएजस्तै कोरोनाका विषयमा पनि सबै दल एकजुट भएर लाग्नुपर्छ । हातेमालो गर्नुपर्छ ।

प्रधानमन्त्रीज्यू, नागरिकले यो समय रेल, पानीजहाज खोजेका होइनन्, क्वारेन्टाइन व्यवस्थापन गर्न माग गरेका हुन् । पिसिआर परीक्षणको दायरा बढाउन सुझाव दिएका हुन् । विदेशमा रहेका अलपत्र नागरिकको उद्धार गर्न आग्रह गरेका हुन् । नागरिकलाई भोको नराख्न भनेका हुन् । माग सम्बाेधन गरिदिनुस् ।

नागरिकको प्रदर्शन भद्र छ । उनीहरुको भावनामा लाठीचार्ज गर्नु उचित हुँदैन । युवालाई पारदर्शीता र जवादेहितामा विश्वास दिलाउनुपर्छ । सडकमा बढ्दो युवा जमातलाई आज रोकेनौं भने भोलि भयाबह स्थिति आउने निश्चित छ !

अन्त्यमा,

भारतले नेपाली भूमि अतिक्रमण गर्दै लिपुलेकमा आफ्नो सडक विस्तार गरेको खबर थाहा नपाएपनि फिर्ता लिनका लागि पहिलो कदम चाल्नुभयो, यसका लागि पुनः एकपटक धन्यवाद प्रधानमन्त्रीज्यू ! आशा छ, भारतले जति खुट्टा तानेपनि सिमाका विषयमा तपाईं अडिग रहनुहुनेछ र फिर्ताको पहल जारी राख्नुहुनेछ !

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *