‘राष्ट्रघाती महाकाली सन्धी गर्नेलाई टुँडीखेलमा झुण्ड्याइयोस्’ महतो

काठमाडौं । जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले सबै असन्तुष्टिका बाबजुद राष्ट्रियताको सवालमा नेपालको भूमी फिर्ता ल्याउने सवालमा जनता समाजवादी पार्टीले संविधान संसोधन गर्न सहर्ष समर्थन गरेको बताएका छन् ।

संसदमा बोल्दै नेता महतोले अब काजगमा हैन भूमी नै फिर्ता ल्याउने तर्फ सरकारले काम गर्नुपर्ने बताए । ‘अब कागजमा मात्र थपेर हैन, जमिन चाहियो, सरकारले वार्ता गरेर ।’ महतोले नेपाल भारतको सम्बन्ध सिंहदरबार र दिल्लीले नबनाएको उल्लेख गर्दै दुई देशविच कुटनीतिक वार्ताको माध्यमबाट नेपाली भूमी फिर्ता ल्याउनु पर्ने बताए ।

‘नेपाल भारतको सम्बन्ध सिंहदरबार र दिल्लीले बनाएको हैन । मोदी र ओलीले बनाएको हैन । सदियौं देखि चलिआएको सम्बन्ध हो । यसलाई कायम राख्न कुटनीतिक माध्यमबाट जानुपर्छ ।’ उनले भने ।

नेता महतोले आजको दिन संसद र नेपाली जनताका लागि ऐतिहासिक दिन भएको उल्लेख गरे । उनले नेपालले गुमेको नेपाली भूमी फिर्ता ल्याउने सन्दर्भमा ल्याएको संविधान संसोधनको प्रस्ताव सामान्य प्रस्ताव नभएको बताए । ‘यो प्रस्ताब राष्ट्रियता र जनताको भावनासँग जोडिएको सवाल हो । नेपालको नक्सामा कालापानी, लिपुलेक र लिम्पियाधुरा समेट्ने प्रस्तावका लागि बोलाइएको संसद भएकोले विशेष प्रस्ताव हो । हिमाल पहाड तराईका जनता आफ्नो देश र भूमीप्रति समर्पित रहेको आजको संसदले देखाउनु पर्छ ।’ उनले भने ।

साथै महतोले राष्ट्रियताको सवालमा एकलौटी भन्नु हुँदैन भने । राष्ट्रियताको सवालमा मधेशी दल र जनतालाई हेपेर बोल्ने गरीएको बताउँदै महतोले राष्टियता कसैको एकलौटी नभएको जिकिर गरे । ‘राष्ट्रियता कुनै एउटा जाति वर्ग र समुदायको हुँदैन । सम्पूर्ण नेपालीको हो । त्यस्तो राष्ट्रियताले मुलुकलाई बलियो बनाउन सक्दैन । राष्ट्रियताको ठिकसँग परिभाषा गर्नुपर्दछ ।’ उनले भने ।

महतोले महाकाली सन्धी गर्दा नेपालको सिमाना महाकाली नदीको मुहान हो भनेर प्रष्ट नपार्दा समस्या आएको बताए । उनले राष्ट्रघाती महाकाली सन्धी गर्नेहरुको पहिचान गरी उनीहरुलाई टुँडीखेलमा झुण्ड्याउनु पर्ने बताए ।

‘५८ साल पहिले लिम्पयाधुरा, लिपुलेक कालापानी हाम्रै थियो, राष्ट्रघातीलाई टुँडीखेलमा झण्ड्याउनु पर्दैन ? स्वेतपत्र जारी गर्नु पर्दैन ? पार्टी समेत फोडेर महाकाली सन्धी पारित गराईयो ।’ उनले भने । साथै उनले मधेशी जनता जत्तिको राष्ट्रवादी अरु नभएको ठोकूवा गरे । ‘मधेशीलाई विदेशी हो, भारतीय भनेर कुण्ठा बोकेकाहरुले भन्छन् । प्रत्येक मधेशीले सिमामा सेना भएर रक्षा गरेको छ । सरकारले मधेशी जनतालाई अन्याय गरेपनि सिमाको रक्षार्थ मधेशी समुदाय अगाडी छ ।’ उनले भने । राष्ट्रियताका सवालमा मधेशले कतिपटक अग्नि परीक्षा दिनुपर्ने हो भन्दै प्रश्न गरे ।

महतोले संवेदनशील घडीमा हामीले एकता देखाउनु पर्ने बताउँदै नेपाली जनताको प्रतिनिधिमुलक संस्था प्रतिनिधिसभाले एकता देखाउनु पर्ने बताए । ‘संविधानका विषयमा हाम्रा थुप्रै विमतीहरु रहेको भएपनि कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपालको हो भनेर प्रमाणित गर्न संविधान संसोधनको प्रस्ताव आएको हो । यसलाई हामी पूर्ण समर्थन गर्दछौं ।’ महतोले संसदमा भने ।

उनले संविधान संसोधनको सवाल आउँदा आफुहरुलाई असैह्य पिडा हुने बताए । मधेशले उठाएको संविधान संसोधनको विषयमा सरकारले गम्भिरता नदेखाएको उनको भनाई छ । ‘७० वर्षमा ६ वटा संविधान समाप्त भयो, ७ औं संविधान जनताको बलिदान अनुसार ल्याइएको हो । त्यसलाई समाप्त पार्ने काम नगर्नुस । संविधानलाई बाइबल र कुरान नबनाउनुस । हिमाल पहाड तराईको साझा संविधान बनाउनुस ।’ उनले भने ।
महतोले संविधानका विषयमा असन्तुष्टिहरु बाँकी रहेको बताउँदै भने–‘जनताको भावनालाई समेट्नुस । यसरी देश चल्दैन । राष्ट्रियताको सवालमा सम्पूर्ण जनताको एकमत छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *